१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘चाडवाडमा चामल छैन’

गोरखा- उत्तरी गोरखाको डिपोमा चार महिनादेखि चामल ढुवानी हुन सकेको छैन्। खाद्य संस्थान गोरखाले ढुवानी गर्न नसक्दा तिब्बतसँग सिमाना जोडिएको दुर्गम गाउँका सर्वसाधारणले दशैँ तिहार जस्तो ठूला चाडबाडमा चामल किन्न पनि पाएनन्। 

‘सिर्दिबास डिपोमा चामल सकिएको छ’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप गिरीले भने ‘यो वर्ष संस्थानले यहाँ चामल ल्याएको छैन।’ स्थानीय बजारमा चामलको माग रहेको तर संस्थानको चामल नपुग्दा बजारको खरिद गर्नु परेको उनले बताए। संस्थानको भन्दा बजारको प्रतिकिलो पाँच रुपैयाँ देखि ठाउँ अनुसार १० रुपैयाँसम्म महँगो पर्न जान्छ।

खाद्य संस्थान गोरखाका प्रमुख नबिन बस्नेतले चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा चामल नभएको स्विकार गरे। ‘यो वर्ष चामल ढुवानी गर्न सकेका छैनौँ, खाद्य संस्थानको केन्द्रिय कार्यालयले ठेक्का समयमै स्विकृत नगर्दा समस्या भएको हो’ उनले भने। माछाखोलामा भने संस्थानले थोरै गरी बितरण गरेकाले अझै सात सय क्विन्टल बाँकी छ। ‘माछाखोलामा अझै केही बाँकी छ, त्यहाँ पनि केही समय ढुवानी गर्न सकिएन भने सकिन्छ।’ संस्थानले तिहार लगत्तै ढुवानी गर्ने उनले बताए।

संस्थानको सदरमुकाम रहेको स्टोरमा एघार सय ५० क्विन्टल चामल छ। चालु वर्ष सुरु भए लगत्तै संस्थानले ढुवानी प्रक्रिया थालेको थियो। ढुवानी ज्याला धेरै भएको भन्दै केन्द्रिय कार्यालयले स्विकृत गरेन। दोस्रो पटक पुन ठेक्का भएपछि अहिले प्रगती निर्माण सेवालाई ढुवानी ठेक्का परेको छ। ‘केन्द्रबाटै ढिलो ठेक्का स्वीकृत हुँदा पठाउन नसकिएको हो, अब एक साता भित्रै ठेकेदारलाई बोलाएर सम्झौता गरी ढुवानी गछौँ।’ सिर्दिबास डिपोमा खाद्यान्न लैजान सदरमुकामदेखि सात दिन र माछाखोलामा तीन दिन कम्तीमा लाग्छ। उत्तरी गोरखाको स्थानीय बजारमा खच्चडबाट ढुवानी गरेर लगिएको चामल महँगो पर्ने हुँदा सबै स्थानीयले खरिद गर्न सक्दैनन्। उत्तरी गोरखाको डिपोमा चामल नभएका बेला ब्यापारीले भाउ बढाउने गर्छन्। 

संस्थानले अहिले चामल ढुवानी गर्न नसक्दा महँगोमा सर्वसाधारणले खरिद गर्नु परेको चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले बताए। ‘संस्थानले चामल अभाव हुन नदिन अड्कलेर बाँड्ने गरेको छ’ उनले भने ‘माग अनुसार पुरा गर्न सकेको छैन।’  सोना मन्सुली चामल सिर्दिबासमा प्रतिकिलो ४८ र माछाखोलामा र ४५ रुपैयाँ पर्छ। गोरखा सदरमुकाम स्थित संस्थानले अहिले कारागार शाखा गोरखा र उत्तरी गोरखाका दुईवटा डिपोमा मात्रै खाद्यान्न ढुवानी गर्छ। पहिले अन्य ठाउँमा रहेको डिपो सडक सुविधा सहजै ती गाउँमा पुगेसँगै बिस्थापित भएको हो। अहिले उत्तरी गोरखामा पनि सडकको पहुँच बिस्तार भईरहेकाले केही वर्षपछि त्यहाँ पनि खाद्यान्न ढुवानी घट्ने अनुमान संस्थानका कर्मचारीको छ। खाद्यान्न ढुवानी हुने डिपोबाट सामागाउँ, बिही, ल्हो, प्रोक, केरौँजा, चुम्चेत, सिर्दीबास का स्थानीयले उपभोग गर्न पाउँछन्। ती ठाउँहरुमा धान खेती हुँदैन। त्यहाँको मूख्य बाली आलु, गहुँ, जौ हो। उच्च हिमाली भेगमा पर्ने यी साविकका गाविसका सर्वसाधारणलाई खाद्यान्न सहजै उपलब्ध गराउने सरकारी योजना कर्मचारी र ढुवानी गर्ने निर्माण कम्पनी, संस्थानबीच तालमेल नमिल्दा प्रभावकारी बन्न सकेको छैन्।

खाद्य संस्थानले २०३१ सालदेखि उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबास डिपोमा खाद्यान्न ढुवानी गर्दै आएको हो। गत वर्ष भने माछाखोला सम्म नेपाली सेनाले कच्ची सडकको ट्रयाक खोलेकाले ढुवानीमा सजिलो भएको प्रगती निर्माण सेवाका संचालक धनकुमार गुरुङ बताउँछन् । गत वर्ष समयमै ठेक्का स्विकृत भएर छिटो ढुवानी भएकाले पनि पनि सहज भएको उनले बताए । 

गोरखा स्थित खाद्य संस्थानको कार्यालय । तस्विर ः नागरिक

प्रकाशित: १५ कार्तिक २०७५ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App