१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वार्षिक तीन अर्ब भारु भारतमा

फाइल फोटो

काठमाडौं - इँटा उद्योगमा काम गर्न आएका भारतीय मजदुरले प्रत्येक वर्ष कम्तीमा तीन अर्ब भारतीय रुपैयाँ लैजाने गरेका छन्।

मुलुकभरका इँटा उद्योगमा करिब एक लाख भारतीय श्रमिकले काम गर्दै आएका छन्। यी मजदुरले भारत फर्किंदा वर्षको कम्तीमा ३० हजार भारु लैजाँदा तीन अर्ब भारतीय रुपैयाँ बाहिरिने गरेको हो।

इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले यो उद्योगमा काम गर्ने श्रमिकले घर फर्कंदा कम्तीमा ३०–३५ हजार भारु लैजाने गरेको जानकारी दिए । हाल इँटा उद्योगमा एक लाख ५० हजार श्रमिक कार्यरत छन्। यसमध्ये स्वदेशी श्रमिकको संख्या ५० हजार जति मात्रै छ। स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै वैदेशिक रोजगारीमा भने दैनिक औसत १२–१५ सय युवा गइरहेका छन्।

चित्रकारका अनुसार यो उद्योगमा काम गर्न आउने भारतीय श्रमिकलाई घर फर्कंदा भारुमै पारिश्रमिक दिनु पर्दा कुनै वर्ष चर्को समस्या पर्ने गरेको छ । ‘उनीहरू घर नफर्केको बेला सकभर नेपाली रुपैयाँमै पारिश्रमिक दिन्छौं,’ चित्रकारले नागरिकसँग भने, ‘तर, घर फर्कंदा भारु अनिवार्य जोहो गर्नुपर्छ।’

व्यवसायीका अनुसार इँटा उद्योगमा काम गर्ने श्रमिकले मासिक औसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाउँछन्। स्वदेशमा पाइने उक्त पारिश्रमिक निकै कम भएको गुनासो गरे पनि विदेशमा धेरै युवाले सोही हाराहारीमा पारिश्रमिक पाउने गर्छन् । महासंघका अध्यक्ष चित्रकार यतिखेर कार्यरत रहेकाबाहेक इँटा उद्योगलाई थप एक लाख ५० हजार श्रमिक आवश्यक परिरहेको बताउँछन्।

भारतबाट मजुदर ल्याउँदा एकातिर ती मजुदर घर फर्केको खण्डमा जुनसुकै बेला उद्योग बन्द हुने सम्भावना छ भने अर्कोतर्फ ठूलो परिमाणमा भारु बाहिरिने गरेको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक गर्जो टार्न ठूलो रकम खर्च गरी भारतबाट भारु खरिद गर्ने गर्छ । चित्रकारले भारतीय श्रमिकका लागि कुनै बेला व्यवसायीले र कतिबेला मजदुर आफैं राष्ट्र बैंकले तोकेका सर्तअनुसार लाइनमा बसेर भारुको जोहो हुँदै आएको बताए । ‘युवाहरूले स्वदेशमा काम गर्न मान्दैनन्,’ उनले भने, ‘व्यवसायीलाई भारतीय श्रमिक ल्याउनुबाहेक अर्को विकल्प छैन।’

उनले इँटा उद्योगका लागि चाहिने श्रमिक जुटाउन सरकारको सहयोग चाहिएको समेत बताए । यतिखेर देशभरि करिब एक हजार इँटा उद्योग दर्ता भएर सञ्चालनमा छन् । ‘देशभरिका इँटा उद्योगको क्षमता कम्तीमा तीन लाखलाई रोजगारी दिन सक्ने छ,’ चित्रकारले भने, ‘तर जति प्रयास गर्दा पनि श्रमिक भेट्न सकिरहेका छैनौं।’

स्वदेशी उद्योगलाई आवश्यक पर्ने जनशक्ति पूर्ति हुन नसक्ने हो भने उद्योगधन्दा धराशयी हुन बेर नलाग्ने ठहर गर्दै विज्ञहरू त्यसका लागि समयमै सरकार, युवावर्ग र सम्बद्ध निकायको ध्यान जानुपर्ने ठान्छन् । कतिपय विज्ञ न्यून पारिश्रमिक पाइने गन्तव्य मुलुकको रोजगारीलाई सरकारले बाध्यकारी रूपमा नै बन्द गर्नुपर्ने बेला आइसकेको सुझाव दिन्छन्।

वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने अधिकांश युवाको पारिश्रमिक प्रतिमहिना ३० हजार रुपैयाँ हाराहारी हुने गरेको छ । ती मुलुकमा गर्ने काम पनि निकै कठिन हुन्छ । वैदेशिक रोजगारीमा जाने अधिकांशले गर्ने काम थ्रिडी (खतरनाक, कठिन र फोहरी) हो भन्नेबारेमा सरकारले बुझाउन सक्नुपर्ने विज्ञहरूको सुझाव छ । म्यानपावर र दलालले वैदेशिक रोजगारीमा गए मनग्यै कमाउन सकिने भन्दै प्रचारप्रसार गर्दा युवायुवतीलाई झुक्याउन मद्दत मिलिरहेको बताइन्छ।

स्वदेशमा रोजगारी नपाएको भन्दै बिदेसिने ठूलो संख्याका युवाले खाडी मुलुक र मलेसियामा स्वदेशी उद्योगको तुलनामा न्यून पारिश्रमिक पाउने गरेको गुनासो उस्तै छ । वैदेशिक रोजगारीमा न्यून पारिश्रमिक पाएको तथा ठगीमा परेको गुनासो गर्नेको संख्या ठूलो रहे पनि स्वदेशमै रोजगारी गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेको पाइँदैन।

तत्काललाई वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्र धाने पनि दीर्घकालीन रूपमा त्यसबाट वैदेशिक रोजगारीमा जाने तिनै युवाको जीवनस्तर सुधार नहुने र अन्ततः स्वदेशी उद्योगको उत्पादन शून्यमा झर्न सक्ने विज्ञहरू बताउँछन् । इँटा उद्योगमा चाहिएका श्रमिक जुटाउन सरकारले तत्काल विशेष कार्यक्रम नल्याउने हो भने उद्योग धराशयी हुने व्यवसायीको चिन्ता छ । कतिपय युवाले इँटा उद्योगको कामलाई कठिन ठाने पनि व्यवसायी भने विदेशको कामभन्दा सहज रहेको दाबी गर्छन्।

‘नेपाली युवाले विदेशमा गरिरहेको कामको तुलनामा इँटा उद्योगको काम सहज छ,’ चित्रकारले भने, ‘समस्या वैदेशिक रोजगारीमा नगई हुँदैन भन्ने सोचको हो । सबैको जोड त्यसलाई परिवर्तन गर्नेतर्फ हुनुपर्छ ।’ बर्सेनि नेपाली श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवामध्ये स्वदेशमा रोजगारी नपाएको भन्दै चार लाख हाराहारीमा विदेश जाने गर्छन्।

सरकारले अबको पाँच वर्षमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ। बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न सरकारले युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App