१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भरिया बन्न पनि लाइसेन्स

काठमाडौं - सरकारले पर्यटन क्षेत्रमा काम गर्ने सामान्य मजदुर (भरिया)ले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ। ट्रेकिङ क्षेत्रमा काम गर्ने भरियालाई लाइसेन्स अनिवार्य गरेको हो। पर्यटन विभागले लाइसेन्स वितरणको काम थालिसकेको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज १८ गते महिना दिनपछि लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो। सोही अनुसार विभागले कात्तिक १८ बाट तालिम प्राप्त पोर्टर गाइडलाई लाइसेन्स वितरण थालेको विभागका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए।

‘यसअघि पोर्टर गाइडले लाइसेन्स लिनुपर्ने व्यवस्था थिएन,’ उनले भने, ‘पदयात्रा क्षेत्रका मजदुरलाई सक्षम र विश्वसनीय बनाउने उद्देश्यले पोर्टर गाइड लाइसेन्सको व्यवस्था गरेका हौं।’ उनका अनुसार पोर्टर गाइडको लाइसेन्स लिन सामान्य लेखपढ भए पुग्छ। पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज), नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट सात दिने तालिम लिएको हुनुपर्छ। यसरी तालिम लिएर लाइसेन्स प्राप्त पोर्टर गाइडले पदयात्रामा पर्यटकको झोला बोक्नेदेखि गाइड नहुँदा पर्यटकलाई बाटो देखाउनेसम्मको काम गर्न पाउने उनले बताए । ‘कतिपय पदयात्रामा पोर्टर गाइडलाई अनुमति नै दिइँदैन,’ उनले भने, ‘त्यस्तो ठाउँमा पनि पोर्टर गाइडको लाइसेन्स भएपछि पर्यटकको सहयोगी बनेर जान पाउँछन्।’

लाइसेन्स नहुँदा पोर्टर गाइडलाई  विभिन्न ठाउँमा समस्या देखिएपछि पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० संशोधन गर्दै ट्रेकिङ पोर्टर गाइडलाई पनि लाइसेन्स उपलब्ध गराउन थालिएको विभागले जनाएको छ। विभागका अनुसार मजदुरहरुसमेत लाइसेन्स लिएर काम गर्न तयार छन्। दर्जनभन्दा बढी मजदुरले लाइसेन्सको लागि निवेदन दिइसकेका छन्।

लाइसेन्स लिन तालिम लिएको प्रमाणपत्र सहित निवेदन र चार प्रति अटो साइजको फोटो, नेपाली नागरिकता आवश्यक हुने विभागले जनाएको छ। निवेदनको लागि एक सय रुपैयाँ दस्तुर लाग्छ । लाइसेन्स जारी गर्दा विभागले एक हजार रुपैयाँ दस्तुर लिन्छ।

पर्यटकसँग जाने मजदुरलाई लाइसेन्स दिएर जिम्मेवारी बढाएकोमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्वागत गरेको छ। ‘सरकारी लाइसेन्सहोल्डर भरिया भएको खण्डमा कम्पनी र पर्यटक दुवैलाई ढुक्क हुन्छ,’ टानका महासचिव आङपेम्बा शेर्पाले भने, ‘यसले पोर्टरलाई समेत आफू जिम्मवार भएको अनुभूति गराउनेछ।’ उनका अनुसार पर्यटकसँग जाने गाइड र पोर्टर गाइड दुवै अनुमति प्राप्त हुँदा अन्तर्राष्ट्रिय पर्यटन बजारमै सकारात्मक सन्देश जान्छ।

सरकारले पदयात्रामा जाँदा पर्यटकले गाइड अनिवार्य साथमा लानुपर्ने व्यवस्था गरेको छ। गाइड नपाएको खण्डमा लाइसेन्सहोल्डर पोर्टर गाइड लैजान पनि सकिन्छ। अब गाइड नलाने पर्यटकले पोर्टर गाइड मात्रै लैजान पनि सक्नेछन्। पोर्टर गाइडको काम पर्यटकको झोला बोक्ने र उनीहरुलाई बाटो देखाउने हुन्छ।

हालसम्म करिब आठ सयले पोर्टर गाइडको तालिम लिएका छन्। यी सवैलाई पोर्टर गाइडको लाइसेन्स उपलब्ध गराएर जिम्मेवार पर्यटनकर्मी बनाइने विभागको भनाइ छ।

प्रकाशित: २६ कार्तिक २०७५ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App