१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिनियाँ पत्रकारलाई उपराष्ट्रपति पुनले भने : नेपालको पर्यटनको प्रचार गरिदिनु होस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरि दिन चीनका पत्रकारहरुलाई आग्रह गरेका छन्। मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यबहाक राष्ट्रपति समेत रहेका पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन आग्रह गरे।

पुनलाई भेट्न अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डल उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेको थियो। भेटमा उनले नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको समेत बताए। 

‘नेपाल आर्थिक समृद्धिको मार्गमा छ। जलविद्युत, कृषि, पर्यटन, जडिबुटी क्षेत्रको विकास र पूर्वाधार निर्माण नेपालको समृद्धिको आधार हुन्’, उनले भने, ‘चिनियाँ पत्रकार मित्रहरुलाई मेरो आग्रह छ, नेपालको पर्यटनको बारेमा चीनमा प्रचार प्रसार गरिदिनुस्, ताकी धेरै भन्दा धेरै चिनियाँ मित्रहरु नेपालको भ्रमणमा आउन्।’

उपराष्ट्रपति पुनले चीन र नेपालका पत्रकारहरुले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान दिनुपर्ने बताए। ‘पत्रकारहरुले जनतालाई सु–सुचित गराउनुपर्दछ। त्यसका सँगसँगै मित्र राष्ट्रहरुको सम्बन्धलाई प्रगाढ बनाउन पनि योगदान दिनुपर्दछ’, नेपाल पत्रकार महासंघका अध्यक्ष लगातका पदाधिकारीहरु समेतको उपस्थितिमा उनले भने, ‘नेपाली र चिनियाँ पत्रकारहरुले दुई देशको सम्बन्धलाई जनस्तरसम्म थप प्रगाढ बनाउन मद्दत पुर्‍याउनु होस्।’

भेटमा अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारहरुबीच बलियो सहकार्य भईरहेको बताए। उनले समृद्धिका लागि नेपालले अत्यन्त सम्भावना बोकेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रमा आफूहरुको सक्दो सहयोग हुने बताए।

 

प्रकाशित: १३ कार्तिक २०७५ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App