१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भृगुलात

हृदयले हृदयैसँगमा मिली
कुसुमतुल्य दुवै रहुँला फुली
अमरताकन प्राप्त गरिकन
रस भरौं अरुको पनि जीवन

- महाकवि लक्ष्मीप्रसाद देवकोटा
अंग्रेजी भाषा साहित्य विषयमा एमएको परीक्षा सिध्याएर म बिहारको पटना विश्वविद्यालयबाट काठमाडौं फर्केको भोलिपल्टै महाकवि लक्ष्मीप्रसाद देवकोटाको अप्रत्याशित र असामयिक देहान्त काठमाडौंँस्थित पशुपति आर्यघाटमा भएको थियो । २०१६ भदौ २९ गतेको त्यस निष्ठुरी साँझलाई सम्झँदा मेरो छाती अझै भक्कानिएर आउँछ, किनभने हामी युवा लेखकहरू उनको त्यस्तो स्वार्गारोहणले नितान्त टुहुरा भएका थियौँ । आफू अलिक बुझ्ने भएपछि उनलाई उनकै बासस्थान मैतिदेवीमा सशरीर भेटी उनका विषयमा एउटा ग्रन्थ तयार पार्ने मेरो धोको त्यस आकस्मिक देहावसानले चकनाचुर पा¥यो । हो, मेरा साहित्यिक त्रिमू¨तत्व ब्रह्मा, विष्णु र शिवतुल्य थिए र छन् । र, ती तीनै जनाको विषयमा म एकएक ग्रन्थको निर्माण गर्न चाहन्थेँ । तर, परिस्थितिले मलाई पछारिरहेकाले बालकृष्ण समका विषयको ‘सम र समका कृति’ बाहेक मैले न त देवकोटाका बारेमा न कविशिरोमणि लेखनाथ पौडयालकै व्याख्या गरेर एकएक स्वतन्त्र कृतिको रचना गर्न सकेँ।

देवकोटाको निधन भएको लगभग एक वर्षपछि म जनकविकेशरी धर्मराज थापालाई भेट्न उनको त्यति बेलाको डिल्लीबजारस्थित डेरामा जाँदा एउटा ऐतिहासिक, अप्राप्य र अविस्मरणीय चित्र देख्ता अत्यन्त पुलकित भएको थिएँ । त्यस चित्रमा दुई जना आदरणीय व्यक्तित्व औधी प्रसन्न मुद्रामा अंकित थिए । त्यो अमूल्य चित्र जनकवि धर्मराज थापा र महाकवि देवकोटाको थियो । त्यसै चित्रमुन्तिर देवकोटाको आफ्नै हस्ताक्षरमा माथि उद्धृृत कविता लोखएको थियो । आज ठीक ५९ वर्षपछि म त्यस सुन्दर श्लोकलाई स्मरण गर्दै छु र महाकविप्रति असीम श्रद्धा प्रकट गर्दैछु।

उक्त श्लोकले महाकवि देवकोटाको जीवनदर्शनलाई नै छर्लंग पारेको छ । स्रष्टाहरूका बीचमा सहयोगको निस्वार्थ भावना, सहानुभूति र स्नेह हुनुपर्छ र त्यसो भएमा मात्र हरेकले आफ्नो प्रतिमा प्रस्फुटित हुन सक्छ । निरन्तर साधनारत साहित्यक स्रष्टाले आफ्नो हितलाई मात्र प्राथमिकता नदिई समस्त मानवहरूको भलो चितायो भने नै ऊ अमरता प्राप्त गर्न सक्षम हुन्छ भन्ने बलियो धारण देवकोटामा पाइन्छ । अरुहरूको जीवनमा रश भर्ने उद्देश्यले नै साहित्य सेवामा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा हामी सबैका आँखाका नानी नै हुन्, देवता नै हुन्।

यस वर्ष लक्षी पूजाको साँझ तिथि अनुसार र कात्तिक २७ गतेको दिन सूर्यको वरिपरि पृथवीका परिक्रमाको गणनाअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको शुभ जन्मोत्सव पर्छ अर्थात् उनी सशरीर बाँचिरहेका भए उनको एक सय ९ वर्षको उमेरमा टेक्ने थिए । तर, पचासै वर्ष पनि राम्ररी नछिचोली उनले हामीलाई छाडेर जानुभयो । देवकोटाले हामीलाई ‘मुनामदन’को अद्धितीय कोसेली दिए, ‘सुलोचना’ र ‘शाकुन्तला’ जस्ता अविस्मरणीय महाकाव्य दिएर गौरवान्वित तुल्याए । अनि ‘प्रभुजी भेडो बनाऊ’, ‘पागल’, ‘बाघले बच्चा किन खान्छ ? ’ ‘झञ्झावीर’ जस्ता उच्च कोटीको कविता तथा ‘आषढको पन्ध्र’, ‘गधा बुद्धिमानी कि गुरु ?’, ‘कविराजको च्याङ्ग्रै खच्चर’, ‘निन्द्रा ’, ‘के नेपाल सानो छ ?’, ‘मसलाको बोटले के हेर्छ ?’ जस्ता अमूल्य निवन्धले सुसम्पन्न तुल्याए । मलाई कस्तो लाग्छ भने दुष्ट, दुच्छर र दुराचाही समाजले उनलाई जुन भृगुलातले आहत पारेको थियो प्रत्युत्तरस्वरुप उनले आफ्ना अमर कृतिहरु चढाएर नेपाली जातिलाई सुसंस्कृत, सम्पन्न र समृद्ध बनाए।

यहाँ भृगुलातको प्रसंगलाई मैले नयाँ प्रकारले व्याख्या गर्न खोजेको छु । पौराणिक कथा त हामीले सुन्दै नै आएको छौँ : भृगु अर्थात् शुक्राचार्य दुष्ट दैत्यहरूका कुलगुरु थिए । सर्वसाधारण निर्दोष र निमुखा जनतालाई लुट्ने, पिट्ने वा अपहरण गर्ने मात्र होइन बिनाबिच्चमा त्रास फैलाएर बलात्कार र हत्याजस्ता निकृष्ट कर्महरू गरी आतंकित तुल्याउने दैत्यहरूको दोहोलो काढी बिष्णुले तिनलाई ठेगानमा लगाएका थिए । भ्रष्टाचार, अनैतिकता र दुराचारमा संलग्न आतंककारीलाई उचित सजाय दिने सवै जनताका पिता समान पूजनीय विष्णुको सत्कार्यको समर्थन वा प्रशंसा गर्ने त कुरै छाडौं, दैत्यहरूका गुरु रिसले चूर हुँदै लक्ष्मीका काखमा पल्टिरहेका विष्णुको नांगो छातीमा आफ्नो कठोट लात बजार्न पुगें । सबै असहायका पालनकर्ता जनताका पालनकर्ता विष्णु पटक्कै रिसाएनन् उनी त जुरुक्क उठेर भृगुका पाउ स्नेहपूर्वक सुम्सुम्याउन पो पुगे । अहो ऋषिवर ! यो मेरो बज्रकठोर छातीमा हजुरको कमल जस्तो सुकोमल पाउ ठोक्किन पुग्दा हजुरलाई कति पीडा होला ! कतै चोटै लाग्यो कि ?’ विष्णुले हात जोड्दै दानवगुरुलाई तिनका दुष्ट लातको उत्तर दिएका थिए।

विष्णु तुल्य हाम्रा देवकोटाको समस्त जीवनभरि एउटा होइन, दुइटा होइन सहस्र भृगुलातहरू उनका अंग–प्रत्यंगमा बज्रे । उनै देवकोटा हुन्, जसले हाम्रो पहिलो विश्वविद्यालय बनाउने स्थल पैदल हिँडेर खोजी निर्धारण गरेका थिए । प्रज्ञा प्रतिष्ठान स्थापित गर्ने सद्बुद्धि र पे्ररणा पनि उनैबाट प्राप्त भएको हो । प्रज्ञा प्रतिष्ठानका प्रमुख प्राज्ञ उनलाई नै बनाउनुपथ्र्यो । तर, कृतध्न प्रशासनले उनलाई नै एक सामान्य सदस्यका रुपमा लगेर थेच्च्यायो । उनै देवकोटा हुन् जसले सर्वप्रथम अन्र्तराष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको स्तरीय व्याख्या गरेका थिए । युरोपमा गएर ठुल्ठूला सभा र गोष्ठीहरूमा अंग्रेजी भाषामा नेपाली साहित्यको गौरवगाथा गाएर सभ्य समाजलाई चकित पार्ने हाम्रा महान् प्रतिभालाई प्रज्ञा प्रतिष्ठानले भने तीन महिनासम्मको तलव कट्टी गरी सजाय दियो।

रुसबाट अन्तर्राष्ट्रिय साहित्यक गोष्ठीमा नेपालको प्रतिनिधित्व गर्ने निम्तामा देवकोटा त्यहाँ गएर नेपालको सफल र प्रशंसनीय नेतृत्व गरेका थिए । भारत घुम्न गएका उपकुलपतिलाई पर्खेर तिनसँग अनुमति लिएर मात्र जानुपर्ने अनि महाकविलाई त्यस्तो अन्यायपूर्ण र निकृष्ट समाज दिइएको थियो । यस्तो असहाय, अन्यायपूर्ण र निकृष्ट भृगुलात बज्रँदा पनि महात्मा देवकोटा विष्णुतुल्य दयावान्, क्षमावान् र परमार्थी भएर रहे । उनका सहृदयता, सद्भावना र स्नेहबाट सिञ्चित रचनाहरू नेपाली भाषामा धारा प्रभाव रूपले प्रकट भइरहे।

महाकवि देवकोटा हाम्रा विभूति हुन् । यस्ता महान् स्रष्टाको सम्मानपूर्वक स्मरण गर्नु हाम्रो राष्ट्रिय दायित्व हो, गौरवको विषय हो।

प्रकाशित: १७ कार्तिक २०७५ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App