कर्णालीका गाउँ युवाविहीन

मङ्गलबार, २७ कार्तिक २०७५, ०८ : १३ नागरिक

कर्णाली ब्युरो
सुर्खेत – दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन् । चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका हुन् । यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन्।

कालीकोट शुभकालिका गाउँपालिका–३ गोठीमुलाका २० वर्षीय अक्कल परियार दसंैतिहार मान्न एक महिनाअघि घर आएका थिए । सोमबार उनीसहितको टोली सुर्खेत–नेपालगन्ज हुँदै भारततर्फ लाग्यो । ‘गाउँघरतिर रोजगारी पाइँदैन । किसानी गर्न पर्याप्त जमिन छैन’, १४ वर्षको उमेरदेखि भारत जान थालेका उनले भने, ‘चार–छ महिना काम गरेर फेरि नयाँ वर्षमा फर्किहाल्छौं ।’ यहाँका अधिकांश युवा उत्तराञ्चल, हिमाञ्चललगायतका क्षेत्रमा रोजगारीका लागि जाने गर्छन् । दसैंतिहार मानेर गएका युवा नयाँ वर्षम घर फर्कन्छन्।

जुम्ला सिञ्जाका कर्णबहादुर हमाल कालापहाड यात्राका लागि घर छोड्ने तयारीमा छन् । उनी बर्सेनि उनी कालापहाड जान्छन् । ज्याला मजदरी गर्छन् । कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छन् । तिहार सकाएर कालापहाड जाने गरेका उनी चैतमा धानको बिउ राख्ने समयमा घर फर्किन्छन् । ‘गाउँमा रोजगारीका अवसर छैनन्, घर बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न सकिँदैन’, उनले भने, ‘रहरले होइन, बाध्यताले कालापहाडे हुनुपरेको हो।’

जुम्लाकै तिला गाउँपालिकाका बिर्खबहादुर बुढाले गाउँका अन्य युवासहित तिहारको भोलिपल्टै कालापहाडतर्फ लागे । ‘यहाँ खाली बस्नु भन्दा हिउँदको चार महिना कालापहाडमा काम गर्यो भने नयाँ वर्षमा परिवारका सदस्यको नयाँ लुगा फेर्न पाइन्छ । दुई छाक भए पनि मिठोमसिनो खान पाइन्छ’, उनले भने।

यतिबेला जुम्लाका अधिकांश पुरुष कालापहाडको यात्रामा छन् । कर्णाली राजमार्गमा चल्ने सवारीलाई कालापहाड जाने यात्रु बोक्न ठिक्क छ । गाउँ सुनसान हुँदै गएका छन् । कालापहाड जानु यहाँका स्थानीयको रहर भने होइन । ‘कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ’, जगदीश रोकायले भने, ‘अर्काको ठाउँमा गएर मजदुरी गर्नु कर्णालीवासीका लागि रहर नभएर बाध्यता हो।’

दैलेखको आठबीस नगरपालिका–५ पीपलकोटका बलबहादुर शाही तिहारलगत्तै कामको खोजीमा भारततिर लागे । दसैंतिहार मान्न आएका उनी गहुँ लगाएर भारतको गढवालतर्फ गएका हुन् । पीपलकोट गाउँमा अहिले युवा भेट्न पाइँदैन । ‘गाउँ खाली भइसक्यो’, स्थानीय बलबहादुर शाहीले भने, ‘चाडपर्वमा भरिभराउ हुन्छ, अरू बेला सुनसान ।’ वर्षमा दुई पटक कामका लागि यहाँका अधिकांश युवा कालापहाडतर्फ लाग्छन्।

‘गाउँमा रोजगारीका अवसर छैनन्, घर बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न सकिँदैन’ । रहरले होइन, बाध्यताले कालापहाडे हुनुपरेको हो।’

‘घरखर्च चलाउन नगई हुँदैन’, कालापहाड हिँडेका मोती टमट्टाले भने, ‘पाँच महिना कमाएर नयाँ वर्षमा फर्किहाल्छौं ।’ यी युवा भारतका कुल्लु, मनाली, गढवाललगायतका ठाउँमा सडक, घर तथा होटलमा काम गर्न जान्छन् । दैलेखका अधिकांश घरबाट न्यूनतम एकदेखि पाँच जनासम्म कामका लागि भारत जाने गरेका छन् । रुकुम (पश्चिम) को बाफिकोट गाउँपालिका–६ का रामबहादुर विक दसैंतिहार मनाउन गत असोज २८ गते गाउँ पुगेका थिए । उनीसँगै सोही गाउँका पहलसिंह कुसारी पनि गाउँ आए । दुवै जना एक महिना नबित्दै आइतबार रोजगारीको खोजीमा कालापहाडतर्फ लागे।

गाउँमा रोजगार नभएकाले घरखर्च चलाउन आफूहरू भारतमा कमाउन जान लागेको रामबहादुरले बताए । उनी वर्षमा एकपटक मात्रै घर आउँछन् । ‘दसैंतिहारका लागि मात्र एक महिना घर आउँछु । बाँकी समय भारतमै रोजगारी गर्छुु’, उनले भने, ‘परिवारको छाक टार्नका लागि अर्काको ठाउँमा मजदुरी गर्नुपर्ने बाध्यता छ ।’ रामबहादुर र पहलसिंहजस्तै यहाँका धेरै पुरुषले रोजगारीका लागि गाउँ छोड्न थालेका छन् । गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत र अन्य देशमा गएकाले यहाँ युवा भेट्टाउन मुस्किल हुन थालेको बाफिकोट गाउँपालिकाकी शिक्षक धनकुमारी ओलीले बताइन्।

बाफिकोट गाउँपालिका–७ मग्मा डारुगाउँमा पनि वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । पुरुषहरु अधिकांश गाउँभन्दा बाहिर भएकाले महिलाले नै घरको कामदेखि खेतीपाती र विकास निर्माणका काम गर्नुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी पर्दासमेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने सानीभेरी गाउँपालिका–५ मेलचौरकी मनकला पुनले बताइन् । ‘वृद्धवृद्धा, बालबालिका कोही बिरामी भए महिलाले नै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने गरेका छन्’, उनले भनिन्, ‘आफ्नै ठाउँमा रोजगार नपाउँदा गाउँ रित्तिएका छन्।’

सरकारको अनुभूति भएन
कालीकोटको शुभकालिका गाउँपालिकाका प्रदीप परियार तीनवटै तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न कालापहाडबाट गाउँ फर्के । उम्मेदवारको भाषण सुन्दा उनलाई अब अर्काको देशमा गएर मजदुरी गर्नुपर्ला भन्ने लागेको थिएन । स्थानीय सरकार गठन भएको डेढ वर्ष पुगिसक्यो । गाउँमा रोजगारीको कुनै सम्भावना नदेखेपछि उनी फेरि पनि कालापहाड जान बाध्य भए।

‘गाउँगाउँमा सिंहदरबार आयो, रोजगारी पनि पाइएला भन्ने लागेको थियो’, उनले भने, ‘हामी जस्ताका लागि जुन दरबार आए पनि केही नहुने रहेछ ।’ जुम्ला तिला गाउँपालिकाका बिर्खबहादुर बुढा केही वर्षदेखि ग्रामीण सडक निर्माण कार्यमा संलग्न थिए । सिंहदरबारको अधिकार गाउँमा आएपछि अझ धेरै रोजगारीका अवसर सिर्जना हुने उनको विश्वास थियो । विकासका नाममा गाउँमा डोजरको हालीमुहाली भएपछि बुढाको रोजगारी पनि खोसियो । अब उनी कालापहाड जाने तयारीमा छन् । ‘हाम्रा लागि सिंहदरबारको अधिकार गाउँमा आएको रहेनछ’, उनले भने, àभएको रोजगारी पनि डोजर मालिकले खोस्दा अर्काको देश जानुपर्ने बाध्यता आइलाग्यो।’

कामको खोजीमा भारत जाने युवा स्थानीय सरकारले रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाउँछन् । ‘स्थानीय तहमा आफूले चुनेका प्रतिनिधि आउँदा गाउँमै राजगारीका अवसर सिर्जना होलान् भन्ने सोचेका थियौं’, आठबीस नगरपालिकाका अर्जुन शाहीले भने, ‘स्थानीय सरकार बेरोजगारलाई रोजगारी सिर्जना गर्नभन्दा आफैं कमाउ धन्दामा लागेका छन्।’

रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका–४ का भरत बिष्टले स्थानीय सरकार रोजगारी सिर्जना गर्नभन्दा भौतिक पूर्वाधार निर्माणतर्फ केन्द्रित भएको आरोप लगाए।

रुकुम (पश्चिम) मा कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन् । व्यवस्था परिवर्तन भए पनि आफूहरूको दैनिकी नफेरिएको विष्टको भनाइ छ । यहाँबाट रोजगारीका लागि पुरुषहरु भारतका साथै दक्षिण कोरिया, कतार, दुबई, मलेसियालगायतका ठाउँमा जाने गरेका छन्।

जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) का अनुसार रोजगारीका लागि भारत र तेस्रो मुलुक जाने युवा पनि बढ्दैछन् । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाबाट दुई हजार २२४ जनाले राहदानी बनाएका थिए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसार रेग्मीले चालू आर्थिक वर्षको हालसम्म ६ सय ७१ जनाले राहदानी लिएको जानकारी दिए।

नगेन्द्र उपाध्याय/सुर्खेत, डिबी बुढा/जुम्ला, गोविन्द केसी/दैलेख र लोकेन्द्र खनाल/रुकुम (पश्चिम)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...