१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारको निर्णय मिचेर कार्यालय सार्ने दाउमा प्रमुख, कांग्रेसद्वारा तालाबन्दी

लहान– जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानबाट सार्न खोज्दा नेपाली कांग्रेस लहान नगर समितिले आइतबार यी कार्यालयमा तालाबन्दी गरेको छ। लहानबाट जलस्रोत कार्यालय सिरहा सदरमुकाम र खानेपानी कार्यालय राजविराज सप्तरी सार्न खोज्दा कांग्रेसका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। 

लहान नगर सभापति सुनिल कुमार महतोको नेतृत्वमा गएका नेता कार्यकर्ताले आइतबार जलस्रोत डिभिजन प्रमुखको कार्यकक्ष, योजना शाखा, प्रशासन फाँट तथा खानेपानी डिभिजन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन्। 

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय र सिंचाई विकास डिभिजन कार्यालय गाँभिएर स्थापना भएको यो कार्यालय लहानमा रह्ने नेपाल सरकारको निर्णय छ।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम एकै जिल्लामा रहेका साविकका सिंचाई विकास डिभिजन कार्यालय र जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयहरु गाँभिएर जलस्रोत तथा सिंचाई डिभिजन स्थापना भएको हो। सरकारको यसै निर्णय अनुरुप एकीकृत कार्यालय (जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय) सञ्चालन गर्न नेपाल सरकार सचिवस्तरबाट १० भदौ २०७५ मा पत्राचार भयो।

सरकारको निर्णय अनुसार एकीकृत कार्यालयको कामकाज लहानमा सञ्चालन हुनुपर्ने थियो। तर, कार्यालय प्रमुख श्यामनन्दन यादवले प्रदेशस्तरीय निर्णय अनुसार एकीकृत कार्यालय सिरहामा सञ्चालन हुने भन्दै लहानबाट कार्यालय सार्ने सुरसार सुरु गर्यो। अब यहाँ कार्यालय रहँदैन सिरहा सर्दैछ भन्दै उहाँ कार्यालय आउन छोड्नु भयो’, नायव सुब्बा सुरेन्द्र साहले भने। कार्यालय प्रमुख आउन छाडेपछि कर्मचारी बिचल्लीमा परेको उनले बताए। आफूहरुले साउनबाट तलब समेत नपाएको उनले सुनाए।

नेपाली कांग्रेसका क्षेत्र नम्ब १ सभापति अचमितलाल चौधरी र लहान नगर सभापति सुनिल कुमार महतोको संयुतm विज्ञप्तिमा सरकारको निर्णय अनुसार लहानबाट सञ्चालन हुनुपर्ने यो कार्यालय स्थापना भएको छ। सरकारको निर्णय लत्याएर कार्यालय सिरहा सारिए आन्दोलनमा उत्रन बाध्य हुने र यसको सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुख र प्रदेश सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी खानेपानी तथा सरसफाई डिभिजन नम्बर १ को कार्यालय सप्तरीको राजबिराज स्थापना गरिएकोमा कांग्रेसले बिरोध जनाउँदै लहान स्थित कार्यालयमा तालबन्दी गरेको छ। लहानमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय आफ्नौ भवनमा भैरहेको थियो। राजबिराजमा भने भाडाको घरमा सञ्चालनमा छ। ‘आफ्नै पूर्वाधार हुँदा हुँदै भाडाको घरमा कार्यालय सारेर राज्यको ढुकुटी बर्बाद बनाउने कार्य जनताको अहितमा छ’, कांग्रेस नगर अध्यक्ष सुनिल कुमार महतोले भने, ‘देश र जनताको अहितमा हुने काम हामी हुन दिन्नौं। पूर्वाधार सम्पन्न ठाउँबाट कार्यालय सार्ने काम कुनै पनि हालतमा हुन दिने छैनौं।’ 

कुनै नेता वा व्यतिmको व्यतिmगत स्वार्थका कारण राज्यको ढुकुटी सकाउने र जनतालाई असुविधा हुने कामको बिरोध गर्ने भन्दै उनले थने, ‘यो जनबिरोधी कार्य नरोकिए आन्दोलनमा उत्रिन्छौं।’

‘आफ्नो सरकारी भौतिक संरचना छाडेर सरकार निर्णय विपरित भाडाको घरमा कार्यालय सञ्चालन गर्नु अनुचित हो,’ महतोले भने, ‘यस प्रकरणमा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुखको मनोमानी साफ देखिन्छ।’

जनप्रतिनिधिको पनि बिरोधमा उत्रे

लहानबाट सरकारी निर्णय विपरित कार्यालयहरु सार्न खोजिएपछि लहान नगरपालिकाका जनप्रतिनिधिहरु समेत बिरोधमा उत्रिएका छन्। ‘लहान नगर कार्यपालिकाको बैठकबाट यहाँका जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कुनै पनि शर्तमा सार्न नदिने निर्णय भएको छ’, लहान नगरका प्रमुख मुनी साह सुडीले भने। ‘कार्यालय सार्न खोजेको जानकारी पाउनसाथ हामीले कार्यपालिकाको बैठक डाक्यौं,’ प्रमुख साहले भने, ‘कुनै पनि हालत कार्यालय यहाँबाट सार्न दिँदैनौं।’ 

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको लहान कार्यालयको समान त्यहाँबाट बाहिर नलग्नका लागि नगरपालिकाले उक्त कार्यालयमा सूचना समेत टाँस गरिसकेको उनले जानकारी दिए।  

यसरी सारिदै छ कार्यालय

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुख श्याम नन्दन यादवका अनुसार यो कार्यालय प्रदेश सरकार अन्तर्गत भएको छ।  ‘प्रदेश सरकार अन्तर्गतको कार्यालय भएपछि संघीय सरकारको निर्णय भन्दा प्रदेश सरकारको निर्देशन र निर्णय मान्नुपर्ने हुन्छ’, उनले भने, ‘लहानमा कार्यालय रहने संघीय सरकारको निर्णय भएपनि प्रदेश सरकारको निर्णयानुसार यहाँबाट कार्यालय सिरहा सार्न लागिएको हो।’ उनले थपे, ‘लहानबाट कार्यालय सार्ने औपचारिक पत्र प्रदेश सरकारबाट प्राप्त भएको छैन्। तर, प्रदेश सरकारबाट आउने पत्रहरुमा सिरहा भनेर उल्लेख छ’, उनले भने। सिरहामा तीन वर्षदेखि भाडाको घरमा सिँचाई डिभिजन कार्यालय सञ्चालनमा थियो। 

प्रकाशित: १८ कार्तिक २०७५ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App