१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्ली महिलाको संदेशमूलक देउसी भैलो

सामूहीक फोटो खिचाउँदै भैलेरी महिला। तस्बिर : डिबी/नागरिक

जुम्ला – जुम्लाका महिलाले सबै प्रकारका हिंसाका अन्त्यका लागि जनचेतनामूलक देउसी भैलो खेल्न थालेका छन्। उनीहरुले देउसी भैलोबाटै समाजमा हुने हरेक प्रकारको हिंसा अन्त्यका लागि सन्देश प्रवाह गर्न थालेका हुन्। जिल्लाका सबै राजनीतिक पार्टीका महिला संगठन मिलेर बनेको अन्तरपार्टी महिला सञ्जालमा आवद्ध महिलाले देउसी भैलोबाटै संविधानको कार्यन्वयन र संघीयताको दिर्घायुको कामना समेत गरेका छन्। 

अन्तरपार्टी महिला सञ्जाल जुम्लाकी सचिव मेनका रेग्मी दिपावलीमा खेलिने देउसी भैलो कार्यक्रमलाई सन्देश प्रवाह गर्ने माध्यम बनाएको बताइन् । ‘पछिल्लो समयमा हत्या, हिंसा, बलात्कार, कुटपिट, चोरी निकासी लगायतका विकृती मौलाउदै गएका छन्’, उनले भनिन्, ‘यि सबै विसंगतिको अन्त्यका लागि खवरदारी मूलक, संदेशमूलक देउसी भैलो खेल्न थालेका छौं।’ देउसी भैलोलाई नगद, जिन्सी संकलन गरेर भोजखाने चलनका रुपमा लिइदै आएको छ, सचिव रेग्मीले भन्नि। रेग्मीले देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट अक्षय कोष स्थापना गरी गाउँवस्तीमा सचेतनाका क्रियाकलाप गर्दै आएको बताइन्। 

उनीहरुले तिला, तातोपानी, हिमा र चन्दननाथ नगरपालिका क्षेत्रमा देउसी भैलो खेलेका हुन्। देउसी भट्याउनेदेखि बीचमा गाइने गीत समानूपातिक र समावेशी नै छन्। अन्तरपार्टी महिला सञ्जाल सदस्य बिष्णु बुढा गाउँमा यो प्रकारको देउसी भैलोले सकारात्मक सन्देश फैलाउन सफल भएको बताइन्। ‘यो देउसी भैलो कार्यक्रम ज्ञानवद्र्धक, खबरदारी मूलक र चेतना मूलक छ’, उनले भनिन्, ‘महिला मिलेर खेलिएको यो देउसी भैलो कार्यक्रमले सबै प्रकारका विषयवस्तु समेट्न सकेको छ।’

सबै प्रकारका हिंसा अन्त्यका लागि देउसी भैलोबाटै आग्रह गर्ने गरिएको उनले बताइन्। देउसी भैलोलाई अहिलेको युगको माग अनुसार रुपान्तरण गर्दै सन्देश मूलक बनाउनु पर्नेमा उनीहरुको जोड छ। देउसी भैलोमै उनीहरुले संविधानको कार्यन्वयन गर्न, संघीयताको संस्थागत विकास गर्न, महिला अधिकारको रक्षा गर्न, अपराधको अन्त्य गरी अपराधीलाई कार्वाही गर्न, सभ्य समाज निर्माण गरी शान्ति अमनचयन कायम राख्न, बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था गरी कुनै पनि न्याय निसाफमा विभेद नगर्न आग्रह गरेका छन्। सबै स्थानीय तह सवल र सक्षम हुनु पर्ने, गणतन्त्र र संघीयता मौलाउँदै जानु पर्ने, धर्म निरपेक्षको नारा हार्दिकता पूर्वक ग्रहण गर्न सक्ने बातावरण बनाउनु पर्ने, व्यवस्थापिकाले कानुन् दिएर कार्यपालिकाले काम गर्नु पर्ने, न्यायपालिकाले न्याय दिएर नेपालको अर्थतन्त्र बलियो बनाउनु पर्ने, सुख्खा डाडाकाँडा हरियाली बनाउँदै बढ्दै गइरहेको प्रदुषण घटाउनु पर्नेमा जोड दिएका छन्। देउसी भैलोको माध्यमबाट उनीहरुले कर्णालीको रारा, फोक्सुण्डो, काक्रेविहारको जगेर्ना गर्दै जुम्ली स्याउको स्वाद लिदै पर्यटक भित्रयाउने वातावरणका लागि कर्णाली प्रदेश सरकार समक्ष आग्रह गरेका छन्। 

मदिरा सेवन, वालबिवाह, बहुबिवाह, अनमेल बिवाह, जारी प्रथा, छुई प्रथा लगायतका विभेदको अन्त्य गरी स्वच्छ र समावेशी समाज निर्माण अभियानमा जुट्न समेत उनीहरुको आग्रह छ।

प्रकाशित: २२ कार्तिक २०७५ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App