१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

उपत्यकाका खाल्डा पुराइ झारा टार्ने खालको

काठमाडौं उपत्यकाका सडकका खाल्डाले धेरैपल्ट दुर्घटना निम्त्याइसकेको छ । सरकारी निकायको लापरवाहीको हदका कारण सर्वसाधारणले अनायासै ज्यान गुमाएका छन् । पैदलयात्रु र सवारी चालकको ज्यान गएपछि ती विषय केही दिन चर्चामा आउँछन् । त्यसमा सरकारी निकायले केही चासो देखाएजस्तै गर्छन् । कतै–कतै काम भइरहेको जस्तो पनि देखिन्छ । तर, केही दिनमै सेलाउँछ सरकारी काम । पछिल्लो पटक यस्तै भयो, काठमाडौं उपत्यकाका खाल्डा पुर्ने कार्यमा पनि । सडकमा रहेका खाल्डा झारा टार्ने किसिमले पुरिएको पाइएको छ । जसका कारण पुरिएका खाल्डा पुनः खाल्डामा परिणत भएका छन्।

उपत्यकामा सडक बनाउने, ढल निर्माण गर्ने, खानेपानीका पाइप ओछ्याउने नाममा सडक डोजरले उधिनेर बडेमानका खाल्डा पारिन्छ । एक–दुई दिनमै खनेर व्यवस्थित गर्न सकिने खाल्डा सरकारी निकायका कर्मचारीले महिनौसम्म पुर्दैनन् । जसका कारण पैदलयात्रु र सवारी चालक खाल्डामा जाकिन्छन्।

सडकमा रहेका खाल्डा झारा टार्ने किसिमले पुरिएको पाइएको छ । जसका कारण पुरिएका खाल्डा पुनः खाल्डामा परिणत भएका छन्।

सरकारी निकायको खेलाँचीका कारण सर्वसाधारण सास्ती खेप्नुपरेको खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले बताए । उनले सरकारी निकायबीच समन्वय अभाव र झारा टार्ने हिसावले काम गर्दा खाल्डाको समस्या बल्झिरहने बताए । ‘उपत्यकाको सबैभन्दा बढी जोखिम अहिले खाल्डा नै बनेको छ, यसमा सरकारी निकाय अझ जिम्मेवार देखिनुपर्ने हो,’ उनले भने।

यसै साता सडक विभाग र अन्य निकायले खनेका बाटाका विभिन्न खाल्डामा परेर यात्रुहरूको ज्यानै गयो । कात्तिक ९ गते कीर्तिपुर–बल्खु सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मूल सडकमै खाल्डो खनेर छाडेको खाल्डोमा परि विश्व साइकल यात्री श्यामसुन्दर श्रेष्ठले ज्यान गुमाएका थिए । उनको ज्यान गएपछि खाल्डाखुल्डीले सदनदेखि सडकसम्म चर्चा चल्यो । दुर्घटना निम्त्याएको ठाउँका खाल्डा भोलिपल्ट पुरियो । पुरिएका खाल्डा फेरि धराप हुने देखिन्छ । यसको जवलन्त उहादरण हो, चावहिल चोक नजिकै ओरालो सडक । सो सडक बीचमा रहेको खाल्डो यात्रुका लागि धराप बन्ने देखिन्छन । त्यहाँ ढलमाथिको ढकन धसिएको छ।

गत वर्ष साउन १ गते पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न थालिएको थियो । तर, त्यतिबेला पनि झारा टार्ने काम गरिएको थियो।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपत्यकाका जोखिमपूर्ण खाल्डा पुर्न सरकारी निकायलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनमा ५५ प्रतिशत मात्रै खाल्डा पुरिए । जोखिमपूर्ण खाल्डा भने पाको तवरले पुरिएका छैनन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता सुरेश आचार्यले ढल निर्माणका क्रममा खनिएका अधिकांश खाल्डा पुरिएको दाबी गरे । ‘पुर्न बाँकी रहेका धेरैजसो ठूला खाल्डामा कामपछि ढकन लगाइसकेका छौं,’ उनले भने, ‘निर्माण भइरहेको ठाउँमा पैदलयात्रु र चालकले होस पु¥याएर ओहोर–दोहोर गर्नुपर्छ।’

सडकका खाल्डा पुर्न काठमाडौं महानगरभित्र उपभोक्ता समिति बनेका छन् । ती समितिले ढल निर्माण र सडक बने नबनेको निगरानी राख्नेछन् । महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको काम खाल्डा नपर्नुे रहेको बताए । ‘जुन निकाय हो, त्यही निकायले आफ्नो जिम्मेवारी निभाउनुपर्छ । तर, हाम्रोमा समन्वयमा काम गर्ने प्रवृत्ति नै भएन,’ उनले भने।  

उपत्यकाका मुख्य सडक कलंकी–थानकोट, चाबहिल–जोरपाटी–बौद्धमा पनि जोखिमपूर्ण खाल्डा छन् । त्यस्तै, कोटेश्वर–कलंकी सडकअन्तर्गत सातदोबाटो खण्डमा ड्रेनको ढकनी फुटेको छ । फुटपाथका स्ल्याब फुटेका छन् । बालकुमारी–ग्वार्को, बल्खु, किर्तिपुर, मंगलबजार–पुल्चोक, पाटनढोका–मंगलबजारलगायत उपत्यकाका धेरै ठाउँमा खाल्डा छन् । यीमध्ये केही खाल्डा पुरिए पनि फेरि खाल्डामै परिणत हुने देखिन्छ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बजेट अभावले सबैजसो सडक टाल्न नसकेको बताए । उनले जोखिमपूर्ण र मुख्य सडकमा चासो दिएर काम भइरहेको जानकारी दिए । ‘विभागले धेरै ठाउँमा काम गरिरहेको छ, सबै ठाउँमा मुख्य जोखिम हेरेर नै काम भइरहेको छ,’ उनले भने।

प्रकाशित: १६ कार्तिक २०७५ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App