१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागूऔषध दुर्व्यसनीकाे संख्या बढ्दै

प्रहरीले बिभिन्न समयमा सिरहाको बिभिन्न नाकाबाट बरामद गरेको लागूऔषध । तस्बिरः नागरिक

लहान – पहिला सहरका युवाहरू लागूऔषधको लतमा फसेको सुन्थे। अहिले गाउँका युवाहरू लागूऔषधको दलदलमा फसेको देख्दै छु। गाउँदेखि सहरसम्म सञ्जाल फैलाउँदै गएको लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न नसके समाज नशाको दलदलमा फस्ने निश्चित छ। जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनमा भएको सुरक्षा सम्बन्धि एक कार्यक्रममा स्थानीय सरकार प्रमुखले व्यतm गरेको चिन्ता हो यो।

जिल्लाका दुर्गमदेखि सहरसम्मका युवाहरू लागु औषधको लतमा फस्दै गएपछि नियन्त्रणका लागि स्थानीय सरकार प्रमुखहरूले जिल्ला सुरक्षा प्रमुखहरुलाई गुहारेका छन्। गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले भने,‘लगूऔषधको फैलदो सञ्जाल नियन्त्रण गर्न नसकिए बस्तीहरू लागूऔषध दुर्व्यसनीले भरिने छन्।’

कल्याणपुर नगरपालिकाका प्रमुख शुर्यनाथ मण्डलले भने,‘गाउँबस्तीमा बेरोजगार बसेका अधिकत्तर युवाहरू लागूऔषध दुर्व्यसनीमा फसेका छन्, फस्दै छन्। अहिले गाउँबस्तीका युवालाई लागूऔषधले छपक्कै छोपेको छ। सीमादेखि समाजसम्म नियन्त्रणको आवश्यकता छ उनले भने,‘चेतनासँगै नियन्त्रणमा कडाई अपनाउनुपर्छ।’

पछिल्लो समय फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै लागूऔषधको कारोबार फस्टाएको छ। कारोबार फस्टाएसँग दुर्व्यसनीको संख्या पनि बढ्दै गएको छ। कारोबारीले ठाढी, बरियारपट्टी, माडर नाकालाई लागूऔषध भित्र्याउने प्वाइन्ट बनाएका छन्। सीमापारी भारतीय सहरका औषधी पसलबाट खरिद गरी ल्याउने लागूऔषध सीमामा तैनाथ सुरक्षाकर्मीसँग मिलेमतो गरी भित्र्याउने गरेको सीमावर्ती क्षेत्रका स्थानीयहरू बताउँछन्। 

‘क्यास कारोबार’ हुने भएकाले यसको सञ्जाल संगठित रुपमै फैलदै गएको सुरक्षा अधिकारीहरू बताउँछन्। दुर्व्यसनीको संख्या बढेसँगै लागुऔषधको कारोबार पनि बढ्दै गएको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) जीवन श्रेष्ठ भन्छन, प्रहरी एक्लैको प्रयासले लागूऔषधको जग भत्काउन चुनौती छ। स्थानीय सरकारको सहयोगमा हामी लागूऔषध नियन्त्रण कार्यलाई प्रभावकारी तवरले अघि बढाउने योजना बनाउँदै छौं, उनले भने।

पछिल्लो समय उदयपुरको कटारी, गाइघाटदेखि ओखलढुंगासम्मका लागूऔषध दुर्व्यसनीहरू लागूऔषध सेवन गर्न सीमापारीको बजारसम्म धाउन थालेको प्रहरी रेकर्डबाट देखिन्छ। उनीहरू बन्दिपुरको कमला बाँध हुँदै भारतको सीमावर्ती जयनगर, चोहर्वा–सिरहा–माड्र हुँदै भारतको सीमावर्ती जयनगर, लहान–भगवानपुर–ठाढी हुँदै भारतको सीमावर्ती लौकाहा, जिरोमाइल–सुखिपुर–बरियारपट्टी हुँदै भारतको सीमावर्ती लदनीया बजार पुगेर लागूऔषध सेवन गर्ने र बोकेर ल्याउने गरेको पाइएको छ।

अहिले पूर्वपश्चिम राजमार्गदेखि सीमासम्मको सडक पहुँच पुगिसकेकोले पनि उनीहरूलाई भारतीय बजार पस्न सुगम भएको छ। सीमा र राजमार्ग सडक सञ्जालले जोडिएदेखि अटो रिक्सानै रिजर्भ गरेरसमेत दुर्व्यसनीहरू सीमापारि पुग्ने गरेको पाइएको छ।

मोटरसाइकल र सार्वजनिक सवारीमा भारतीय बजार पुग्नेको संख्या पनि उल्लेख्य देखिन्छ। छिमेकी मुलुकका बजारमा बढ्दै गएका पहाडी मूलका केटाहरू देखेपछि जो कोहीले उनीहरू दुर्व्यसनी भएको सहजै पहिचान गर्छन् सीमावर्ती बजार लौकाहाका व्यपारी शंकर गुप्ताले भने।

गुप्ताका अनुसार १५ देखि २५ वर्ष उमेर समूहका ती युवाहरूले यहाँको बजारमा कुनै उपभोग्य सामान किनेका हुँदैनन्। वारीका उपभोक्ता (नेपाली) मुख्यतः दैनिक उपभोग्य सामान खरिद गर्नका लागि भारतीय बजार पस्छन्। तर ती युवाहरू भने रित्तै हात पारी  पस्छन् र रित्तै हात वारी फर्केको देखिन्छ, सीमावर्ती ठाढी बजारका शम्भु साहले भने।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App