१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

रेलको रन्को

भारतको बथनाहाबाट विराटनगर–१८ स्थित बुधनगरमा गत कात्तिक १८ गते परीक्षणका लागि रेल आइपुग्यो। रेल आइपुगेको विवरण नागरिक संवाददाता विनोद सुवेदीले यति मिहिन पाराले चित्रण गरेका छन् :

‘बथनाहादेखि ८ किलोमिटर टाढाको बुधनगरसम्म रेल आउन एक घन्टा लागेको थियो। परीक्षणका क्रममा सुस्त गतिमा ल्याइएको रेल विभिन्न स्थानमा रोकिएको थियो। नेपाल भारत सीमा नजिक रेल आइपुगेपछि धेरैबेरसम्म हर्न बजाइएको थियो। केही बेर सीमामा रोकिएको रेल नेपाल प्रवेश गरेको थियो । रेल आउने सूचना पाएपछि बुधनगरस्थित स्टेसनमा वरपरका मानिसको भीड लागेको थियो।

राष्ट्रपति विद्यादेवीदेखि प्रधानमन्त्री ओली आफ्नै पारिवारिक उल्लासमा सामेल देखिए। योबाहेक अरु समाचारै के थियो र? तैपनि यो चाडलाई समृद्धितर्फको आफ्नो यात्राका रूपमा प्रस्तुत गर्न भने ओली चुकेनन्।

आइतबार बिहान ११ बजे नै रेल आउने हल्ला भए पनि २ बजे मात्रै स्टेसनमा आइपुगेको थियो। विराटनगरमा फूलमालाले झकिझकाउ पारेर रेल भित्र्याइएको थियो। रेलको अगाडिको मागमा न्युबिजी रेललाइन प्रोजेक्ट बथनाहा–नेपाल कस्टम यार्ड लेखिएको ब्यानर राखिएको थियो।’

अब हेरौँ आजभन्दा ९१ वर्षअघि रेल आउने दिनको दृश्य। राममणि आदीको संस्मरणमा आधारित पुस्तक ‘प्राचीन संस्मरण’ मा उल्लिखित प्रसंग :

‘आधाभारमा रेलवेको काम चलीरहेको नगर हुनाले श्री ५ लाई पनी रेल चढने मन भएछ। उहाबाट रेलमा आफनू भएको जमीनसंम रक्सौल संम जाने आफनू इरादा श्री ३ महाराजसँग हुकुम भएछ। महाराजबाट तेसकुराको बन्दोबस्त गरीबक्सेछ र माघ १२ गते (१९८३ साल) का दिन आधाभारबाट श्री ५ महाराजधिराजको रेलमा आफनू भएको जमीन संम रक्सौल चलाउने तजवीज भयो।

‘...आज फागुन ५ (१६ फरवरी १९२७) हो। आजै रेल खूलने दिन हो। ... नेपाली झंडा, अंग्रेजी झंडा र देश देशावरका झंडाले त्यो ठाउँ झंडा नगरै भएको थियो भननामा कत्ति अत्युक्ति हुदैन होला। सबै तरहबाट सजावटमा पूर्णता झलकीरहेको थियो। श्री देवशंशेर माहाराजको सत्तल देखी पानीको पहिलो पोखरी लगायत एक पाऊ परसम्म र पूर्व पट्टी नदीको बगर देखी पश्चिम फडाँनी भएको जमीनतर्फको चौकिल्ला अन्दाजी डेढकोशको घेरा पुरा तवरबाट सीगाँरीएको थियो। हेरने मानिस पनी खिरकी भरीएर बाहिर पनी कतारवाधी खडा थिए। २–३ दिनदेखी आउन लागेको मानिसहरूका हुलले त्यो बेला नरमुंड देखीनू कुनै ठूला कुरा थिएन। वाजी, थारु, सदरीया, गँवार, सब ताहा भेला भएका थिए।’

समय शताब्दी नाघ्न लागेको छ। विकास निर्माणप्रतिको प्यास नागरिकमा उस्तै छ। सरकारले दिने आश्वासन पनि सय वर्षअघि जे थियो अहिले पनि उस्तै छ।

आजभन्दा ९१ वर्षअघि नै यो मुलुकमा रेल आइसकेको थियो। त्यो पनि आफ्नै खर्चमा। अहिले भारतीय सहयोगमा उतैको रेल सञ्जाल विस्तार हुने क्रममा विराटनगरसम्म रेल आउँदाको खुसीबाट हामी कम्ती पुलकित भएका छैनौँ।

यसपटकको शरद ऋतुका सुन्दर चाडबाड लगभग सकिएका छन्। छठ पनि मनाइसकेपछि एउटा लामो रिक्तता हामीमा हुनेछ। वर्षभरि काम गरेपछि सुस्ताउने यी चाडपछि फेरि सुरु हुन्छ उही धपेडी, उही हतारो। यो कामकाजी व्यक्तिको जीवनमा आउने अवस्था हो।

मुलुकका हिसाबले प्रायः चाडवाड आउनुअघि केही महिनादेखि कामकाज रोकिन थाल्छन्। अब दसैँपछि वा तिहारपछि भन्ने थेगो कर्मचारीका मुखमा झुन्डिन्छ। यी चाड आउँछन्, जान्छन् काम भने यथावत् रहन्छ। यसपालि दसैँ राजकीय टीका ‘बक्स’ का चर्चामै सकियो। यसबीच पनि मुलुकको विकासले गति नलिएकामा चिन्ता प्रकट भइरह्यो।

दसैँलगत्तै सार्वजनिक टीका कार्यक्रममा सरिक भएको धपेडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आयो। तैपनि अस्पतालबाटै पनि उनले राष्ट्रबासीका नाममा आफू सक्रियपूर्वक काम गर्न फर्किने सन्देश प्रवाह गरे। जे/जस्तो अवस्था भए पनि मुलुकमा विकास निर्माणले गति लिनुपर्छ भन्नेमा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्ममा उत्तिकै हुटहुटी छ।

तिहार तुलनात्मकरूपमा भिन्न रह्यो। आफ्नै दाजुभाइ दिदीबहिनीबीचको यो चाडमा राजकीय घोषणामार्फत् भाइटीका लगाउन कतैबाट आमन्त्रण भएन। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पारिवारिक उल्लासमा सामेल भएको देखियो। योबाहेक अरु समाचारै के थियो र?

तैपनि यो चाडलाई समृद्धितर्फको आफ्नो यात्राका रूपमा प्रस्तुत गर्न भने प्रधानमन्त्री ओली चुकेनन्। तिहारको शुभकामना दिने क्रममा ओलीले बिहीबार एक भिडियोमार्फत भने– अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि नै हुनेछ । आर्थिक विकासको गतिलाई अब असाधारण तीव्रता दिइनेछ।

तिहारलाई लक्ष्मी प्राप्तिको आराधना गर्ने पर्वसमेत मानिन्छ। शायद यसलाई ध्यानमा राखेर प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन करिब ४२ प्रतिशतले वृद्धि भएको आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गरेका छन्।

सरकारी फजुल खर्चमा व्यापक कटौती गरिएको, विश्व बजारमा अमेरिकी मुद्राको मूल्य वृद्धि भइरहँदा पनि मुद्रास्फीति बढ्न नदिएको, दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुन नदिन प्रयास गरिरहेको, पुँजीगत खर्चमा वृद्धि भइरहेको, गत आर्थिक वर्षको तुलनामा निर्यातमा झण्डै १७ प्रतिशतले वृद्धि भइरहेको सकारात्मक तस्बिर पनि उनको सम्बोधनमा देखिन्छ।

चुनाव होस् वा चाडवाड अचेल समृद्धिप्रतिको चाहना धेरै छ। त्यसो त यस्तो चाहना अहिलेका प्रधानमन्त्रीलाई मात्र भएको होइन, उहिले श्री ३ राणा प्रधानमन्त्रीले पनि यसप्रति सधैँ चासो राखेको पाइन्छ। तिहारअघि विराटनगरसम्म रेल आइसकेपछि आफ्नै देशको रेलको इतिहासमाथि समेत छलफल भइरहेको छ।

आजभन्दा ९१ वर्षअघि नै यो मुलुकमा रेल आइसकेको थियो। त्यो पनि आफ्नै खर्चमा। अहिले भारतीय सहयोगमा उतैको रेल सञ्जाल विस्तार हुने क्रममा विराटनगरसम्म रेल आउँदाको खुसीबाट हामी कम्ती पुलकित भएका छैनौँ।

यही खुसियाली पत्रपत्रिकामा देखेपछि डा. सुन्दरमणि दीक्षितको सौजन्यबाट राममणि आदीको संस्मरणमा आधारित पुस्तक ‘प्राचीन संस्मरण’ हेर्ने मौका प्राप्त भयो। पुस्तकअनुसार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ‘नेपालमा रेल ल्याउन ठीक परला वा परोइन, तिमीहरूको के राय छ, लेखी जाहेर गर भनि सोधनी भएको थियो’ भन्ने प्रसंग उल्लेख छ।

पुस्तकमा उल्लिखित ‘नेपाल गभर्नमेन्ट रेलवे (सम्वत – १९८३)’ शीर्षकमा पढ्दै जाँदा त्यो बेला नेपालमा रेल ल्याउनु हुँदैन भनेर समेत राय दिइएको देखिन्छ। राणा प्रधानमन्त्रीले राखेको प्रस्तावमा समेत नकारात्मक राय दिने छुट र आँट दुवै देख्दा आश्चर्य लाग्छ।

रेल ल्याउने काममा सम्झौता गर्न राममणि आदीका भाइ यज्ञमणि अाचार्य दिक्षीतलाई पठाइएको प्रसंगसँगै रोपवे ल्याउनसमेत त्यो बेला श्री ३ चन्द्रशमशेरले २०/२५ लाख रुपियाँ खर्च गरेको उल्लेख छ। झण्डै एक सय वर्षअघि नेपालले आफ्नै खर्चमा रेल, रोपवेजस्ता यातायात र ढुवानीका साधनमा खर्च गरेको आधारमा अहिले विकासको गतिमा हामी धेरै अघि पुगिसक्नुपर्ने थियो। तर, हामी कतै अलमलिएछौँ भन्ने लाग्छ।

यतिबेला मुलुकमा केही रेल परियोजना सञ्चालनमा छन्। प्रधानमन्त्री ओलीले चीनको रेल काठमाडौँसम्म ल्याउन कूटनीति अघि सारेपछि भारतले पनि नेपालको चाहनालाई बुझेर विस्तारको काम थालेको छ।

रेलमात्र होइन, बिजुली बाल्नमा पनि नेपाल एशियाकै दोस्रो मुलुक बनेको हो। १९६८ जेठ ९ सोमबार चन्द्रज्याति हाइड्रोइलेक्ट्रिक पावर स्टेसनबाट उनै राणा प्रधानमन्त्री चन्द्रशमशेरले बिजुली उत्पादन अभियानको पनि थालनी गरेका थिए। अहिले यसैलाई फर्पिङ जलविद्युत् आयोजनाको नामले चिनिन्छ।

एक सय ७ वर्षअघि नै बिजुली बालेको हाम्रो मुलुक अहिले लगातार तीन वर्षदेखि ‘लोडसेडिङमुक्त तिहार’ मनाउन पाउँदा औधी खुसी छ। तर त्यो थालनीकै आधारमा विकासको गति अघि बढेको भए आज यो पछौटे अवस्थामा पर्नुपथ्र्यो र? राणालाई गाली गरियो। राजा/महाराजालाई गाली गरियो। तर विकास निर्माणमा तिनले थालेको कामलाई तीव्रता दिनभन्दा तिनकै ढर्रा र ठस्सालाई प्रोत्साहित गरेको देख्दा पो दिक्क लाग्छ।

सिंगापुरका नेता लि क्वान युले जस्तै हाम्रा नेताले पनि नेपाललाई सुन्दर र समृद्ध बनाए नागरिकले कति प्रशस्तिको पुल बाँध्थे होला। रेल आएको उपलक्ष्यमा चन्द्रशमशेरलाई केशरशमशेरले यसरी प्रशंसा गरेकोसमेत उक्त पुस्तकमा उल्लेख छ :

‘आफ्नो देशको उन्नति साधन होस भनि हरबखत तत्पर रहने हजूरले वर्षदिन भित्रैमा यस नेपालमा २/२ ठूला उत्सव (मिलिटरी हस्पताल र नेपाल गभर्नमेन्ट रेलवे) खोली बक्सिएको मात्र नभै अरु पनी २ कुराको आज शिलान्यास गरिबक्सियो (सानाटोरियम र अमलेखगंजमा अरु छ इंची पानी थपी बक्सने।’

प्रकाशित: २५ कार्तिक २०७५ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App