१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

पत्रकारिताका प्रेरक

‘अध्यक्षज्यूसँग जानू,’ कान्तिपुर दैनिकका तत्कालीन सम्पादक योगेश उपाध्यायले दिएको ‘असाइन्मेन्ट’सँगै एकजना भद्र व्यक्तित्वसँग साक्षात्कारको अवसर मिलेको थियो । ती व्यक्ति अरु कोही नभई हामी सबैका प्रिय ‘हेमराज सर’ हुनुहुन्थ्यो।

सम्पादकले दिएको जिम्मेवारीसँगै अध्यक्ष ज्ञवालीसँग यात्रा सुरु भयो । कान्तिपुर कार्यालयबाट हामी सँगै निस्कियौं। पछाडिको सिटमा हामी दुई थियो । कान्तिपुरमा संवाददाताका रुपमा प्रवेश पाएपछि अध्यक्ष ज्ञवालीलाई यदाकदा देखे पनि यसरी सँगै हिड्ने र कुराकानी गर्ने अवसर प्राप्त भएको थिएन।

उहाँ नियत समयमा कार्यालय आउँनु हुन्थ्यो र जानु हुन्थ्यो । एउटा सामान्य कारमा आएको र गएको संयोगले देख्न पनि पाइन्थ्यो । उहाँसँगभन्दा बढी भेटघाट र कुराकानी भने प्रबन्ध निर्देशक कैलाश सिरोहिया र निर्देशक विनोदराज ज्ञवालीसँग हुन्थ्यो । सामान्यतः समाचार कक्षका हाम्रो भेट व्यवस्थापनका व्यक्तिसँग धेरै हुँदैनथ्यो । जे हुन्थ्यो सम्पादक, प्रमुख संवाददाता, डेस्क प्रमुखसँगै हुन्थ्यो।

गाडी पशुपति क्षेत्र नजिकै एउटा आश्रममा गएर रोकियो । त्यहाँ हाम्रो भेट स्वामी रामानन्द गिरीसँग भयो । त्यहाँ गएर हामीले स्वामीजीसँग कुराकानी गरी समाचार लेख्ने उद्देश्यबारे उहाँले पहिल्यै बताइसक्नु भएको थियो।

साधुसन्तसँग अत्यन्तै श्रद्धाभावका साथ भेट गर्ने अध्यक्ष ज्ञवालीको स्वाभाव थियो । हामी त्यहाँ पुगेपछि स्वामी गिरीले अघि बढाउन चाहेको गुरुकुलबारे चर्चा भयो । यो समाचार भोलिपल्ट ‘एंकर’ बनेर आयो प्रथम पृष्ठमा । स्वामी रामानन्द गिरी मात्र होइन स्वामी प्रपन्नाचार्यलगायतका थुप्रै सन्तमहन्थसँग उहाँको निकट चिनजान र सहकार्य थियो । यी सन्त व्यक्तिहरूसँग भेट हुँदा अवश्यै उहाँका बारेमा कुरा गर्थे।

स्वामी रामानन्द गिरीसँगको कुराकानीमा आधारित समाचार छापिएको केही दिनमै यही समाचार प्रशंगलाई उल्लेख गरी अध्यक्ष ज्ञवालीले एउटा लेख प्रकाशित गर्नुभयो । एउटा संवाददाताका निम्ति योभन्दा ठूलो प्रेरक प्रशंग के हुन सक्थ्यो र!

अध्यक्ष ज्ञवालीले सबैसँग बैठक गर्ने चलन थिएन । तर, सम्पादकहरूसँग प्रत्येक बिहीबार भेट्ने चलन थियो । कान्तिपुरका तत्कालीन प्रधान सम्पादक (हालका पनि) नारायण वाग्लेको अनुपस्थितिमा यो पंक्तिकारले बेलाबेलामा अध्यक्षसँग बैठकमा बस्ने मौका पाएको थियो । ती कुराकानीमा पत्रकारिताले सशक्त भूमिका खेल्नुपर्ने पक्षबारे उहाँ प्रष्ट भएको अनुभव हुन्थ्यो।

अध्यक्षको कोठा सबैभन्दा प्रष्ट रुपमा महसुस गर्ने मौका भने कान्तिपुरको तीनकुने स्थित कार्यालयमा नै हो । यसअघि शान्तिनगरको कार्यालयमा भने त्यो मौका प्राप्त भएको थिएन । अध्यक्षको टेबुलअघि मिलाएर राखिएका कुर्सीमा बसी हामी छलफल गथ्र्यौं । उहाँको शालीन व्यक्तित्वका छनक त्यहाँ पनि पाइन्थ्यो।

अध्यक्षका रुपमा ज्ञवालीले कहिल्यै अनावश्यक दबाब दिएको अनुभव छैन । प्रजातान्त्रिक मूल्यमान्यताबाट अखबार बिमुख हुनुहुँदैन भन्ने विचार प्रष्टसँग उहाँ राख्नु हुन्थ्यो । एउटा पूर्व प्रशासकका रुपमा स्वाभाविकरुपमा चिनेजानेका कर्मचारीदेखि राजनीतिक नेतृत्वबाट उहाँमाथि अवश्यै दबाब आउँथ्यो होला । तर, त्यसलाई उहाँले कहिल्यै दबाबका रुपमा समाचार कक्षमा प्रवेश गर्न दिनु भएन।  

बेलबेलामा अध्यक्ष ज्ञवालीका लेख कान्तिपुरमा छापिन्थे । कहिले ती धर्मसंस्कृतिबारे हुन्थे त कहिले विभिन्न पुस्तकका समीक्षा । तैपनि बेलाबेलामा सरकारलाई मार्गदर्शन गर्ने किसिमका आलेख पनि प्रकाशित भएको देखिन्थ्यो । ती आलेखमा मर्यादित ढंगबाट सरकारलाई सुझाव दिइएको देख्न हुन्थ्यो।

प्रमुख संवाददाताका रुपमा काम गर्न थालेपछि बेलाबेलामा अध्यक्षको फोन आउन थाल्यो । त्यो फोनको उद्देश्य कुन समाचार कसरी छाप्ने वा नछाप्ने भन्ने विषयमा हुँदैनथ्यो । अध्यक्षलाई विभिन्न संघसंस्थाले निमन्त्रणा गर्थे । कतिपयले समाचार छाप्ने प्रबन्ध होस् भनी पत्र पठाएका हुन्थे । तिनलाई पनि उहाँले समाचार कक्षमा पठाइदिने गर्नुहुन्थ्यो।

कतिपय ठाउँमा उहाँ संवाददाता पठाउन लगाउनु हुन्थ्यो । तर, शैलीमा कुनै आदेश हुँदैनथ्यो । ‘एकजना संवाददाता र फोटो पत्रकारलाई पठाउन सकिएला ?’ उहाँको फोनको शैली यस्तै हुन्थ्यो । काम लगाउने शैलीबाटै उत्प्रेरणा जागृत हुन्थ्यो।

उहाँको शैली त्यही थियो । उहाँले कसैलाई कहिल्यै रातो मुख लगाएर गाली गरेको पनि सुनिएन । न कहिल्यै ठूलो स्वर गरेको नै सुनियो।

‘हेमराजजीको पत्रिकाबाट आएको’ भनेर जहाँसुकै जाँदा मानिसहरूले संवोधन गर्थे । वास्तवमा कान्तिपुर पब्लिकेसन्सको पर्यायका रुपमा उहाँ रहेको जहिल्यै महसुस हुन्थ्यो । त्यो व्यक्तित्वमा जति विशालता भए पनि ध्यान भने शिक्षा, संस्कृति, धर्म र यस्तै विषयसँग जोडिएको हुन्थ्यो।

उहाँले राजनीतिक पद प्राप्तिको उद्देश्य राख्नु भएको भए नपाइने थिएन । तर, उहाँका निम्ति अध्यक्षको कुर्सी सबैभन्दा ठूलो थियो । र, त्यसको मर्यादामा बसेकै कारण संस्थाको साख बढेको अनुभव गर्न सकिन्थ्यो।

कान्तिपुर पब्लिकेसन्सबाट अलग्गिएर हिड्नु पर्दा उहाँले सबैभन्दा धेरै पीडा महसुस गरेको हामी महसुस गर्न सक्थ्यौं । १० वर्षअघि नेपाल रिपब्लिक मिडियाको स्थापनापछि उहाँ फेरि प्रकाशनको संस्थापक अध्यक्ष बन्नु भयो । नेपालका प्रमुख दुई प्रकाशनको अध्यक्ष बनेर नेतृत्व दिने दुर्लभ अवसर उहाँलाई प्राप्त भयो । यसबाट भने उहाँलाई परम सन्तुष्टी मिलेको थियो।

उहाँको कर्मचारी जीवन पनि उत्तिकै सफल थियो । समाचार संकलनको सिलसिलामा पुग्दा अधिकांश वरिष्ठ प्रशासकहरूले उहाँको बारेमा सोध्थे । कतिपयले उहाँ आफ्नो मित्र भएको सगर्व सुनाउँथे । प्रायः मानिसले त्यसैलाई आफ्नो मित्र भनेर सार्वजनिक गर्छन् जो असल छ र राम्रो काम गरिरहेको छ।

कर्मचारी जीवनले भन्दा पनि पत्रकारितामा आएर गरेको सेवाले उहाँलाई अर्को उचाइमा पु-याएको थियो । निजामती सेवामा जीवनको अधिकांश हिस्सा बिताएर आए पनि उहाँले पत्रकारितामा आएपछि त्यसका मर्यादालाई आत्मसात् गरेको अनुभव हामीलाई भयो । उहाँको नेतृत्वमा रहेका प्रकाशन गृहको सफलताको श्रेय पनि यही व्यवहारलाई जान्छ । पत्रकारिताको पवित्रता जोगाउन नसक्ने प्रकाशन गृहले आफूलाई टिकाइराख्न सक्दैनन्।

पब्लिकेसन्सलाई उचाइमा पु-याउन अध्यक्ष ज्ञवालीको भूमिका अतुलनीय रहेको छ । त्यो शालीन छवि नै यसका निम्ति धेरै अर्थमा जिम्मेवार छ।  

उहाँ अखबारका प्रकाशक मात्र होइन सचेत पाठक पनि हुनुहुन्थ्यो । आफ्नो अखबार आद्योपान्त पढ्ने हुनाले त्यसमा रहेका गल्ती र राम्रा पक्ष कहिल्यै जानकारीबाट बाहिर रहँदैनथे । उहाँले अखबार राम्रो छ भन्नु भयो भने सन्तोष लाग्थ्यो र केही बिग्रिरहेको छ भन्दा पिर पनि । र, अखबारको बारेमा उहाँको टिप्पणी मेरा निम्ति भने जहिल्यै मार्गदर्शक रह्यो।

उहाँका अक्षर नबुझिने थिएनन् । तर, कहिलेकाहीं उहाँले हातले लेखेर दिएका लेख छापिँदा अशुद्ध पनि हुन्थ्यो । अनि उहाँ आफैं थक्थकाउँदै भन्ने गर्नुहुन्थ्यो, ‘मैले आफैं टाइप गराएर दिनुपर्ने रहेछ ।’ संस्कृतको पनि ज्ञाता र नेपाली भाषामा पनि पकड भएका कारण अखबारको हतारोमा कहिलेकाहीं फेलापर्ने अशुद्धि पनि उहाँका निम्ति स्वीकार्य थिएन।

रिपब्लिक मिडियामा हेमराज सर नियमित नआए पनि प्रत्यक्ष÷परोक्षरुपमा मैले भने कुनै न कुनै हिसाबले सम्पर्कमा रहिरहने मौका पाएँ । जीवनको अन्तिम समयसम्म पनि कसै न कसैले पठाएका लेखबारे उहाँको टेलिफोन प्राप्त भइरहन्थ्यो।

‘हेर्नुहोस्, उपयुक्त भए छापिदिनु होला,’ यही आग्रह हुन्थ्यो उहाँको । आफूले कुनै व्यक्तिको सिफािरस गरे पनि त्यो लेख जसरी पनि छापियोस् भन्ने आग्रह नहुनु उहाँको व्यक्तित्वको विनम्र र शिष्ट पक्ष थियो । कतिपय लेख उपयुक्त नभएको हामीले बतायौं भने पनि उहाँले त्यसमा अन्यथा राय व्यक्त गर्नु हुँदैनथ्यो।

उहाँ विभिन्न धार्मिक तथा आध्यात्मिक संस्थासँग जोडिनु भएको थियो । उहाँका धार्मिक पुस्तक, संस्कृतबाट अनुवाद भएका कृति समेत प्रकाशित छन् । नागरिकमा पनि उहाँले निरन्तर केही न केही लेखिरहनु भएको थियो।

केही समय यता हामीले ज्ञवालीद्वारा अनूदित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार प्रकाशित गर्दै आएका थियौं । आध्यात्मिक विषयमा रुचि हुने पाठकका निम्ति यो अनुवाद रुचिकर रहेको छ । उहाँकै प्रेरणाले तुलनात्मकरुपमा हामीकहाँ अलि बढी नै आध्यात्मिक विषयका लेख र सामग्री प्रकाशित हुन्छन्।

पछिल्लो पटक दुई महिनाजति अघि उहाँलाई निवास चाबहिल चुच्चेपाटीमा देख्ने मौका प्राप्त भएको थियो । उहाँ प्रातः भ्रमण सकेर फर्किसक्नु भएको थियो । अनायासै बिहान देखेर उहाँ खुसी हुनुभयो । अनुहारमा आभा थियो र स्वास्थ्य स्थिति पनि राम्रो देखिएको थियो।

एकै छिन कुराकानी गरेपछि विनोद सर र म प्रातःभ्रमणका निम्ति निस्केका थियौं । हेमराज सरसँग त्यसपछि भेट नभए पनि दशैंअघिसम्म बेलाबेलामा कुराकानी भइरहेको थियो । पछिल्लो पटक पनि उहाँले एउटा किताब विमोचन कार्यक्रमको समाचार छापिदिन आग्रह गर्नु भएको थियो । त्यो कार्यक्रममा उहाँ आफैं पुग्नु भएको थियो । तर, यसपटक संवाददाता पठाउन सकिएन । उहाँले आफैं मलाई समाचार टिपाउनु भयो।

राजनीतिबाहेक पनि समाचारका अनेकन विधा छन् । कला, साहित्य, संस्कृति, अध्यात्मजस्ता पक्षका समाचार निम्ति प्रेरित गरिरहने हेमराज सरको उपस्थिति हामीलाई खट्किइरहने छ । पत्रिकामा कुनै गल्ती भेटिँदा सस्नेह त्यसलाई सच्याउन टेलिफोन गर्ने हाम्रा मार्गदर्शकको अभाव कहिल्यै पूर्ति हुने छैन।

प्रकाशित: ८ कार्तिक २०७५ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App