१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तरलता अभाव छैन : अर्थमन्त्री

फाइल तस्बिर

विराटनगर - अर्थमन्त्री  डा. युवराज खतिवडाले तरलता अभाव नरहेको दाबी गरेका छन्। शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले तरलता अभाव नरहेको दाबी गरेका हुन्। चाडवाडका कारण केहि समय दबाब परे पनि यस्तो अवस्था धेरै दिन नरहने उनले स्पष्ट पारे।

विकास बजेट खर्च हुने क्रम सुरू भइसकेको र स्थानीय तहलाई वितरण गरिएको रकम बैंकिङ कारोबारमा आउने व्यवस्था गरिएकाले तरलता अभाव हुने सम्भावना पनि नरहेको उनको भनाई छ। मोरङ व्यापार संघको ६३ औं साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक द्वन्द्वको स्थिति रहेको भन्दै आर्थिक द्वन्द्व व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। बैंकको व्याजका विषयमा कृतिम प्रोपागाण्डा गरी कसैले व्याज बढी लिने प्रयास गरे सरकारले व्यवस्थित गर्ने उनले स्पष्ट पारे।

सरकारले भूमि तथा पूँजीमा पहुँच पुर्याउन प्राविधिक जनशक्ती तयार पार्न उद्यमशिलता बढाउने नीतिगत व्यवस्था गर्न लागेको उनले जानकारी दिए। उत्पादन बढाउन र निर्यात घटाउन सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखि योजना तथा कार्यक्रमहरू तयार पारेको उनले बताए। केहि वस्तुहरूमा देशलाई आत्मनिर्भर बनाउन नीजि क्षेत्रलाई सरकारले सीमित संरक्षण दिने भए पनि विश्वकै सस्तो बनाउन चाहिं नदिने स्पष्ट पारे। खतिवडाले संरक्षण पाएको उद्योगले एकाधिकार रुपमा मूल्य बढाउने र उपभोक्तालाई मर्कामा पार्न भने नपाउने बताए।‘संरक्षण दिएको उद्योगले एकाधिकारका रुपमा मूल्य बढाए दिएको संरक्षण सरकारले  खारेज गर्ने छ’ खतिवडाले भने। 

कपडा उद्योगीहरूलाई लक्षित गर्दै खतिवडाले भ्याट फिर्ता दिने परिपाटी अन्त्य भइसकेकाले त्यसलाई फर्काउन नसकिने स्पष्ट पारे। ‘सरकारले भ्याट छुटको खेति अन्त्य गरिसकेको छ’ उनले भने ‘उत्पादनमै उद्योगीलाई सहयोग गर्ने योजना सरकारले अघि सारेको छ।’

उद्योग व्यवसायसँग सम्बन्धित एक दर्जन कानुन सरकारले निर्माण गरिरहेको खतिवडाले जानकारी दिए। विराटनगरले बारम्बार उठाउँदै आएका विषयहरू विशेष आर्थिक क्षेत्र, विराटनग विमानस्थल विस्तार, कटहरी—इटहरी रेलमार्ग, पूर्व पश्चिम रेलमार्ग निर्माणमा सरकारले ध्यान केन्द्रीत गरेको अर्थमन्त्री खतिवडाले बताए।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री  इन्द्रबहादुर आङ्वोले  प्रदेशको आर्थिक राजधानीका रुपमा रहेको विराटनगरलाई नै प्रदेशको राजधानी बनाउने तयारी भइरहेको जानकारी दिए। उनले सहमतिमै विराटनगर प्रदेशको राजधानी हुने दाबी समेत गरे।

प्रकाशित: १६ कार्तिक २०७५ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App