१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

काठमाडौंको प्लेअफ सम्भावना बलियो, बुटवलकाे लगातार तेस्राे हार

पोखरा प्रिमियर लिग बुटवलविरुद्ध ब्याटिङ गर्दै काठमाडौंका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

समान ६ अंक नै भएको धनगढी ब्लुज ५ खेलबाट ३ मा जित र २ हारका साथ दोस्रो स्थानमा छ। काठमाडौंले अब आफ्नो अन्तिम खेलमा शनिबार पोखरासँग प्रतिस्पर्धा गर्दैछ। यो खेलमा विजयी भए काठमाडौंले प्लेअफमा प्रवेश गर्नेछ। पराजित भएको खण्डमा अन्य टोलीको खेलमा निर्भर हुनुपर्नेछ। तरपनि पराजित भएपनि काठमाडौंको सम्भावना बलियो नै छ।

यता बुटवल ब्लास्टर्सले भने प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ। हारसँगै सोमपाल कामीको बुटवलको प्लेअफ सम्भावना कमजोर बनेको छ। सुरुवातका २ खेलमा जित निकालेको बुटवल त्यसपछि भएका तीन खेलमा भने लगातार पराजित भएको हो। बुटवल ५ खेलबाट ४ अंकसहित तालिकाको पाँचौं स्थानमा पुगेको छ। प्लेअफमा पुग्न बुटवलले पनि अन्य टोलीको खेलमा निर्भर हुनुपर्नेछ।

पोखरा रंगशालामा काठमाडौं रोयल्सले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवल ब्लास्टर्स २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रनमा समेटियो। बुटवलका लागि रोहन मुस्तफाले सर्वाधिक ६१ रन बनाएपनि अन्य खेलाडीको प्रदर्शन सम्झन लायक नबन्दा टोलीलाई जित दिलाउन उनको त्यो रन पर्याप्त भएन।

मुस्तफाले ५१ बलको सामना गर्दै ५ चौंका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै सिद्धान्त लोहनीले १३, भिम सार्कीले १२ र चिराग सुरीले ११ रन बनाए। बुटवलका ७ जना खेलाडीले दोहोरो रनको स्कोर बनाउन नसक्दा टोलीले हार ब्यहोर्न बाध्य भयो।  बुटवललाई १३५ रनमा समेटन काठमाडौंका अमरसिंह रौटेलाले ३, नन्दन यादव र बसन्त रेग्मीले २–२ तथा गौरव तोमारले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएपछि बुटवल ब्लास्टर्सले १७३ रनको लक्ष्य पाएको थियो। काठमाडौंका लागि नरेश बुढाएरले विष्फोटक ब्याटिङ गर्ने क्रममा नटआउट ५८ रन बनाए। २८ बलको सामना गरेका नरेशले ३ चौंका र ५ छक्का प्रहार गरे।

ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्सवालाले ४५ रनको योगदान दिए। ३५ बलको सामना गरेका कोल्सवालाले ३ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा नटआउट २५, पवन सर्राफले २२ बलमा २२ र गौरव तोमारले १३ बलमा ११ रनको योगदान दिए। बुटवलका लागि विपिन खत्रीले २ तथा रोहन मुस्तफा र सम्साद शेखले एक–एक विकेट लिए।

प्रकाशित: १६ कार्तिक २०७५ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App