१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

होन्डुरसको मानव लस्कर अमेरिकातिर जानुको अन्तर्कथा

जो पीसी

आफ्नो दयनीय जीवनबाट मुक्त हुने अभिलाषा बोकी अमेरिकातिर अघि बढिरहेका हजारौँ हजार होन्डुरियाली आप्रवासी मानवलस्करका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति आगोको घुट्को समान भएको छ।

गएको सोमबार (असोज २९ गते) ट्रम्पले ती आप्रवासीहरूको लस्कर रोक्न नसके अमेरिका पुग्न छिचोल्दै आउ“दै गरेका देशहरू होन्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र मेक्सिकोविरुद्ध नाकाबन्दी लगाउने धम्की दिए । उनले ती आप्रवासी जनतालाई ‘अपराधी’को संज्ञासमेत दिन भ्याए । होन्डुरियाली जनताले लामो यात्रा थालेयता उनीहरूले सामना गरेको यो सबभन्दा निर्मम आरोप हो।

गएको साताबाट सुरु (यो लेख २३ अक्टोबरमा प्रकाशित भएको हो) होन्डुरियाली आप्रवासीको लस्करमा झन्डै सात हजार मानिस सहभागी छन् । उनीहरू यो यात्रामा निस्कनुमा सबैका आ–आफ्ना कथा छन् । तर उनीहरूमध्ये अधिकांश होन्डुरसमा सम्मानित जीवन अवस्था नभएको भन्दै यो यात्रामा निस्केका हुन् । होन्डुरसमा शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा सबै मानिसको पहुुँच छैन । हिंसा दैनिक जीवनको पाटो बन्ने गरेको छ । पछिल्लो दशकमा भएको सत्ता कब्जापश्चात् ज्वान ओर्लान्डो हर्नान्देज (जेओएच) को तानाशाही र अवैधानिक पुनः निर्वाचनले होन्डुरसको अवस्था थप जर्जर बनाएको छ । धेरैको भनाइ छ, हजारौँ होन्डुरियालीहरू अमेरिकातिर कुनै ‘अमेरिकी सपना’को खोजीमा निस्केका होइनन्, बरू होन्डुरियाली दुस्वप्नबाट जोगिन यो यात्रामा हिँडेका हुन्।

होन्डुरसले सामना गरिरहेको अत्यन्त खराब अवस्थाबारे ‘इट्स बेटर गाे’ ह्यासट्याग निकै लोकप्रिय बनेको छ । होन्डुरियाली जनताको यो लस्करप्रति संसारभरिबाट ऐक्यबद्धताको वर्षा भइरहेको छ । ग्वाटेमाला र मेक्सिकोमा मानवलस्करको मार्गमा परेका स्थानीय समुदाय र बासिन्दाले हजारौँ होन्डुरियालीहरूलाई खाना, पानीलगायतका आधारभूत आवश्यकताका वस्तु र सेवा दिएर सहयोग गरे।

तर सरकारको प्रतिक्रिया भने धम्कीपूर्ण रह्यो । अमेरिका, ग्वाटेमाला र होन्डुरसका सरकारी अधिकारीहरूले आप्रवासी जनतालाई दबाउने र कदाचित अमेरिका पुगिहाले पनि फिर्ता पठाउने चेतावनी दिएका छन् । होन्डुरस–ग्वाटेमाला र ग्वाटेमाला–मेक्सिको सिमानामा मानवलस्करले अश्रुग्यास र लठ्ठीको सामान गर्नुपर्यो ।

डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटरमार्फत पटकपटक ती तीन देशमाथि सहायता रोक्ने धम्की दोहोर्याइरहे । उनले मानव लस्कर ‘अपराधी’ र ‘अज्ञात मध्यपूर्वीयहरू’ले भरिएको समेत बोलिरहे । उनले यो परिस्थितिलाई अमेरिकाको राष्ट्रिय संकटकालीन अवस्थाका रूपमा प्रस्तुत गरे । ट्रम्पले सिमानामा तैनाथ सेनालाई सजग रहन आग्रह गर्नुका साथै दक्षिणको सिमाना बन्द गर्न अमेरिकी सेनासमेत परिचालन गर्नसक्ने बताए । मेक्सिको–ग्वाटेमाला सिमानामा आप्रवासी जनता दबाउन दंगा प्रहरी तैनाथ गरेको भिडियो ‘रिट्वीट’ गरी उनले मेक्सिको सरकारप्रति आभार व्यक्त गरे । होन्डुरियाली मानवलस्करलाई ट्रम्पले डेमोक्रेटिक पार्टीको आप्रवासी नीतिको परिणामका रूपमा समेत व्याख्या गरे । आगामी नोभेम्बर महिनामा तय भएको मध्यावधी निर्वाचनमा डेमोक्रेटिक पार्टीप्रति नकारात्मक धारणा फैलाउने प्रयासस्वरूप उनले त्यस्तो बोलेका थिए।

यी सबै प्रश्नको थुप्रोमा कतै थिचिएको प्रश्न हो किन होन्डुरियाली जनता आफ्नो देश छोडेर यसरी लावालस्कर बनाएर हिँडिरहेका छन् ? सन् २००९ मा होन्डुरसमा भएको सत्ताविप्लवबाट सत्ताच्युत बन्न पुगेका मानुएल जेलायाको निर्देशनमा होन्डुरियाली स्वतन्त्रता र पुनःनिर्माण पार्टीले अमेरिकी अधिकारीहरूका अभिव्यक्तिको प्रतिक्रियामा एउटा वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ, “डोनाल्ड ट्रम्पसहित तिमीहरू सबैले २०१७ नोेभेम्बरमा भएको निर्वाचनमा ठूलो धाँधली गर्यौ । त्यसको विरोधमा भएका प्रदर्शनमाथि चर्को दमन भयो । फरक मत राख्ने धेरैको हत्या गरियो । बाँकी विपक्षलाई राजनीतिक बन्दीका रूपमा कारागारमा कोचियो । ज्वान ओर्लान्डो हर्नान्देज आफैँ राज्यको लुटपाटका लागि जिम्मेवार भएको, होन्डुरियाली अर्थतन्त्रको दुरावस्था, हिंसा, असुरक्षा र दण्डहीनताका लागि उनी जिम्मेवार रहेको यथार्थबोधबीच यी सबै घटना भएका थिए । होन्डुरसका हाम्रा देशवासी र महिला सबै देश छोडेर जानुपर्नाको मूल संकटको जरा यही भएकोमा कुनै सन्देह छैन।”

होन्डुरसको अवस्था
होन्डुरस ल्याटिन अमेरिकाको सबभन्दा गरीब देश हो । त्यहाँका ६५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बा“च्छन् । तीमध्ये पनि ४० प्रतिशत जनसङ्ख्या चरम गरिबीको अवस्थामा आफ्नो जीवन सङ्घर्ष अघि बढाइरहेका छन् । होन्डुरस ल्याटिन अमेरिकी क्षेत्रकै दोस्रो सबभन्दा बढी असमानता भएको देश पनि हो।

होन्डुरसको स्थापना भएयता अधिकांश समय त्यहा“ अनुदारवादी सरकारहरूले शासन गरेका छन् । ती सरकारहरू मूलतः अमेरिका र उसका साम्राज्यवादी स्वार्थका मतियार हुने गरेका छन् । ल्याटिन अमेरिकी क्षेत्रमा अमेरिकाको सबभन्दा ठूलो सैनिक आधार पाल्मेरोला होन्डुरसमै छ । ल्याटिन अमेरिकामा अमेरिका विरोधीमाथि दमन गर्न यो सैनिक आधार रणनीतिक आधारबिन्दु हुने गरेको छ । उदाहरणका लागि, सन् १९८० को दशकमा ग्वाटेमाला, एल साल्भाडोर र निकारागुआमा वामपन्थी गुरिल्ला सङ्घर्ष उत्कर्षमा पुगेको समयमा ती विद्रोह दबाउन होन्डुरियाली भूमिबाटै प्रतिक्रान्तिकारी शक्ति वा कारबाहीको समन्वय गरिएको थियो । आज पनि होन्डुरस ठूलो मात्रामा सैनिकीकृत देश हो । होन्डुरसभित्रै कुनै आन्तरिक सशस्त्र द्वन्द्वको समस्या नभएका कारण त्यहाँका सेना र सशस्त्र प्रहरीलाई विभिन्न देशमा परिचालन गरिनुका साथै रणनीतिक महत्वका आर्थिक क्षेत्रमा केन्द्रित गरिँदै आएको छ।

आर्थिक रूपमा पनि होन्डुरस अमेरिकी साम्राज्यवादका लागि निकै महत्व राख्ने देश बन्दै आएको छ । ऐतिहासिक रूपमा होन्डुरसले बहुराष्ट्रिय कम्पनीहरूलाई भूमि र सस्तो ज्यामी आपूर्ति गर्दै आएको थियो । उदाहरणका लागि अमेरिकाको युनाइटेड फ्रुट कम्पनी (आजभोलिको चिक्युइटा बनानाज) बीसौँ शताब्दीको सुरुदेखि नै होन्डुरसमा काम गर्दै आएको छ । होन्डुरसका मजदुरलाई कम ज्यालामा निकै दयनीय अवस्थामा काम गराएर कम्पनीले नाफा कमाउने गरेको छ । त्यसैको प्रतिक्रियास्वरूप सन् १९५४ मा जीवनयापनको राम्रो बन्दोबस्त, ज्याला र श्रम ऐनको बन्दोबस्त लगायतका माग राखी हजारौँ मजदुरहरूले हड्ताल गरेका थिए।

सन् २००९ को सत्ता विप्लवयता खानी, ऊर्जा र नगदेबालीसम्बन्धी बहुराष्ट्रिय कम्पनीहरूलाई दिइँदै आएको छुट तथा अनुदानमा उल्लेख्य वृद्धि गरिएको छ । यी परियोजनाका कारण पानी र वातावरणमा भएको प्रदूषणका कारण स्थानीय जनताको बासस्थान उठाउनेदेखि लिएर अन्य प्रभाव पनि परेका छन् । राज्यको तर्फबाट जनतालाई निकै थोरै सहयोग हु“दै आएको र उच्च बेरोजगारी दर भएको देशमा खानेपानीमा जनताको पहुँच र आफ्नै खेतमा काम गर्नसक्ने जनताको क्षमतामा निकै नकारात्मक असर परेको छ । प्राकृतिक विनाशकारी ती परियोजनाको चर्को विरोध भएको थियो । तर ती विरोधमाथि निर्मम दमन गरियो।

बेर्टा कासेरेसको हत्या र उनले नेतृत्व गरेको होन्डुरियाली आदिवासी जननागरिक परिषद् (कोपिन्ह्) माथिको दमन यस्तै चरम दमनका उदाहरण हुन् । सन् २००९ को सत्ताविप्लवमा बेर्टा र कोपिन्ह्को महत्वपूर्ण भूमिका थियो । बेर्टा र उनको सोही अभियानले आदिवासी लेन्काक समुदायको भूमिमाथि ती बृहत् परियोजना थोपरिनुमा सन् २००९ को सत्ताविप्लवको प्रत्यक्षतः कस्तो हात रह्यो भन्ने कुरा सबभन्दा पहिलोपटक प्रस्ट बनाएको थियो । कोपिन्ह्ले रिओ ब्लाको समुदायको साथ लागेर विरोध गरिरहेको अग्वा जार्का बाँध परियोजनालाई सन् २००९ को सत्ता विप्लवपश्चात् छोटो समयभित्रै अनुमतिपत्र र अनुदान दिइएको थियो।

सन् २०१७ को विश्वव्यापी पर्यवेक्षणले होन्डुरस संसारमा वातावरण संरक्षणवादीका निम्ति सबभन्दा डरलाग्दो देश भएको देखाएको थियो । सन् २०१० यता नदी, जंगल र भूमि संरक्षण गर्ने प्रयासका क्रममा कम्तीमा १२० जना होन्डुरियाली संरक्षणवादीहरूको हत्या भएको थियो।

होन्डुरस संगठित अपराधको डफ्फा ‘मारास’ (गुण्डादल) को आक्रामकताका कारण उच्च अपराध दरका लागि कुख्यात देश पनि हो । ती सङ्गठित अपराधका डफ्फा उच्च पदस्थ प्रहरी र सरकारी अधिकारीहरूको नियन्त्रणमा हुने गर्छन् । भूमि र लागुपदार्थमाथि आफ्नो नियन्त्रण कायम राख्न हुने लडाइँमा होन्डुरियाली युवालाई हतियारका रूपमा उनीहरूले प्रयोग गर्ने गरेका छन् । अवसरको अभावमा धेरै होन्डुरियाली युवाहरू मारासमा संलग्न हुन बाध्य हुने गरेका छन् । धेरैजसो अवस्थामा युवाहरूलाई ती गुण्डादलमा लाग्न विवश बनाइन्छ । सामान्यतः मारासले आफ्नो आदेश नमान्ने वा आफ्नो दल छोड्न खोज्नेलाई मार्ने नीति अँगालेको हुन्छ । त्यसकारण पनि धेरै मानिस होन्डुरस छोडिरहेका छन्।

प्रणालीगत भ्रष्टाचार, भयावह स्वास्थ्य प्रणाली र सरकारी लगानी अत्यन्त न्यून रहेको शिक्षा क्षेत्र नै होन्डुरसका बहुमत जनताको जीवनलाई अनिश्चित बनाउने प्रमुख कारण हुन् । होन्डुरसमा आजसम्म शासन चलाएका अनुदारवादी सरकारहरू र अमेरिका नै यस्ता नीतिका लागि जिम्मेवार छन् । होन्डुरसको अर्थतन्त्र, राजनीति र सैनिक क्षेत्रमा अमेरिकाको प्रभाव बलियो हुँदैआएको छ । सन् २००९ को सत्ताविप्लव र प्रजातन्त्रको हत्यापश्चात् विदेशी कम्पनीलाई होन्डुरससँग भएका स्रोत बिक्री गर्ने, विदेशी पुँजीका परियोजनाको रक्षा गर्न होन्डुरसमा अझ बलियो सैनिक सुरक्षा बनाउने र शिक्षा–स्वास्थ्य क्षेत्रमा सरकारले लगानी गर्दै आएको बजेट अन्यत्र मोडेर देशका शासकवर्गको खल्ती भर्ने काम हुँदै आएको छ।

आगामी केही दिनमा अमेरिकातिर लस्कर बनाएर हिँडिरहेका हजारौँ होन्डुरियाली जनताले अझ थप कठिनाइको सामना गर्नुपर्नेछ । होन्डुरियाली आप्रवासी जनताको यो दुरावस्था अमेरिकाको विरोधाभासी नीतिको सबभन्दा उपयुक्त उदाहरण हो । उसको यस्तै नीतिका कारण धेरै देशका जनताको जीवन यस्तै भयावह बन्दै गएको छ । तर विडम्बना ! जसले यो अवस्थाबाट मुक्ति खोजिरहेका छन्, उनीहरूलाई नै कारबाही गरिँदै छ, सजायको भागीदार मानिँदै छ।

गएको अप्रिलमा पनि एक हजार जना मानिस सम्मिलित मध्यअमेरिकी आप्रवासीको अर्को मानवलस्करले पनि ट्रम्प र अमेरिकी अधिकारीहरूका यस्तै दमनको सामना गर्नुपरेको थियो । उनीहरूलाई शरणका लागि आवेदन दिने हरेक मौकाबाट वञ्चित गरिएको थियो।
             (अनलाइन मन्थ्ली रिभ्युबाट नीरज लवजूको अनुवाद)

प्रकाशित: १४ कार्तिक २०७५ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App