१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

द्वन्द्वले ओइलाएको थवाङ तंग्रिँदै

रोल्पा– तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्वले २०५२ देखि २०६३ साल सम्म ओइलाएको रोल्पाको थवाङ २०६४ देखि २०७५ सम्म आइपुग्दा निकै तंग्रिएको छ। द्वन्द्वकालमा करिब १० बर्ष माओवादीको एकलौटी राज रहेको थियो। साना ठुला गरी १३ पटकसम्म ठूला–ठूला सुरक्षा अप्रेशन भोगेको थवाङ एक दशक सुनसान जस्तै बन्यो। माओवादी शान्ति प्रक्रियामा आएपछि भने यो ठाउँमा चहल पहल बढेको हो। 

सहिद मार्गले घर्तिगाउँ थवाङ हुँदै रुकुमसम्मको बाटो तय गरेपछि दैनिक साना ठुला दर्जनौ सवारी साधन ओहोर दोहोर गर्छन्। हिजो कुकुर, सुंगुर र बंगुरको आहाराका रुपमा लिइने दिशा शौचालयमा झर्न थालेको छ। धारामा खानेपानी बग्ने गर्दछ। ढुङगा र काठका छाना बिस्थापित हुँदै पक्की वा टिनका छाना फेरिएका छन्। घर, पसल र होटल थपिएका छन्। स्थानीय लघु जलविद्युत मार्फत रातमा पनि गाउँ झलमल्ल हुन्छ।

‘शून्य जस्तै रहेको थवाङ शान्ति प्रक्रिया संगै बजार बिस्तार र चहल पहल बढेको छ। कुनै समय त यहाँ पुरै सुनसान नै थियो। स्थानीय तह निर्वाचन पछि त झनै माहोल फेरिएको छ’, थवाङ ठूलो गाउँका स्थानीय मौसम रोकाले बताए। ‘शान्ति प्रक्रियासंगै खोज र अनुसन्धानका लागि आउनेहरुको संख्या पनि बाक्लिएको छ। पसलहरु, होटल र होमस्टेले पनि चहलपहल थपेको छ। स्थानीय चुनाब पछि त झनै रौनक थपिएको छ।’

थवाङ हुँदै पर्यटकीय क्षेत्र जलजलामा पुग्ने पर्यटकको पनि अचेल राम्रै घुइँचो लाग्छ। शान्ति स्थापना पछि गाउँहरु उज्यालिएकोमा थवाङ घर भएका पूर्व सांसद बर्मन बुढा सन्तोष छन्। ‘वातावरण सहज छ। गाउँमा चहल पहल बढेको छ। यस्तै सहज बाताबरणमा सबैे राम्रो काम गरे हुन्थ्यो।’ बुढा भन्छन्, ‘संविधान सभाले संविधान बनाएको छ। गाउँ गाउँमा निर्वाचित छन्। अब राम्रो हुन्छ कि। असन्तुष्टहरु संग पनि एकता गर्दै देशको बिकास गर्नु पर्छ।’

भर्खरै सम्म एकादेशको कथा जस्तो लाग्ने मोबाइल फोन त हातहातै देखिन्छ भने गाउँमा अहिले इमेल इन्टरनेटको सुबिधाले स्थानीयहरु दंग छन्। ‘स्थानीयलाई मात्र नभएर कार्यालय प्रयोजनमा हामीलाई पनि निकै सजिलो भएको छ। माथिल्लो निकायसंगको समन्वय, सूचना आदान प्रदानमा सहजता थपिएको छ।’ थवाङ गाउँपालिकाका सूचना अधिकारी अधिकार बुढाले बताए। ‘हेर्दा हेर्दै इमेल इन्टरनेटले थवाङलाई पनि संचारसंग जोड्यो।’

राज्य पुनर्संरचनाताका गाउँपालिकाको केन्द्र थवाङ नै हुनुपर्ने माग गर्दै सदरमुकाममा ठुलो आन्दोलन चर्काएका थवाङीहरुले माग पुरा गराएरै छोडेका थिए। त्यहि केन्द्रका कारण अहिले गाउँमा बैङ्क पुगेको छ। अलि पर गयो भने घर्तिगाउँमा इलाका प्रसाशन कार्यालय, नापी र मालपोतको सेवा पनि नजिकै छ। ‘युद्धताका चहलपहल निकै कम थियो। अहिले त रमझम छ। कहिले त हामीलाई भ्याई नभ्याई हुन्छ।’ स्थानीय होमस्टे संचालक रेशमबहादुर शाह भन्छन्।

यहिबीचमा थवाङमा अझै गर्नुपर्ने पनि बाँकी धेरै छ। मानवीय र सामाजिक विकास अत्यन्त पछाडि रहेको यहाँ शिक्षा र स्वास्थ्य अत्यन्त कमजोर छ। एउटा सरकारी हेल्थपोष्ट भवन नै जीर्ण छ, दक्ष जनशक्तिको अभाव सधै रहन्छ। बिद्यालयमा पर्याप्त शिक्षक दरबन्दी छैन्। विद्यालयमा भौतिक संरचना अभाव उत्तिकै छ। बिरामी भए अस्पताल जानुपर्छ भन्ने मान्यताको विकास हुन सकेको छैन भने पढ्नु पर्छ भन्ने भाबना पनि अलि कम छ। बालबिबाह घट्न सकेको छैन्। 

प्रकाशित: १६ कार्तिक २०७५ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App