१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटक लोभ्याउन सुन्दर पूर्वाधार

दोलखाको सुन्दर पर्यटकीय नगरी जिरी बजार। तस्बिर : रमेश/नागरिक

(जिरी) दोलखा - पर्यटक तान्न सुन्दर पर्यटकीय नगरी जिरीमा रहेका प्राकृतिक सम्पदालाई व्यवस्थित बनाउँदै पूर्वाधार निर्माण गर्ने नीति स्थानीय सरकारले लिएको छ। पर्यटक लोभ्याउन जिरी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनलाई व्यवस्थित बनाउने र आवश्यक ठाउँमा पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको हो।

नगरको नीति अनुसार नगर क्षेत्रभित्र रहेका सुन्दर र हराभरा खाली स्थान, चउर, मैदान, त्यसै खेर गइरहेका जमिन, जंगल लगायत क्षेत्रलाई पर्यटक तान्ने गरी पूर्वाधार बनाउने तयारी छ। नगरपालिकाले आफ्नो वार्षिक बजेटमार्फत जिरी उपत्यकामा सुन्दर ताल निर्माण गर्नेदेखि सातवटा स्थानमा पर्यटकलक्षित पार्क बनाउने घोषणा गरेको छ । त्यस्तै जिरीको सुन्दर र चिसो हावापानीमा घुम्न आउने पर्यटकका लागि लक्षित गरेर हाइकिङ र ट्रेकिङ रुट निर्माणका लागि पूर्वाधार निर्माण गर्ने नीतिसमेत नगरपालिकाले लिएको छ।

नगरले जिरी उपत्यकामा डेढ किलोमिटरको ताल निर्माण गर्दैछ । पर्यटक तान्न जिरी नगरपालिकाले चारवटा खोलालाई बारेर डेढ किलोमिटरको ताल निर्माण गर्न लागेको हो। जिरी नगरपालिकाका प्रमुख टंक जिरेलका अनुसार जिरी बजारबाट बगेर गएका खोलाहरुलाई कुनेमा ६० बिटर उचाइको बाँध बाधेर विमानस्थलभन्दा तल्लो क्षेत्रसम्म डेढ किलोमिटरको ताल निर्माण गरिनेछ । उक्त बाँध बाँधेर २.४ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने तयारी नगरपालिकाको छ।

नगरपालिकाले गरेको प्रारम्भिक अध्ययन अनुसार नगरको वडा नम्बर ४ र ६ मा पर्ने कुने खोलामा ६० मिटरको बाँध बाधिनेछ । कुनेमा ६० मिटरको बाँध बाधिएपछि तल्लो क्षेत्रमा पावरहाउस बनाएर बिजुली उत्पादन गरिनेछ भने माथिल्लो विमानस्थल क्षेत्रतर्फ ताल फैलनेछ । उक्त तालले जिरी विमानस्थल क्षेत्रमा कुनै असर भने नपर्ने नगरपालिकाले जनाएको छ । करिब १६ सय मिटर लम्बाइ हुने अनुमान गरिएको तालको चौडाइ ९० मिटरदेखि एक सय ३० मिटरसम्मको हुने अनुमान नगरपालिकाको छ । तालमा माछा पाल्ने र वरिपरी स्विस डिजाइनका रेस्टुरेन्ट तथा रिसोर्ट खोल्ने योजना नगरको छ । यस्तै तालमा पर्यटकलाई बोटिङ गराउने योजनासमेत नगरको छ।

नगरपालिकाको गौरवका रुपमा रहेको ताल निर्माण योजनाका विषयमा शुक्रबार नगरपालिकाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पिताम्बर शर्मासहितका योजनाविद र प्रदेश ३ को योजना आयोजका अधिकारीसँग छलफल गरेको थियो।

नगर प्रमुख जिरेलले सार्वजनिक–निजी–साझेदारी मोडेलमा ताल निर्माण गर्न लागिएको सुनाए । ‘सबैको लगानीमा हुने गरी प्रदेशभरीकै आकर्षक र जिरी नगरपालिकाको गौरव योजनाका रुपमा अगाडि बढाउने लक्ष्य राखेका छौं,’ जिरेलले भने।

पर्यटक भित्र्याउन ६ वटा पार्क
जिरी घुम्न आउने पर्यटकलाई केही दिन यहींको सुन्दर वातावरणमा घुलमिल गराउन नगरपालिकाले ६ वटा आकर्षक पार्क बनाउन बजेट विनियोजन गरेको छ । नगर प्रमुख जिरेलका अनुसार वडा नम्बर १ को श्यामादेखि ७ को खावाडाँडासम्म ६ वटा फरक फरक किसिमका आकर्षक पार्क निर्माण गरिनेछ।

नगरपालिकाका अनुसार वडा नम्बर १ को पुम्पामा ‘स्टोन पार्क’ बन्नेछ । ठूल्ठूला आकर्षक बनावटका ढुंगैढुंगा रहेको यो क्षेत्रलाई व्यवस्थित गरी पर्यटक घुम्नलायक बनाइनेछ । यस्तै वडा नम्बर २ को शैलुङ क्षेत्रमा ठूलढुंगा पार्क बनाइनेछ भने वडा नम्बर ३ मा कुथामे पार्क निर्माण गरिनेछ । ४ र ५ नम्बर क्षेत्रको गोकुलेश्वर महादेव जंगल क्षेत्रमा जैविक विविधता पार्कका रुपमा विकास गरिनेछ । वडा नम्बर ६ को बुंलडाँडामा शान्ति पदमार्ग तथा बुद्ध पार्क बनाइनेछ । वडा नम्बर ७ को खावाडाँडालाई पिक्निक पार्कका रुपमा विकास गरिनेछ।

यस्तै नगरपालिकाले सिक्री, यलुङलगायत बस्तीमा होमस्टे सञ्चालन गर्ने र ठूलनागी, ठूलोपातलको रामबोले, मालीको  हलेश्वर, जिरेश्वरी लगायत धार्मिक स्थलमा समेत पूर्वाधार विकास गर्न यसअघि नै बजेट विनियोजन गरिसकेको छ।

जिरी बजारले पनि रुप फेर्दैछ
नगरपालिकाले जिरी बजार क्षेत्रलाई समेत व्यवस्थित बनाउन थालेको छ । सडक विभागको लगानीमा बजार क्षेत्रको मुख्य सडक फराकिलो बनाइसकिएको छ । व्यवस्थित सडक पेटीसमेत निर्माण भइसकेको छ।

नगर प्रमुख जिरेलका अनुसार पर्यटकको पहिलो नजर बजार क्षेत्रमा पर्ने भएकाले बजारको सौन्दर्यता बढाउन विशेष जोड दिइनेछ । बजारको सरसफाइ र व्यवस्थापनमा नगरपालिकाले नगरवासीसँगको सहकार्यमा विशेष अभियान सञ्चालन गरिरहेको नगर प्रमुख जिरेलले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०७५ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App