१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रोमान्टिक टोड्के

एकैछिन कल्पना गर्नुहोस् न, अग्लो डाँडाको थाप्लो । सिरसिरे बतास । सामुन्नेमा झलमल्ल हिमाल । साथमा प्रिय मान्छे।

त्यतिबेला के गर्नु हुन्छ तपाइँ ? पक्कै पनि आँखा झिमिक्कै गर्नु हुन्न । अब भन्नुहोस्–त्यही बसेर मायालुसँग आँखा जुझाउँदै जीवनको समीक्षा गर्ने कि, बाँकी जिन्दगीका योजना बुन्ने!

यस्तै सुन्दर वातावरण मन पराउँछन् सबै । त्यसका लागि म्याग्दीको टोड्के डाँडा प्रकृतिको वरदान हो । भूःस्वर्ग हो जहाँको स्वच्छ हावापानी र शान्त वातावरणमा तन/मन दुवै चंगा बन्छन् । प्रेमिल डाँडामा पुग्दा आपसमा आत्मीयता पनि बढ्छ।

धौलागिरी हिमालसँग आँखा जुझाउँदै जीवनको समीक्षा गर्ने कि, यहीँ बसेर बाँकी जिन्दगीका योजना बुन्ने ! यहाँको स्वच्छ हावापानी र शान्त वातावरणमा तन÷मन दुवै चंगा बन्छन् । टोड्केमा पुग्दा आपसमा आत्मीयता पनि बढ्छ।

खासमा हिलस्टेशन टोड्केबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लर्कन देखिन्छ । बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) आफैंमा रोमान्टिक गन्तव्य हो।

नीलो आकाश ओढेर बसेको टोड्केमा केही घर छन् । यहाँ भर्खरै एउटा रिसोर्ट थपिएको छ–टोड्के हिल रिसोर्ट । आध्यात्मीक हिसाबले पनि टोड्के महत्वपूर्ण तीर्थ मानिन्छ । डाँडामै स्वर्गद्वारी मन्दिर र सिद्धथान छन्।

प्यूठानको स्वर्गद्वारी आश्रमको शाखा मानिन्छ यहाँको मन्दिर । सिद्धि प्राप्ति गर्ने बेला स्वर्गद्वारी महाप्रभु केही वर्ष टोड्केमा बसेका थिए भन्ने स्थानीयहरू सुनाउँछन् ।  मन्दिरभित्र शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ राखिएका छन्।

टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ । टोड्के मास्तिर मालिका धुरी (३,२०० मिटर) छ । टोड्केबाट तीन घन्टा लाग्छ त्यहाँ पुग्न । चण्डी र जेष्ठ पूर्णिमामा मालिकामा मेला लाग्छ । मालिका पुग्न नसक्नेहरू टोड्केमा रहेको सिद्धथान पुज्छन्।

बारै मास घुम्न सकिन्छ टोड्के । सधैं शितल हुन्छ डाँडामा । हरियाली हुन्छ बर्खा । रंगविरंगका फूलहरू फुल्छन् । असोजदेखि पुससम्म हिमाल खुलेर झकिझकाउ देखिन्छ । पुसमाघमा हिउँ पर्छ । ढकमक्क गुराँस फुलेर राताम्मे हुन्छ फागुनचैत । वन्यजन्तु र चरा अवलोकनका लागि समेत उपयोगी छ टोड्के । त्यहाँको वनमा पाइने कालिज, मृग, बाघबँदेल आदिले  लठ्याउँछ पाइन्छ।

टोड्केको दक्षिणमा पूर्ण गाउँ र उत्तरमा झीँ गाउँ, दक्षिणपूर्वमा उवाखेत गाउँ छन् । पूर्ण गाउँबाट आधा घन्टा र झीँ र उवाखेतबाट डेढ घन्टा उकालो चढे टोड्के पुगिन्छ । डाँडामा टेलिकम र एनसेलको टावर पनि छन्।  

मुला र आलु टोड्केका विशेषता । यस क्षेत्रमा मह पनि राम्रो उत्पादन हुन्छ।

घुम्नलायक छ टोड्के । टोड्के हुँदै मालिका पुगेर जलजला जोड्ने गुरिल्ला टे«ल छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा सरकारले विश्व पर्यटन दिवस २७ सेप्टेम्बर २०१५ मा टोड्केलाई नयाँ पर्यटन गन्तव्य घोषणा गरेको थियो।

भर्खरै टोड्केमा आधुनिक सुविधायुक्त ‘टोड्केहिल रिसोर्ट’ बनेको छ । डाँडाको काखका गाउँहरू पूर्णगाउँ, उवाखेत र झीँमा होमस्टे सुविधा छ । उवाखेत र झीँ मगर गाउँ हुन् भने पूर्णगाउँमा क्षेत्री, बाहुन, मगर आदिको मिश्रित बसोबास छ।

हाम्रो पर्यटनमा टोड्के स्थापित बन्न सक्छ । यहाँ नेपाली र विदेशी दुवै  खाले पर्यटक रमाउन सक्छन् । पछिल्ला वर्षमा नेपालीमा बढेको घुमफिर संस्कृतिलाई हेर्दा टोड्के आन्तरिक पर्यटकको विकेण्ड गन्तव्यका रुपमा चम्कन सक्छ । त्यति मात्र होइन यसलाई हनिमुन डेष्टिनेसनका रुपमा पनि प्रचार गर्न सकिन्छ।

टोड्केबाट धेरै टाढा छैनन् दमौली, पोखरा, कुश्मा, बागलुङ र बेनी बजार । अहिलेका लागि यी ठाउँका स्थानीयका साथै मुक्तिनाथ वा लो–मन्थाङ यात्रामा निस्कने पर्यटकलाई टोड्के उकाल्ने प्रयास गर्न सके पनि ठूलै उपलब्धि हुनेछ।

पर्यटनको फूल फुलाउन कुनै पनि ठाउँ सुन्दर भएर मात्र पुग्दैन, त्यहाँ सहज पहुृँच र खाने÷बस्ने पूर्वाधार हुनु पर्छ । यसरी हेर्दा भर्खरै डाँडामा रिसोर्ट बनेको छ । यतिले पुग्दैन, टोड्के क्षेत्रमा अरू पनि होटल खुल्नु पर्छ । टोड्के काखका गाउँहरूका होमस्टेलाई प्रभावकारी ढंगमा सञ्चालन गर्नुपर्छ । पर्यटनबाट बढीभन्दा बढी गाउँलेले फाइदा लिने वातावरण मिलाउनु पर्छ।

पहुँचका दृष्टिले डाँडासम्मै कच्ची मोटर बाटो छ । गुडेर वा हिँडेर जान सकिन्छ । बेनी बजारबाट गलेश्वरधाम हुँदै झीँ गाउँ भएर टोड्के पुग्ने र टोड्केमा रात बिताएर पूर्णगाउँ वा कुहुँगाउँ हुँदै तातोपानी झर्ने मार्गलाई ‘टोड्के टे«क’का रुपमा ब्राण्डिङ गर्ने कि ! थोरै समय भएका र बूढापाका समेत यो मार्गमा हिँड्न सक्छन्।

समग्रमा टोड्के प्रदेश नं ४ को आकर्षण तथा सुन्दर गहना हो । त्यसैले अब प्रदेश सरकारले प्राथमिकतामा राखेर बेनीबाट टोड्के जोड्ने सडक कालोपत्रे गर्न ढिलाइ गर्नु हुँदैन । सडक पक्की बन्नेवित्तिकै टोड्केमा पर्यटकको घुइँचो लाग्नेछ।  
कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमी, काठमाडौंबाट बसमा ९ घन्टा । बेनीबाट टोड्के जाने ५ वटा सडक छन् । एउटा रुट बेनी, गलेश्वर , झीँ हुँदै टोड्के, अर्को रुट बेनी, अर्थुंगे, झीँ हुँदै टोड्के, बेनी, अर्थुंगे, पुलाचौर, पूर्णगाउँ हुँदै टोड्के, अर्को बेनी, गलेश्वर, उवाखेत हुँदै टोड्के र बेनी, अर्थुगे, उवाखेत हुँदै टोड्के पुग्न सकिन्छ । सबै मोटर बाटाबाट जीपमा टोड्के जान सकिन्छ । बेनी हुलाकचोकबाट पदयात्रा गर्न पनि सकिन्छ, समय ६ घन्टा । पदयात्रा रुट बेनी, अर्थुंगे, पुलाश्रम, जगन्नाथ हुँदै टोड्के।
 

प्रकाशित: १० कार्तिक २०७५ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App