विमोचन भन्ने शब्दको सामान्य अर्थ दासताबाट मुक्ति हो । यसको लक्ष्य कसैले थुनेर, समातेर वा बाँधेर राखेको मान्छे, प्राणी वा कुरालाई खोलेर, फुकालेर वा छोडेर स्वतन्त्र तुल्याउने काम हो । यता केही वर्षदेखि यस शब्दको प्रयोग विशेष अर्थ प्रकट गर्ने रुपमा हुन थालेको छ । यसलाई छापिसकेको पुस्तक कुनै समारोहमा सार्वजनिक रुपले देखाई लौ छापिएर तमतयार छ, पढ्नुहोला भन्ने सूचना दिने वा प्रचार गर्ने अर्थमा लगाइन थालेको छ । विमोचनको यो प्रयोग लगातार वर्षौंसम्म भइरहेकाले र पुस्तक मुद्रित भइसकेपछि कुनै समारोहको आयोजना गरेर त्यसलाई विमोचन गराउने प्रथा व्यापक भइरहेकाले यस्तो कार्यप्रति ध्यान खिचिने नै भयो ।