१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठक सर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर पहिलो साताका लागि तय गरेको महासमिति बैठक सर्ने भएको छ। आवश्यक तयारी नपुगेको जनाउँदै कांग्रेसले महासमिति बैठक कम्तीमा मंसिर अन्तिम साताका लागि सार्ने तयारी गरेको हो।

तिहारअघि बस्ने केन्द्रीय समिति बैठकले मंसिर ५ देखि ९ सम्म काठमाडौं गर्ने तय भएको महासमिति बैठक सार्दै नयाँ मिति घोषणा गर्नेछ। महासमिति बैठकमा पेस गर्ने प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गर्न केही समय लाग्ने र बीचमा तिहारसहितका महत्वपूर्ण पर्व परेकाले बैठक केही साता सर्ने भएको नेताहरुले बताएका छन्।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले तिहार, छठसहितका पर्व बीचमा भएकाले मंसिर पहिलो साता महासमिति बैठक गर्न अप्ठ्यारो भएको बताए। बैठकमा पेस गर्ने राजनीतिक, आर्थिक तथा विधान मस्यादौसहितका प्रस्तावमाथि छलफल गर्न १०/१२ दिन लाग्ने सुनाउँदै सहमहामन्त्री महतले भने, ‘पार्टीका शीर्ष नेताबीच सल्लाह गरेर ५/६ दिन सार्न पनि सकिएला तर अहिलेसम्म यस विषयमा छलफल भएको छैन।’

महाधिवेशन हुने वर्षबाहेक प्रत्यक वर्ष महासमिति बैठक गर्नुपर्ने विधानमा व्यवस्था भएपनि १३औं महाधिवेशनपछि कांग्रेसले एउटा पनि महासमिति बैठक गरेको छैन। २०७२ फागुनमा १३औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले त्यसपछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रो पराजय भोगेको थियो। अब हुने महासमिति बैठकले हारको कारण खोज्ने र आगामी रणनीति तय गर्न महत्वपूर्ण हुने धेरैको बुझाइ छ। त्यसका साथै नयाँ संविधानअनुसार पार्टीको सांगठनिक स्वरुप निर्माण गर्न पनि महासमिति बैठकलाई महत्वका साथ हेरिएको थियो। तर, सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका नेताहरुका आआफ्नो स्वार्थका कारण महासमिति बैठक फागुनसम्म धकेलिन सक्ने नेताहरुको विश्लेषण छ। ‘पार्टी संगठन सुदृढ बनाउन होइन, आफू र आफ्नो गुटको चिन्ता नेताहरुमा देखिएको छ,’ एक नेताले भने, ‘त्यसले महासमिति बैठक लामै समय प्रभावित हुने संकेत देखिन थालेको छ।’

असन्तुष्ट पक्ष निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी सभापति देउवामाथि थुपारेर महासमिति बैठकबाट १४औं महाधिवेशनको वातावरण आफ्नो पक्षमा बनाउन सक्रिय छ। सभापति देउवा उनीहरुको प्रयासलाई असफल पार्दै महासमितिबाट आफूलाई थप शक्तिशाली बनाउने रणनीतिमा छन् । यसैअनुसार बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा सभापति देउवा इतरका प्रभावशाली नेताहरुको भेलाले महासमिति बैठकलाई आफ्नो अनुकूल उपयोग गर्ने निष्कर्ष निकालेको छ। भेलाले महासमिति बैठकमा सभापतिविरोधी समूहको उपस्थिति प्रभावकारी बनाउने र पार्टी अनुशासन समिति, नेपाल विद्यार्थी संघसहितका विषयमा सभापतिसँग कुनै सम्झौता नगर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै सभापति देउवानिकटका नेताहरु पनि महासमिति बैठक, पार्टी विधानसहितका विषयमा धारणा बनाउन छलफलमा बस्ने तयारीमा छन्। ‘उहाँहरु (असन्तुष्ट पक्ष) छलफलमा जुटिरहेका बेला हामी पनि कसरी अघि बढ्ने भन्ने छलफल आवश्यक भएको छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘हामी पनि छिट्टै छलफल गर्छौं।’

महासमिति बैठकबाट पार्टी विधान संशोधनका लागि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा मस्यौदा समिति गठन भएको छ। समितिले यसअघि नै अन्तिम मस्यौदा केन्द्रीय समितिमा पेस गर्ने दाबी गरे पनि अझै महासमिति सदस्यको संख्या, केन्द्रीय समिति र पदाधिकारीको सख्या, बाधा अड्काउ फुकाउ, संसदीय र अनुशासन समिति गठनजस्ता विषयमा सहमति जुट्न सकेको छैन।

महासमिति बैठकको मुख्य विषय नै विधान संशोधन भएको सुनाउँदै असन्तुष्ट पक्षका एक केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्म विधानको टुंगो नलाग्नु भनेको महासमिति बैठक गर्न सभापति तयार हुनुहुन्न भन्ने संकेत हो। उहाँ जसरी हुन्छ, बैठक पर धकेल्ने रणनीतिमा हुनुहुन्छ।’

सभापति देउवानिकटका एक नेताले भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लामो समय देशबाहिर रहेकाले महासमिति बैठक प्रभावित बन्न पुगेको बताए। ‘महासमिति बैठकमा पेस गर्ने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्छ,’ ती नेताले भने, ‘पौडेल र सिटौलाजी तीर्थाटनमा लामो समय बाहिर रहँदा केन्द्रीय समिति बैठक बस्न सकेन। त्यसले गर्दा केही समय अपुग भयो।’

प्रकाशित: १७ कार्तिक २०७५ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App