१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हेटौंडा कपडा उद्योग पनि सञ्चालन गर्ने तयारी

काठमाडौं- सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी थालेको छ। नेपाल औषधी लिमिटेड सञ्चालन गर्ने निर्णय गरेको सरकारले १६ वर्षअघि बन्द भएको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी सुरु गरेको हो।

निजी क्षेत्रको सहभागितामा उद्योग सञ्चालन गर्ने तयारी भइरहेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए। 'निजी क्षेत्रको सहयोगमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी गरिहरेका छौं,' जोशीले भने, 'यसमा सरकारको थप पैसा लगानी गरिने छैन।' कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी छलफल भइरहेको पनि उनले जानकारी गराए।

उद्योग सञ्चालन गर्ने भन्दै उद्योग मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्य अध्ययन टोलीसमेत गठन गरेको छ। अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट राम एकवाल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य रहेको समितिले १५ दिनभित्र सुझावसहित प्रतिवेदन पेस गर्नेछ। समितिले उद्योग पुनः सञ्चालनका लागि उपयुक्त मोडालिटी, प्रक्रिया, मेसिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्प र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यतासमेत सरकारलाई सिफारिस गर्नेछ।

समितिका संयोजक बज्राचार्यले उद्योग सञ्चालन गर्न सकियो भने औद्योगिकीकरणमा केही सहयोग पुग्ने बताए। पहिला पनि सेनाले उद्योग सञ्चालन गर्न प्रस्ताव राखेकाले यस उद्योग सञ्चालन गर्न सके सेनाको लत्ताकपडा प्रयोग गर्न सक्ने र राम्रो बजार हुन सक्ने उनले बताए।

हेटौंडा कपडा उद्योग चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३६ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योग २०५७ सालमा बन्द भयो। २०४८ सालमा तत्कालीन सरकारले हेटौंडा कपडा उद्योग निजीकरण गर्ने निर्णयसमेत गरेको थियो। सरकारले उद्योगलाई अलपत्र अवस्थामा पारेपछि उद्योग बन्द हुन पुगेको थियो।

उद्योग करिब आठ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ।  यसमध्ये दुई सय ५६ आफ्नै स्वामित्वको र बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हो। यस क्षेत्रमा साना–ठूला गरी झन्डै ३० घरटहरा छन्। उद्योग सञ्चालन हुदा १५ सयभन्दा बढीलाई रोजगारी दिएको थियो। स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो। हाल उद्योगमा कुरुवामात्र छन्।

यस उद्योगमा लुम (कोरा कपडा बुन्ने मेसिन) चार सय ८४ वटा छन्। यहाँ रहेका टेलरिङ, बाइन्डिङ, प्रिन्टिङ गर्ने मेसिनले करिब २५ सय मेटि्रक टन धागो र झन्डै तीन करोड मिटर कपडा उत्पादन गर्थ्यो। उद्योगमा दुईवटा ठूला डाइङ मेसिनको भवन सहित अन्य भौतिक संचरना छन्। 

नेपाली सेनाले उद्योग सञ्चालन गर्ने प्रस्ताव उद्योग मन्त्रालयमा गरेको थियो। रक्षा मन्त्रालय मार्फत उद्योग चलाउने विभिन्न मोडालिटी पनि प्रस्तुत गरेको थियो। सेनाका झन्डै एक लाखजनाका लागि कम्ब्याक्ट पोसाक बनाउने योजना बनाएको थियो। मन्त्रालयमा प्रस्तुत योजनाअनुसार सशस्त्र र नेपाल प्रहरी तथा सरकारी कर्मचारीका नियमित पोसाकसमेत बुन्ने लक्ष्य सेनाको थियो।

प्रकाशित: ७ आश्विन २०७३ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App