१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सरकारले अवसर जुराइदिनुपर्छ’

काठमाडौं - नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने ठूलो सम्भावना रहेको अवस्थामा सरकारले यसलाई महत्व दिएर अवसर जुराइदिनुपर्ने विज्ञहरुले बताएका छन्। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफल कार्यक्रममा सम्बन्धित विज्ञहरुले मुलुकमा सूचना प्रविधि उद्योगको राम्रो सम्भावना भएकाले सरकारी निकायबाट महत्व दिन आग्रह गरेका छन्।

मुलुकमा पछिल्लो समय सूचना प्रविधिसम्बन्धी व्यवसाय बढ्दै गएको र नयाँ पुस्ता यस क्षेत्रमा आकर्षित भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए। ‘नेपालको सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर’ शीर्षक कार्यक्रममा बोल्दै गोल्छाले यस क्षेत्रमा थप लगानी आवश्यक भएको बताए। ‘यस क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न स्थानीयसँगै विदेशी लगानी आवश्यक छ,’ गोल्छाले भने, ‘सरकारले अवसरहरु जुराइदिनु आवश्यक छ।’

गोल्छाले छिमेकी भारतमा सूचना प्रविधि क्षेत्र देशको मुख्य ‘इकोनोमिक फ्याक्टर’ भएको भन्दै नेपालमा पनि यसलाई विकास गर्न सकिने बताए।

त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्र, नेपालका संस्थापक महावीर पुनले नेपालमा हरेक वर्ष हजारौं सूचना प्रविधिका विद्यार्थी उत्पादन भइरहे पनि अवसर नभएको बताए। स्वदेशमा अवसर नभएर क्षमतावान विद्यार्थीलाई यहाँ राख्न पनि चुनौती भएको पुनले बताए।

‘यहाँ उत्पादित विद्यार्थीलाई स्वदेशमै रोक्ने हो भने अवसर सिर्जना गरिनु पर्छ,’ उनले भने, ‘लगानी र सहयोगले मात्र उनीहरुले स्वदेशमै केही गर्न सक्छन्।

पछिल्लो तथ्यांक अनुसार नेपालमा हरेक वर्ष पाँच हजार पाँच सय विद्यार्थीले सूचना प्रविधिमा स्नातक गर्छन्। उनीहरुलाई रोजगारीको अवसर सिर्जना गर्नु अहिलेको चुनौती रहेको पुनले बताए।

त्यसैगरी, एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले यस क्षेत्रमा वैदेशिक लगानी ल्याउन समेत गाह्रो भएको अनुभव सुनाए । आफूले कत्ति गर्दा पनि क्यानडाको कम्पनीलाई ल्याउन नसकेको बताए।

नेपालमा लगानी गर्ने ठूलो सम्भावना भएको तर यसको लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘नेपाल सानो बजार छ भनेर लगानी नआउने होइन,’ ढकालले भने, ‘यहाँ राम्रो अवसर दिने र राम्रो व्यवस्थापन गर्ने हो भने ठूलो लगानी आउन सक्ने अवस्था छ।’

अहिलेको अवस्थामा नेपालमा रहेका आइटी कम्पनी विश्व बजारमा पुग्न नसकेको तर भविष्यमा नेपाली कम्पनीलाई विश्व बजारमा चर्चा कमाउन सक्ने अवस्था पु-याउने आफ्नो चाहना रहेको ढकालले बताए।

कार्यक्रममा क्लाउड फ्याक्ट्री, नेपालका जेनेरल म्यानेजर जोन स्नोडेनले नेपालमा दक्ष र काम गर्न चाहने जनशक्ति रहेको बताए। उनले यो नेपालको लागि राम्रो पक्ष भएको भन्दै उनीहरुलाई काम गर्ने अवसर जुराइदिनुपर्नेमा जोड दिए।

लिपफ्रोग टेक्नोलोजी नेपालका वरिष्ठ उपाध्यक्ष रिचन श्रेष्ठले नेपालमा राम्रो कम्पनी भएको र राम्रो उत्पादन पनि भइरहे पनि ‘विश्वास’ सबैभन्दा ठूलो चुनौती रहेको बताए। ‘नेपाली कम्पनी र उत्पादनमा अझै पनि विश्वास हुन सकेको छैन,’ उनले भने, ‘यो हाम्रो लागि चुनौतीका रुपमा रहेको छ ।’ उनले नेपालको आइटी क्षेत्रमा विदेशी चासो बढिरहेको उदाहरण दिँदै आफ्नो कम्पनीमा विदेशी कम्पनी आइरहेको बताए।

टुटल टेक्नोलोजीका सिइओ तथा को–फाउन्डर सिशित भट्टले विश्वमा प्रविधि उत्पादनहरुको बजार रहेकाले यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए। उनले लगानी गर्ने सोचको विकास गर्नु आवश्यक रहेको बताए।

भेरिक्स नेपालका निर्देशक उपेन्द्र प्रधानले नेपालमा सूचना प्रविधि क्षेत्रमा सेवा अन्य देशको भन्दा सस्तो रहेको बताए । यहाँ लगानी बढाउनुपर्नेमा उनले जोड दिए।

सस्तो डिलका सिइओ अमन थापाले मुलुकमा प्रविधि क्षेत्रमा धेरैको चासो हुँदाहुँदै पनि लगानी नआउनु विडम्बना भएको बताए । ‘हाम्रोमा सामाजिक सञ्जाल चलाउने लाखौैं छन् । सूचना प्रविधिमा चासो राख्ने धेरै छन्,’ थापाले भने, ‘तर लगानी आउन सकेको छैन ।’ सूचना प्रविधिमा रहेको चासो सकारात्मक पक्ष भएको उनले बताए।

प्रकाशित: ११ कार्तिक २०७५ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App