नेपालको पर्यटन र चिनियाँ चहलपहल

शुक्रबार, ०९ कार्तिक २०७५, ०९ : ४१ चेतनाथ कणेल ‘हरित’

सायद २० वर्षअघि हामी सोच्दैनथ्यौँ, नेपालको पर्यटनमा चिनियाँहरूको केही स्थान रहन सक्ला भनेर! त्यतिबेला ज्यादै नगन्य पर्यटक चीनबाट आउँथे । चीन आफैँ विकासका मामलामा धेरै पछाडि थियो । प्रतिव्यक्ति आय अहिलेको तुलनामा धेरै कम थियो । समग्र अर्थतन्त्र बलियो थिएन । ‘चीनमा गरिबीको बिगबिगी छ, खान नपाएर मर्ने मान्छे पनि त्यहाँ छन्’ भनेर नेपाली पत्रपत्रिकामा बेलाबेलामा समाचार आउँथे। जुन देशका मानिस गरिब हुन्छन्, त्यो देशका नागरिक पर्यटक बनेर विदेश भ्रमणमा निस्कने कुरा हुँदैन । देशै गरिब भएपछि डलर बोकेर विदेशको सयरमा निस्कने भनेको असुहाउँदिलो कुरा पनि हो । हामी नेपालीहरू नै अहिले डलर गोजीमा राखेर विदेश घुम्न जाने कति नै छौँ र ? सायद केही हजार मात् !

चीनले धेरै प्रगति गरेको छ अहिले । अब स्थिति पहिलेको जस्तो छैन । चिनियाँ अर्थतन्त्र सुदृढ छ । चीनले एक शक्तिशाली राष्ट्र बनेर विश्वसामु खरायोको गतिमा अगाडि बढिरहेको देखाइरहेको छ । प्रतिव्यक्ति आय पनि अहिले निकै राम्रो भएको छ । चीनमा समृद्धि बढिरहेको छ र गरिबी तीव्र रूपले घटिरहेको छ । संसारमा एक ‘महाशक्ति राष्ट्र’ नै बन्ने होडमा चीन यतिबेला बलवान् घोडाजस्तै स्वच्छन्द तवरले दौडिरहेको छ । यो आर्थिक समृद्धि र दौडाइको फाइदा नेपालले पनि लिन सक्नुपर्छ।

फाइदा लिने भनेको मूलतः चार तरिकाले रहेछ । पहिलो हामीलाई अनुदान देऊ, विकास गरिदेऊ भनेर सहयोग माग्ने । जुन कुरालाई राम्रो चाहिँ मानिँदैन । कहिलेसम्म भीख मागेर हाम्रा बाटाघाटा र पुलपुलेसा बनाइरहने?

दोस्रो, हामी आफ्नो विकास आफैँ गर्छौं, बरु लामो समयका लागि टन्न ऋण देऊ भन्ने । एसियाली पूर्वाधार विकास बैंक, बैंक अफ चाइना, बैंक अफ इस्ट एसिया, चाइना कन्सट्रक्सन बैंक कर्पोरेसन आदिबाट दीर्घकालीन ऋण लिने व्यवस्थाका लागि चीन सरकारसँग सहमति र सम्झौता गर्ने । यो पनि साह्रै सुहाउने कुरा होइन होला । पत्याएसम्म बरु एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) आदिबाटै ऋण लिनु राम्रो । किन एउटा देशमा ऋणका लागि भर पर्ने ? तर अन्तर्राष्ट्रिय वित्तीय निकायहरूसँग पनि कति ऋण लिइरहने ? अहिल्यै पनि प्रतिनेपाली झन्डै २८ हजार वैदेशिक ऋण छ भनिन्छ । ऋणम् कृत्वा घृतम् पिवेत् कहिलेसम्म गरिरहने ? छोराछोरी र नातिनातिनाहरूलार्ई राष्ट्रऋण कति बोकाइरहने?

तेस्रो कुरा हो व्यापार । व्यापार नै राष्ट्र बचाउने र जनता समृद्ध पार्ने एक मूल आधार हो । तर नेपालको व्यापार चीन तथा भारत दुवैसँग अति घाटामा छ । हामी ल्याउँछौँ मात्र, केही उत्पादन दिन सक्दैनौँ । हामी किन्छौँ मात्र, केही चीज बेच्न जान्दैनौँ । हामी अरूले फलाएका र पकाएका चीजबीज आयात गरीगरी खान्छौँ मात्र, त्यस्ता चीजबीज निर्यात गर्न जान्दैनौँ, खुवाउन सक्दैनौँ । निर्यात गर्न जानेका छौँ त केवल बलिया पाखुरी (मस्सल) । चीनमा त अझ त्यस्ता नेपाली पाखुरी पनि पुग्न सकेका छैनन् । भाषाको समस्या हो, वा विदेशी पाखुरी चीनलाई नचाहिएर हो ! भोटे लसुन, भोटे नुन, के के हो, ‘भोटे’ शब्द थपिएका सामान जति चीनतिरबाट आउन थालेकोले नै त त्यस्तो नाम रहेको । अहिले हामी अधिकांश सामान चीनकै चलाउने गरेका छौँ, लसुनदेखि स्याउसम्म, कपडादेखि इलेक्ट्रोनिक्ससम्म । अब केरुङदेखि काठमाडौँसम्म छिट्टै रेल कुद्ने आशामा हामी छौँ । तर ती रेल आउँदा भरिएर आउने, जाँदा रित्तै फर्कने नियति पनि छिट्टै आउँदैछ । चीन पठाउन सकिने रेलका रेल भरिने चीज नेपालमा के छ ? त्यसैले व्यापार पनि घाटामै चल्नेवाला छ । चिनियाँ चहलपहल बढेर जाने, तर हामीले लाभ लिन नसक्ने अवस्था आयो भने त्यो झन् पीडादायी हुनेछ । यसमा हामी आजैदेखि थप सचेत हुनुपर्छ । हाम्रा सारा प्रयास उत्पादनमुखी र निर्यातमुखी बनाउनुपर्छ । निर्यातमुखी उत्पादनले नै नेपालीलाई उँभो लगाउने हो।

चौथो र ज्यादै महत्वपूर्ण कुरा भनेको चीनबाट लाखौँ पर्यटक नेपाल भित्र्याउने कुरा हो । यो नै नेपालका लागि एक दह्रिलो, सहज र दिगो समृद्धिको आधार पनि हो । विश्वभर पर्यटनको चहलपहल बढ्दो छ । चिनियाँहरू पनि पछिल्ला समयमा खुबै देशदेशाटनमा लाग्ने गरेका छन् । अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियाजस्ता देशमा पनि आजकाल थुप्रै चिनियाँ पर्यटक तथा व्यापारी देख्न सकिन्छ । चीनको राष्ट्रिय आय बढ्दै गएअनुसार चिनियाँहरू विदेश भ्रमणमा निस्कने प्रवृत्ति पनि निकै बढेको छ । विश्व पर्यटन सङ्घको तथ्याङ्कले बताएअनुसार, अहिले वार्षिक करिब ९ करोड चिनियाँ विदेश भ्रमणमा निस्कन्छन् । ‘छिमेकमा पहिला’ भन्ने सिद्धान्त लिई त्यसको १० प्रतिशत अर्थात् ९ लाख पर्यटकहरू मात्र चीनबाट आए भने नेपालका लागि कस्तो होला ? लामो समयको सङ्घर्षपछि बल्ल बल्ल सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशीको सङ्ख्या करिब १० लाख पुगेको छ । यसमा चिनियाँ हिस्सा करिब १० देखि १५ प्रतिशत हुन आउँछ । तर हामीले यो हिस्सा बढाउनैपर्ने छ।

नेपालको पर्यटन प्रवद्र्धनमा चीनले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ । अहिलेकै स्थिति हेर्दा पनि नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या वर्षेनि बढिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक तथ्याङ्कअनुसार, सन् २००७ मा जम्मा २८ हजार ६ सय चिनियाँले नेपाल भ्रमण गरेकामा सन् २०१७ मा त्यो सङ्ख्या बढेर १ लाख ४ हजार ६६४ पुग्यो । अझ २०७२ वैशाख महिनाको भुइँचालोले नेपाली पर्यटनलाई नराम्रोसँग खुम्च्याएकाले चीनबाट आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्न पुग्यो । नत्र यो संङ्ख्या अहिलेसम्म १ लाख ५० हजार पक्कै पुग्ने थियो । किनकि सन् २०१४ मा नै नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या १ लाख २३ हजार ८०५ पुगेको थियो।
 
सन् २०१७ मा नेपाल भ्रमण गर्ने भारतीयको सङ्ख्या करिब १ लाख ६० हजार थियो । चीनको भन्दा त्यो सङ्ख्या उल्लेख्य मात्रामा बढी थियो । तर अचम्म भएको छ, सन् २०१८ को पहिलो ३ महिनाको तथ्याङ्क केलाउने हो भने चीनले भारतलाई उछिनिरहेको छ । सन् २०१८ को जनवरीदेखि मार्चसम्मको ३ महिनामा चीनबाट नेपाल आउने पर्यटकको कुल सङ्ख्या ३६ हजार ३ सय ८४ थियो भने सोही अवधिमा भारतबाट आउने पर्यटकको सङ्ख्या भने जम्मा ३४ हजार १ सय ३३ रह्यो । यो आकस्मिक र तीव्र वृद्धिले सन् २०१८ मा नेपाल आउने चिनियाँ पर्यटकको कुल सङ्ख्या करिब १ लाख ३५ हजार सहजै पुग्ने अनुमान गर्न सकिन्छ । यो नेपालका लागि ठूलो आशलाग्दो पक्ष हो । सन् २०२० (नेपाल भ्रमण वर्ष) मा कम्तीमा २ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राख्नु अन्यथा ठहर्ने छैन।

यो आशा र अपेक्षालाई अझ सार्थकतामा बदल्न अहिले भइरहेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला पनि पर्यटनमा सहकार्यका कुरा प्रशस्त गरिनुपर्छ । लुम्बिनी र अन्य बौद्धस्थललाई चिनियाँहरूको मुख्य गन्तव्य बनाई ती ठाउँको थप प्रवद्र्धन चीनमा गरिरहनुपर्छ।

नेपाल र चीनको सम्बन्ध र सहकार्य अत्यन्तै सकारात्मक दिशामा अघि बढ्नु, पर्यटनको अनुभव भएका पूर्व मुख्यसचिव लीलामणि पौडेल हाल चीनको राजदूत हुनु, पूर्वपर्यटन मन्त्री प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री बनेपछि विदेशमा कार्यरत नेपाली राजदूतहरूको पर्यटकीय भूमिका बढाउनेतर्फ थप चासो हुनु, हालका पर्यटन मन्त्री रविन्द्र अधिकारीले चीन तथा भारतमा पर्यटन प्रवद्र्धन आक्रामक ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिरहनुजस्ता कदम तथा २०१६–२०२५ सम्मको स्पष्ट ‘रणनीतिक पर्यटन विकास योजना’ हातहातमा हुनुले अब पनि हाम्रो पर्यटनले अपेक्षा गरेजति चिनियाँ पर्यटक भित्र्याउने आकाङ्क्षा पूरा गर्न सकेन भने अर्को मौका कहिल्यै आउनेछैन । सबैले ध्यान दिऔँ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad