१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

चुहावटको चर्तिकला

लामो समयसम्म नेपाल विद्युत् प्राधिकरणले नेपाली नागरिकलाई एउटा शब्द सुनाइरह्यो– लोडसेडिङ। प्राधिकरणको भार प्रेषण केन्द्रका अधिकृतले लोडसेडिङका घण्टा सार्वजनिक गर्थे र त्यसैअनुसार हाम्रो जीवन चलेको थियो। हुँदाहुँदा ‘बत्ती आयो’ भन्ने जस्ता मोबाइल एपसमेत प्रचलनमा आएका थिए। अर्थात् बत्ती आएको र गएको समयको जानकारी पनि हाम्रा निम्ति महत्वको थियो। त्यहाँ कुलमान घिसिङ नेतृत्वमा आएपछि बत्ती नआउने अवस्था इतिहासको विषय बनेको छ। त्यो लोडसेडिङ इतिहास भए पनि त्यसमा लुकेको भ्रष्टाचारले हाम्रो मन अहिले पनि कुटुकुटु खाइरहेको छ। केही कर्मचारीको मिलेमतोमा लुकाएर सीमित उद्योग र व्यक्तिलाई बत्ती बेचेका कारण सर्वसाधारणविरुद्ध ‘लोडसेडिङ’ को अभिशाप थोपरिएको थियो। त्यो अपराधमा संलग्नहरूले अहिले पनि उन्मुक्ति पाएकै छन्। अहिले पनि यस्ता धेरै संस्थान छन् जसमा चुहावट नियमित हुन्छ। चुहावट रोक्न नसक्दा वा त्यो अवाञ्छित लाभमा माथिल्लो नेतृत्वसमेत लट्पटिँदा राज्यविरुद्धको अपराध भने भइरहेकै हुन्छ। खानेपानीको समुचित व्यवस्थापन नहुँदा सर्वसाधारणले अहिले त्यस्तै दुःख पाएका छन्। काठमाडौँ उपत्यकाको खानेपानीको जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पाएको छ। यो संस्थाले ठूलो संख्यामा उपभोक्तालाई खानेपानी होइन, पाइपबाट हावा पठाइदिन्छ। पाइपबाट आएको हावाकै निम्ति सर्वसाधारणले भने निश्चित रकम बुझाइरहन्छन्। खानेपानीका कर्मचारी दाहिना भए भने नियमित आपूर्तिको व्यवस्था भइरहन्छ। त्यसका निम्ति तिनलाई ‘पत्रम् पुष्पम्’ को व्यवस्था गर्न भने छुटाउनुहुँदैन।

कुनै पनि यस्ता संस्थानले नाफा गर्नासाथ बोनस खान खोज्ने र घाटा भए मूल्य बढाएर सर्वसाधारणको ढाड सेक्ने गरेको देखिएको छ।

राजधानी काठमाडौँका धेरै ठाउँमा सातामा एक दिन पनि पानी आपूर्ति हुँदैन। केयुकेएलले आफूभित्र हुने चुहावटमा ध्यान दिन सकेको भए यस्तो अवस्था आउने थिएन। भुक्तभोगीहरूलाई थाहा छ, त्यहाँका केही कर्मचारीलाई खुसी पार्न सकेको खण्डमा पानी नियमित आउन सक्छ। त्यसका निम्ति ‘सेटिङ’ मिलाउन भने जान्नुपर्छ। यो खुला सत्य हो र यसरी उपभोग गरिरहेकाहरू ‘तैँ चूप, मै चूप’ को अवस्थामा छन्। केयुकेएलको पानी वितरण गर्ने स्थानीय केन्द्रका कर्मचारीले समेत कार्यालय समयबाहिर अनधिकृतरूपमा पानी बेच्ने गरेको तथ्य नागरिकले फेला पारेको छ। भैँसेपाटीस्थित केयुकेएलका कर्मचारीले गर्दै आएको यो ‘व्यवसाय’ सार्वजनिक भएको छ। तर यस्ता गतिविधि अन्यत्र ठाउँमा पनि भइरहेको बुझ्न सकिन्छ। यो ट्यांकरमै राखेर बेच्ने एउटा विधि हो। केयुकेएलका कर्मचारीले सर्वसाधारण उपभोक्ताबाट समेत अनियमित लाभ लिएर पानी आपूर्ति गर्ने गरेका भुक्तभोगीको संख्या ठूलो छ। यसरी पानीमा चुहावट हुँदैनथ्यो भने अहिले देखिएको खानेपानीको अभाव पक्कै पनि केही हदसम्म कम हुने थियो। भएकै पानीको पनि बिनाचुहावट वितरण व्यवस्था बन्न सकेको छैन। सरकारी तथ्यांकअनुसार प्रत्येक दिन ६ करोड लिटर पानी चुहावट हुन्छ। यसका आधारमा पनि भन्न सकिन्छ कि कुन तहको अनियमितता केयुकेएलभित्र छ। कर्मचारीले लुकाएर बिक्री गर्ने ६ हजार लिटरको एक ट्यांकर पानीको मूल्य ११ सय रुपियाँमात्र पर्छ। जबकि यसको मूल्य केयुकेएलले औपचारिकरूपमा २ हजार ३ सय ३० रुपियाँ कायम गरेको छ।

यस्तै चुहावटको खबर नेपाल आयल निगमको समेत आउने गथ्र्यो। बेलाबेलामा चुहावट रोक्न खोज्दा त्यहाँ चालकदेखि अन्यका आन्दोलनसमेत भएको अनुभव छ। सरकारी संस्थानकै रूपमा रहेको जनकपुर चुरोट कारखाना डुबाएर निजी क्षेत्रको कम्पनीलाई सहयोग पु-याइएको थियो। यो दुःखद इतिहास पनि धेरैको स्मृतिमा अहिले छँदैछ। नेपाल टेलिकमको आम्दानी घट्न थालेको र त्यो हिस्सा अरुले लिन थालिसकेको पनि देखिँदैछ। वास्तवमा सार्वजनिक संस्थानलाई चुहावटले प्रायः धोद्रो पार्दै लगेको देखिन्छ। खानेपानी होस् वा अन्य कुनै संस्थान, त्यसमा हुने चुहावटले अन्ततः सर्वसाधारण उपभोक्तालाई मारमा पार्छ। त्यो चुहावट र अन्य घाटासमेत कालान्तरमा यस्ता संस्थानले सर्वसाधारणमाथि मूल्य थपेर पूर्ति गर्ने गरेको देखिन्छ। कुनै पनि यस्ता संस्थानले नाफा गर्नासाथ बोनस खान खोज्ने र घाटा भए मूल्य बढाएर सर्वसाधारणको ढाड सेक्ने गरेको देखिएको छ। मेलम्ची खानेपानी आयोजनालाई लम्ब्याएर पनि उस्तै गरी यहाँ आउने पानी महँगो पारिएको छ। अझ यो परियोजनाका नाममा महँगा गाडी खरिद गरी पहुँचवालाहरूलाई दिएको नोक्सानी पनि कालान्तरमा सर्वसाधारणले नै बेहोर्न बाध्य हुनुपर्नेछ। आयोजना ढिलो हुँदा परियोजना लागतमात्र बढेको छैन, सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर खेलबाड भइरहेको छ। केयुकेएलले खाल्डो खनेर कीर्तिपुरमा त्यत्तिकै छाडिदिँदा शनिबार एकजनाको मृत्युसमेत भएको घटना ताजै छ। यी यावत् विकृतिबाट सार्वजनिक संस्थाहरूलाई जोगाउनुपर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो। सार्वजनिक संस्थानको सेवामा हुने चुहावटसँग जोडिएको भ्रष्टाचार र त्यो भ्रष्टाचारबाट आउने दुष्परिणामप्रति सजग हुनुपर्छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App