१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

६ सय उत्पादनको ट्रेडमार्क चोरी

काठमाडौं - जापानको बहुराष्ट्रिय कम्पनी क्यासिओको लोगो चोरी गरेर नेपालमा क्यासिओ जस्तै क्याल्कुलेटर बिक्री भएको भन्दै उक्त कम्पनीले उद्योग विभागमा उजुरी दर्ता गरेको छ । क्यासिओकै लोगो प्रयोग भएको क्याल्कुलेटर बिक्री भएको भेटिए पछि कम्पनी न्याय खोज्दै विभाग पुगेको हो।

बजारमा प्रतिष्ठा कमाइसकेका ब्रान्डका ट्रेडमार्क नक्कल गरेर सामान उत्पादन तथा बिक्री गर्ने क्रम बढेसँगै विभागमा पनि उजुरीको चाङ लागेको छ । विभागका अनुसार अहिलेसम्म ६ सय १७ उद्योग तथा कम्पनीले ट्रेडमार्क चोरी भएको भन्दै उजुरी हालेका छन्।

चालु आर्थिक वर्षको तीन महिनामा मात्र एक सय २५ वटा उत्पादकले उजुरी दिएको विभागले बताएको छ । गत आर्थिक वर्षमा सात सय ७५ उजुरी परेका थिए । गत वर्षको फस्र्योट हुन बाँकीसहित अहिले ६ सय १७ वटा उजुरी बाँकी रहेको विभागका नायब सुब्बा नारायण भुसालले बताए । ‘यो वर्ष ६ सय २७ उजुरीमा १० वटामात्र फस्र्योट भएका छन्,’ भुसालले भने, ‘उजुरी आउने क्रम जारी छ।’

कम्पनीको ट्रेडमार्क चोरी हुने क्रम बढेको छ । ट्रेडमार्क चोरी भएपछि उद्योगी, व्यवसायी गुहार माग्दै विभाग आउँछन् । अधिकांश मुद्दा ट्रेडमार्क नक्कल गरेको विषयमा हुने गरेको विभागको कानुन शाखाका उप–सचिव टंकबहादुर महतले बताए । ‘मुद्दाको प्रकृति अनुसार सजाय र फैसला गर्छौं,’ महतले भने, ‘अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना गर्छौं।’

ट्रेडमार्क चोर्नेले चल्तीका कम्पनीको हुबहु नक्कल गरी गुणस्तरहीन सामानलाई गुणस्तरीय भन्दै ढाँटेर उपभोक्तालाई झुक्याउने गरेका छन् । ट्रेडमार्क चोरीको गुनासो र मुद्दा दिनहुँ विभागमा आउँछ।

विभागले अर्धन्यायिक निकायको रुपमा मुद्दाको फैसला गर्छ । उक्त फैसला चित्त नबुझे उद्योगी अदालत जान सक्छन् । विभागले धेरै उजुरीमाथि फैसला गर्दै कारबाही गरेको छ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क  ऐन २०२२, उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार बौद्धिक सम्पत्ति संरक्षणविरुद्ध हुने गरी चोर्ने व्यक्ति र कम्पनीविरुद्ध कानुनी उपचार गर्न सकिन्छ।

उजुरी परेपछि विभागका महानिर्देशकको अध्यक्षतामा इजलास बसेर फैसला हुन्छ । ट्रेडमार्क माग भएर आएमा मागेको लोगोसहित ९० दिनको सूचना प्रकाशित गरेर प्रक्रिया अनुसार दर्ता गर्ने विभागले जनाएको छ।

केही समयअघि म्याजिक फुटवेयरको पनि ट्रेडमार्क चोरी भएको थियो । जयश्री पियू टेक, जयश्री कम्पनी प्रालि र जयश्री पोलिमर्स प्रालिले उत्पादन गरेका जुत्ता–चप्पल जस्तै म्याजिकको नाममा उत्पादन गरेर बेचेको कम्पनीले दाबी गरेको थियो । म्याजिक ग्लोड, पियू म्याजिक, प्लेक ब्याक जस्ता शब्द प्रयोग गरी ब्रान्ड चोरी भएको थियो।

बौद्धिक सम्पत्ति चोरी रोक्ने प्रयास भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

ट्रेडमार्क उद्योगीको ठूलो सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नु सरकारको दायित्व भएको सरकारी अधिकारी बताउँछन् । सुपर पावर नामको सुर्ती तथा खैनी उत्पादन गर्ने कम्पनीको पनि ट्रेडमार्क चोरी भएको भन्दै विभाग उजुरी परेको थियो । सुर्ती तथा खैनी भारतबाट ल्याई अरु नै कम्पनीको लोगो तथा ब्रान्ड नाम राखेर बेच्ने गरेको भेटिएको थियो।

जापानको बहुर्राष्ट्रिय कम्पनी कन्साई नेरोल्याकको ब्रान्ड चोरी भएर नेपालमा दर्ता भएपछि उक्त कम्पनीले नेपालमा गर्न खोजेको लगानी फिर्ता भएको उद्योग विभागले जनाएको छ।

स्वदेशीमात्र नभएर विदेशी उत्पादनका ब्रान्डको ट्रेडमार्क चोरी गरी नेपालमा दर्ता गर्ने प्रचलन पनि देखिएको विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले बताए । ब्रान्ड नाम मात्र नभएर र डिजाइनको पनि सुरक्षा दिने दायित्व सरकारी निकायको हो । अहिलेसम्म पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ र प्रतिलिपि अधिकार ऐन २०५९ तथा प्रतिलिपि अधिकार नियमावली २०६१ द्वारा औद्योगिक सम्पत्ति र प्रतिलिपि अधिकार संरक्षण भइरहेको छ।

नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता, विश्व व्यापार संगठनको सदस्य भएको हैसियत र समयसापेक्ष अनुसार नयाँ ऐन ल्याउने तयारी भएको विभागले जनाएको छ । ‘मन्त्रालयले नयाँ ऐनको ड्राफ्ट तयार गरेको छ,’ निर्देशक लुइँटेलले भने, ‘ट्रेडमार्क चोरी रोक्न अझ व्यवस्थित गर्दैछौं।’

औद्योगिक उत्पादनको ट्रेडमार्क, नाम, पेटेन्ट दर्ता नवीकरणको काम उद्योग विभागले गर्छ । अहिले प्रयोग भइरहेको पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ पुरानो भएकाले नयाँ ल्याउने प्रयास भएको विभागले जनाएको छ।

मन्त्रालयले बौद्धिक सम्पत्तिसम्बन्धी परिभाषालाई फराकिलो बनाउँदै ‘राष्ट्रिय बौद्धिक सम्पत्ति नीति’ बनाउन लागेको छ । हालसम्म बौद्धिक सम्पत्ति अन्तर्गत कला, सिर्जनाको प्रतिलिपि, ट्रेडमार्क, डिजाइन, पेटेन्ट जस्ता विषयलाई मात्र हेर्ने गरिएको छ । नयाँ नीतिमा प्रतिलिपि, ट्रेडमार्क, डिजाइन, पेटेन्टबाहेक भौगोलिक संकेत, वनस्पतिका नयाँ प्रजाति, व्यावसायिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गरिने छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App