१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तातोपानी नाका खुल्ने संकेत, सडकले नाका जोड्दै चीन

सिन्धुपाल्चोक - चीनले बिनासकारी भूकम्पपछि साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य व्यापारिक नाका तातोपानी जोड्ने सडक बनाउन थालेको छ। चीन सरकारकै सहयोगमा तातोपानीको लार्चामा सुख्खा बन्दरगाह बनाइरहेको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त अरनिको राजमार्गको नाका खण्ड कोदारी–लिपिङ सडक बनाउन थालेको हो। नाका रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चिनियाँ कम्पनीले तीन दिनयता सडक बनाइरहेको बताए। ‘कोदारीबाट नयाँ ट्रयाक खन्दै अघि बढेको कम्पनी बिहीबार लिपिङ बजार प्रवेश गरेको छ,’ उनले नागरिकसँग भने। पौडेलका अनुसार कोदारी क्षेत्रमा करिव २ सय मिटर नयाँ सडक ट्रयाक खोलिएको छ। योसँगै नाकाको अन्तिम बजार लिपिङ सडक ट्रयाकले जोडिएको छ।

२०७२ वैशाख १२ को भूकम्प र लगत्तै अर्को वर्ष २०७३ असारको भोटेकोसी बाढीले तातोपानी–लिपिङ खण्डको चार किलोमिटर सडक ट्रयाक नै हराएको थियो। गाउँपालिका र सम्वन्धित वडाको पहलमा दसैँअघि कोदारी तलको झण्डै डेढ किमी सडक खोलिएको थियो। चिनियाँ कम्पनीले सबैभन्दा क्षतिग्रस्त र जटिल खण्डमा सडक खोल्ने काम थालेको हो। कोदारी–लिपिङ खण्डमा भूकम्पले खसालेको चट्टाने पहाड थुप्रिएको छ भने भोटेकोसी बाढीले जगैदेखिको राजमार्गको बगाएको छ। 

‘नेपाल–चीन सीमा छुट्याउने मितेरी पुल दुई दिनभित्र सडक ट्रयाकले जोडिन्छ,’ सडक खुलाउने कामको नेतृत्व गरिरहेका चिनियाँ कम्पनी सिआरसिसीका साइट मेनेजर मिष्टर हुको भनाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘यो तत्काललाई स्थानीयको आवतजावत सहज बनाउने अस्थायी संरचना मात्र हुनेछ।’

तिहार सकिएपछि लिपिङदेखि बन्दरगाह रहने लार्चासम्मको झण्डै ६ किमी सडक स्थायी बनाउने काम थाल्ने चिनियाँ प्रतिनिधि हुले जानकारी दिएको पौडेलले बताए। बाढीले बगाएको भोटेकोसी किनारको जगदेखि नै उठाएर पक्की सडक बनाउने योजना रहेको हुले बताए। 

२०६९ पुसबाट चीनको सहयोगमा लार्चामा अत्याधुनिक बन्दरगाह बनिरहेको छ। भूकम्पले झण्डै तीन वर्ष रोकेको बन्दरगाह निर्माणको काम गएको चैतदेखि पुनः हुँदै आएको छ। रोकिएको बन्दरगाह निर्माणलाई चीनले अघि बढाएपछि उत्तरको यो मुख्य नाका खोल्ने संकेत दिएको बुझिँदै आएको छ। पहिलो चरणमा बन्दरगाहको मुख्य संरचना र दोस्रो एउटै प्याकेजमा बन्दरगाह जोड्ने भोटेकोसी माथिको पुल र लार्चा–लिपिङ सडक स्तरोन्नति गर्ने सहमती नेपाल–चीनबीच भएको थियो। सोही सहमतिअनुसार बन्दरगाह संरचना अन्तिम चरणमा पुगेपछि सडक स्तरोन्नति थाल्नुअघि नाकाको अन्तिम बिन्दुमा पुग्न नयाँ ट्रयाक खन्न थालिएको अध्यक्ष पौडेल बताउँछन्। बन्दरगाह मुख्य संरचना निर्माण कार्य ८० प्रतिशत सकिएको जानकारी चिनियाँ पक्षले दिएको छ। उसका अनुसार पुलको फाउन्डेशन (स्पान) समेत बनिसकेको छ। त्यहाँ बेलिब्रिज राख्न आवश्यक सामग्री केरुङ नाका आइपुगेको छ। 

प्रकाशित: ८ कार्तिक २०७५ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App