१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा स्थानीय र प्रहरीबीच असमझदारी

सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै नेपाल र भारतका प्रहरी । तस्बिर : अमर/नागरिक

इटहरी – भारतीय हतियारधारी समूहले गत असोज ४ गते नेपाल आएर सुनसरी हरिनगरको भुटाहामा विद्यालय सञ्चालकको हत्या गरे । चार जनाको संख्यामा आएका उनीहरूले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए।

स्थानीय रैरयान नेसनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० वर्षीय खुर्सिदको हत्या भएलगतै स्थानीयले प्रहरीविरुद्ध विरोध प्रदर्शन गरे । त्यस क्रममा आक्रोशित स्थानीयले रामनगर भुटाहा प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै घेराबेरा भत्काए भने चौकी इन्चार्जलाई जे पनि गर्न सक्ने धम्कीसमेत दिए । लगत्तै त्यस क्षेत्रका सबै प्रहरी परिवर्तन गरिए।

गत साउन ९ गते भारतबाट नेपालमा खसी ल्याउने क्रममा हरिनगर वडा नं. ७ को सीमावर्ती क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भयो । घुस्की वडा नं. ७ मै घर भएका व्यापारीले भारतबाट खसी नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । झडपमा आठ सशस्त्र प्रहरी र दुई गाउँले घाइते भएका थिए।

तीन महिनाअघि भन्सार छलेर सामान नेपाल भित्र्याउँदा घुस लिने सशस्त्र प्रहरी निरीक्षक काले बमजनसहित दुई प्रहरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्यो । अहिले दुवै जनालाई निलम्बन गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

यसरी सीमावर्ती क्षेत्रमा बेला–बेला स्थानीय र प्रहरीबीच असमदारी र झडप हुने गरेका छन् । ‘बोर्डर छेउमा प्रहरी र स्थानीयबीच सामान्य निहुँमै पनि सम्बन्ध बिग्रिने गरेको छ,’ हरिनगर वडा नं. ४ का इनार्मुर रहमानले भने, ‘यहाँका पुरानो पुस्ता र प्रहरीबीच खासै समस्या नभए पनि नयाँ पुस्तासँग मनमुटाव छ ।’ सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा विभिन्न सामान किनबेच गर्न बढी भारतमै आउजाउ गर्छन् । यसरी सामान खरीद–बिक्री गर्न जाँदा–आउँदा सीमा सुरक्षामा खटिएका प्रहरीले केरकार गर्ने गर्छ । ‘प्रहरीले केरकार गर्दा स्थानीय कुरै नबुझी दुःख दिन खोजेको ठानेर बढी आवेशमा आउने गरेका छन् । जसले गर्दा सम्बन्ध बिग्रन्छ,’ हरिनगरकै रहमान अन्सारीले भने।

आम नागरिकको जीउधन सुरक्षाका लागि प्रहरी खटाइएको हो । तर, प्रहरी–समुदाय बीचमै सम्बन्ध राम्रो नहुँदा समस्या निम्तिने गरेको दशगजा क्षेत्रनजिकै घर भएका हरिनगरबासी गड मरिकले बताए । ‘हाम्रै जीउधनकै सुरक्षाका लागि प्रहरी दिएको हो । अनि किन नराम्रो सोच्नु,’ उनले भने, ‘तर सीमावर्ती क्षेत्रमा कहिलेकाहीं गाउँले र प्रहरीबीच झडप र विवाद हुनु नौलो होइन्।’

सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुर, हरिपुर, साहेबगन्ज, वसन्तपुर, घुस्की, कप्तानगन्ज र अमडुवा क्षेत्रबाट नेपालीले सामान भारतबाट खरिद गरेर त कहिलेकाहीं अवैध ढंगले भित्र्याउँछन् । घुस्की सीमा सुरक्षा बलका सशस्त्र प्रहरी निरीक्षक विष्णु चौधरीले स–साना बालबालिकाले पनि प्रहरीप्रति गलत सोच राख्ने गरेको बताए । ‘खासगरी आफूभन्दा सिनियरले सही ज्ञान नदिँदा पनि बालबालिकामा गलत सोच जागेको हुनुपर्छ,’ उनले भने।

सीमावर्ती क्षेत्रमा जनपथ प्रहरीले स्थानीयसँग सम्बन्ध सुधार गर्नकै लागि नागरिक सुनुवाइ र छलफल कार्यक्रम पनि गदैं आएको छ।

कतिपय अवस्थामा कानुनी ज्ञान नहुँदा स्थानीयसँग असमझदारी हुने गरेको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारी बताउँछन् । ‘कतिपय अवस्थामा कानुनविपरीत सामान भित्र्याउन खोज्दा नै समस्या हुने गरेको छ,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भने केही हदसम्म प्रहरी र स्थानीयबीच सम्बन्ध सुधार हुँदै आएको छ।’

कतिपय अवस्थामा भने प्रहरीले शिष्ट व्यवहार प्रदर्शन नगर्दा पनि असझदारी बढ्ने गरेको छ उनको भनाइ छ । सहजै जति पनि सामान भन्सार नतिरी ल्याउन पाउनुपर्ने सीमावर्ती क्षेत्रका बासीन्दाको अडानका कारण दुई पक्षबीच विवाद हुने गरेको बताउँछन्, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका निमित्त जिल्ला प्रमुख डिएसपी किरण बस्नेत । ‘सशस्त्र प्रहरीको काम नै सीमा स्तम्भ सुरक्षा र राजस्व संकलन वृद्धि गर्नु हो,’ उनले भने, ‘रोक्नुपर्ने सामान रोक्दा विवाद बढ्ने गर्छ ।’ सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिसँगै अन्य घटना न्यूनीकरणका लागि प्रहरी र नागरिकबीच सम्बन्ध सुधार हुनु आवश्यक देखिन्छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App