१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशबाट हारगुहार बढेको बढ्यै

काठमाडौं- रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका नेपाली समस्यामा पर्ने क्रम दिन प्रतिदिन बढेको बढ्यै छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न कार्यक्रममा जोड दिए पनि रोजगारीमा गएका नेपाली पीडित हुने क्रम जारी छ।

आर्थिक संकटका कारण साउदीमा ठूलो संख्याका नेपाली समस्यामा परेको गुनासो आइरहेको बेला साउदी र मलेसियामा ज्यान गुमाएका करिब एक दर्जनको शव नेपाल झिकाइदिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा निवेदन परेको छ। बोर्डकी अधिकृत पुनम थपलियाका अनुसार यतिखेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका कामदार सबभन्दा बढी समस्यामा छन्। आर्थिक संकटका कारण साउदीमा रहेका नेपाली श्रमिकमध्ये १० प्रतिशतजति उद्धार गर्नुपर्ने समस्यामा रहेको यस अघि साउदीमा रहेको गैर आवासीय नेपाली संगठन (एनआरएनए) ले बोर्ड लगायत श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेको छ ।

साउदीमा रहेका नेपालीलाई उद्धार गर्ने दायित्व कसको भन्ने अन्योलले अझै समस्यामा परेका पीडितको उद्धार हुन सकेको छैन। पुष्पकमल दाहालले प्रधानमन्त्री भएको एक सातामै साउदीमा समस्यामा परेका नेपालीको उद्धार गर्न निर्देशन दिए पनि उद्धारको पहल नभएको पीडितले गुनासो गर्दै आएका छन्। श्रम तथा रोजगार मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले साउदीमा कति नेपालीको उद्धार गर्ने हो भन्ने विवरण दिन नसक्दा उद्धारको पहल हुन नसकेको हो। 'साउदीमा के भइरहेको छ भन्नेबारे सबै जानकारी लिने निकाय भनेको त्यहाँ रहेको नेपाली दूतावास नै हो,' श्रम तथा रोजगार मन्त्रालयका ती अधिकारीले नागरिकसँग भने, 'परराष्ट्र मन्त्रालयलाई साउदीबाट विवरण प्राप्त हुनेबित्तिकै उपलब्ध गराउन सम्झाइरहेका छौं।'

परराष्ट्र मन्त्रालयका अधिकारी भने दूतावासमा कार्यरत कर्मचारीले साउदीमा रहेका सबै नेपालीको विवरण दिन त्यति सहज र छिटो काम नभएको बताउँछन्। श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति लिएर हालसम्म करिब सात लाख नेपाली साउदी पुगेको जनाए पनि कति नेपाली स्वदेश फर्किए भन्ने कुनै जानकारी नभएको जनायो। मन्त्रालयका सूचना अधिकारी शिवराम सेढाईं अहिलेसम्म विदेश जानेको विवरण राख्ने र फर्कनेको नराख्ने चलन हुँदा अहिले साउदीमा कति नेपाली कार्यरत छन् भन्न नसकिने बताउँछन्। एनआरएनए साउदीले हाल त्यहाँ करिब ६ लाख जति नेपाली कार्यरत रहेको बताए पनि परराष्ट्रका अधिकारी भने त्यो संख्या ३ लाखभन्दा बढी नभएको बताउँछन्।

साउदीमा समस्यामा परेका कामदारको उद्धार हुन नसकेको बेला भदौमा साउदी र मलेसियामा अलपत्र परेका एक दर्जन शवको उद्धारका लागि बोर्डमा निवेदन परेको छ। बोर्डकी अधिकृत थपलियाले साउदी र मलेसियामा उद्धार गम्भीर घटना साउनको तुलनामा भदौमा बढेको बताइन्। बोर्डमा साउनमा साउदीबाट शव, बिरामी तथा जेलमा परेका नेपालीको उद्धार गर्न भन्दै १२ वटा निवेदन परेकोमा भदौमा त्यो बढेर १४ पुगेको छ। त्यस्तै मलेसियाबाट सोही खाले घटनालाई लिएर साउनमा ७ र भदौमा ९ वटा निवेदन परेको थपलियाले जानकारी दिइन्।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले साउदीमा अलपत्र परेका कामदारको उद्धारका लागि आवश्यक रकम पठाउन शुक्रबार बोर्डको बैठक बोलाइएको बताए। 'अलपत्र परेका कामदारलाई राहत पुग्ने गरी शुक्रबारको बैठकले ठोस निर्णय गर्छ,' काफ्लेले भने।

प्रकाशित: ७ आश्विन २०७३ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App