१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा आगलागी, कराेडाैंकाे नाेक्सानी

इटहरी - इटहरीको व्यस्त बजारमा बुधबार दिउँसो आगलागी भएको छ। इटहरी वडा नं. ६ की रेखा पराजुलीको टिभी र फ्रिज सो रुमसँगै छेउमै सटेको गणेश लुईटेलको घरमा आगलागी भएको हो।

पराजुलीको चार तले घरको पहिलोे तलामा टिभी र फ्रिज रुम रहेकोमा विद्युत सर्ट भएर दिउँसो १२ बजेतिर आगलागी सुरु भएको हो। विद्युत सर्ट भएर लागेको आगोले दोस्रो र तेस्रो तलामा रहेका टिभी, फ्रिज र इलोक्ट्रिक आइटमको स्टक सामान जलेर नष्ट भएको रेखाका जेठाजु ईश्वरी पराजुलीले बताए।

अहिलेसम्मको प्रारम्भिक अनुमान अनुसार दुई करोड बराबरको स्टक सामान जलेको र अरु यकिन हुन नसकेको बताइएकाे छ। रेखाको घरको पहिलो तलाको अगाडिका कोठामा टिभी, फ्रिजसँगै इलेक्ट्राेनिक सामानको विक्री केन्द्र रहेकोमा दोस्रो र तेस्रो तलामा स्टक सामान राखिएको थियो। चौथो तलामा मेनपावर अफिस रहेपनि केहि समय अघिमात्रै खाली भएको थियो। ‘पहिलो तलाको पछाडि पट्टीबाट विद्युत सर्ट भएर आगो सल्किएको हो,’ ईश्वरीले भने, ‘लक्ष्मी पूजा गर्न सरसफाई गर्ने क्रम चलिरहेका बेला आगो लागेको हो।’ पछाडि पट्टीबाट सुरु भएको आगो दोस्रो र तेस्रो तला सम्म पुगेकाे थियाे।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले दोस्रो तलामै आगो बढी फैलिएकाले कहाँबाट सुरु भएकाे भन्ने बारे थाहा हुन नसकेकाे बताए। आगोले रेखाका छिमेकी गणेश लुईटेलको तीन तले घर पनि जलेको छ। आगो नियन्त्रण गर्नका लागि इटहरीसहित दुहवी, धरान, इनरुवा, धरान, मोरङ सुन्दरहरैँचा र विराटनगरको वारुणयन्त्र, सेना र प्रहरीको टोली परिचालन भएको थियो । आगो सवा तीन बजे नियन्त्रणमा अाएकाे र क्षतीकाे विवरण संकलन भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App