१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निगमकाे वाइड बडीले नयाँ गन्तव्य पाउन अझै चार महिना लाग्ने

काठमाडौं - नेपाल एयरलाइन्सले ल्याएको दुईवटा वाइड बडी विमानले नयाँ गन्तव्य पाउन अझै चार महिना लाग्ने भएको छ । वाइड बडी विमान ल्याएको चार महिना भइसकेको छ।

निगमले उक्त विमान दक्षिण कोरियाको सोल, जापान, चीन र दुबई लगायत नयाँ गन्तव्यमा उडाउने योजना बनाएको थियो । तर, उडान अनुमति नपाएपछि पुरानै गन्तव्यमा उडान भरिरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम पाण्डेले अहिले मन्त्रालयको तर्फबाटै विभिन्न देशका वायुसेवा प्रदायक कम्पनी तथा सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

‘वाइड बडी उडाउन जापान, कोरिया, चीनलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसका लागि मन्त्रालयको हवाई माहाशाखाले पनि प्राविधिक पक्षसहित काम गरिरहेको छ,’ प्रवक्ता पाण्डेले नागरिकसँग भने, ‘निगमलाई पुरानो होइन, नयाँ गन्तव्यमा १४ देखि १६ घन्टा उडान भर्न निर्देशन दिइरहेका छौं।’

‘निगमले सरकारको जमानीमा ऋणमा वाइड बडी खरिद गरेको हो । यसमा घाटा बेहोर्नु भनेको निगमको असक्षम योजना हो,’ उनले भने, ‘यस विषयमा निगमले रचनात्मक भूमिका खेल्नुपर्छ।’

न्यारो बडी र बोइङले उडान भर्ने गन्तव्यमा वाइड बडी उडाउने हो भने  निगलाई महिनामा २५ करोडसम्म नोक्सान हुने उनको भनाइ छ । वाइड बडीलाई दैनिक १५ घन्टासम्म उडाउन सके निगमले २५ करोडसम्म आम्दानी गर्न सक्ने पाण्डेले बताए।

निगमले नयाँ गन्तव्यमा उडान अनुमति पाएको छैन । निगमले लक्षित गरेको जापान, कोरिया, चीन र साउदीमा वाइड बडीले उडान अनुमति पाएको छैन । अस्ट्रेलिया उडानको विषयमा भने अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन।

निगम प्रवक्ता अशोक सिग्देलले नयाँ वाइड बडी विमान अहिले दैनिक नौ घन्टासम्म उडिरहेको जानकारी दिए । नयाँ देशहरुमा उडान अनुमति लिने प्रक्रिया भइरहेकाले पुरानै गन्तव्यमा उडान भरिरहेको उनको भनाइ छ।

‘निगमले कोरियाको सिओलस्थित इन्चोन र जापानको हानाडा एयरपोर्टमा उडान अनुमति लिन खोजेको छ । तर कोरियाले नेपालको हवाई सुरक्षाको सुपरीवेक्षण गरेर मात्रै उडान अनुमति दिने जानकारी पाएका छौं,’ प्रवक्ता सिग्देलले भने, ‘कोरियाले नेपालको हवाई सुरक्षाको सुपरीवेक्षणका लागि टोली भने पठाएको छैन । कोरियाली नेपाल आउने मिति तय भएको थियो, फेरि स्थगित गरेको छ । तिहारलगत्तै आउने सूचना पाएका छौं।’

निगमले चीनको ग्वान्झाओ एयरपोर्टसम्म उडान अनुमति मागे पनि चीनले स्लटको समस्या देखाउँदै नदिएको प्रवक्ता सिग्देलको भनाइ छ।

सांघाई लगायत विमानस्थलमा उडान अनुमति लिन चीनस्थित जनरल सेल्स एजेन्ट (जिएसए) ले अध्ययन गरिरहेको सिग्देलले बताए।

‘पहिलो वाइड बडीले नयाँ गन्तव्यमा उडानको लागि आन्तरिक रुपमा जापान, कोरिया, चीन, दुबई लगायतको जिएसएसँग गृहकार्य भइरहेको छ ।  ‘ठ्याकै यो समयबाट नयाँ गन्तव्य उडान गर्न सक्छौं भनेर भन्न सक्ने अवस्था छैन, ‘सोमबार प्रवक्ता सिग्देलले भने, ‘अबको चार महिनाभित्र नयाँ गन्तव्यमा उडाउन सक्छौं।’

अहिले नयाँ जहाजले बैंकक, दोहा, हङकङ, क्वालालम्पुरमा दैनिक नौ घन्टा उडान भरिरहेको छ।

जापानस्थित जिएसएलाई कागजपत्र पठाइसकेको सिग्देलको भनाइ छ । नेपालको जहाजलाई आसिएओले सुरक्षित गन्तव्यको सूचीमा राखेको भए तापनि युरोपिएन युनियनले असुरक्षित गन्तव्यबाट नहटाएकाले जापान उडाउने अनुमति नपाएको हुन सक्ने प्रवक्ताको भनाइ छ।

उनका अनुसार अहिले पुरानै गन्तव्यमा नयाँ वाइड बडीमा ७४ प्रतिशत अकुपेन्सी छ । दुई वाइड बडी उडाउन निगमलाई २८ जना पाइलट आवश्यक पर्छ । दुई सय ७४ सिटको वाइड बडीमा झण्डै १० जना चालकदल आवश्यक हुन्छ।

निगमको नयाँ वाइडवडी विमान गत साउन १० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका थिए । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए ३३०–२०० सिरिजको कल साइन नाइनएन–एएलजेड विमान रहेका छन । यसलाई मकालु नाम दिएको छ।

यस्तै, निगमको पहिलो वाइडबडी विमानलाई अन्नपूर्ण नाम दिइएको छ । उक्त विमान असार १४ गते नेपाल ल्याइएको थियो ।  २७४ सिट क्षमताको वाइडबडी विमानको १८ वटा ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन्।

१० करोड ४८ लाख अमेरिकी डलरका उक्त विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो । दुबै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App