१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नगरपालिका कार्यालय सार्न नेकपाको माग, जोगबुढामा प्रदर्शन

डडेल्धुरा– डडेल्धुराको भित्रिमधेश जोगबुढास्थित परशुराम नगरपालिकाको कार्यालय तत्काल सार्नुपर्ने भन्दै नेकपाले विवाद चर्काएको छ। हाल लालढुंगा बजारमा रहेको परशुराम नगरपालिको कार्यालय सिद्धनाथमा तत्काल सार्नुपर्ने भन्दै नेकपाले लालढुंगामा -याली निकाली प्रदर्शन गरेको हो। लालढुंगामा रहेको नगरपालिकाको कार्यालयलाई लिखित निर्णय गरी पन्तुरा खोला पुर्वतर्फ सिद्धनाथमा रहेको नगरपालिकाको आफ्नै बनेको नयाँ भवनमा सार्नुपर्ने भन्दै नेकपा कार्यकर्ता र जनप्रतिनिधिले दबाब दिँदै आएका छन्। 

सिद्धनाथमा कार्यालय सार्न कुनै आपत्ति नभए पनि नगरपालिकाको चार किल्ला तोकेको जमिनमा केही स्थानीयको पनि परेको तथा स्थानीयले भोग चलन गरिरहेको तथा निर्माणाधिन भवन एक तलाको मात्रै बनेको तर भवन निर्माण कार्य सकिए पनि हस्तान्तरण भइनसक्दा तत्काल कार्यालय सार्नु भन्दा पनि दिर्घकालिन रुपमा असर नपर्ने गरी सार्नु उचित हुने नगरप्रमुख भिमबहादुर साउदले बताए। उनले भने, ‘नगरपालिकाको चारकिल्ला तोकिएको जमिन भए पनि केही स्थानीयहरुले भोग चलन गरिरहेका छन्। उनीहरु तत्कालै जमिन छोड्न सक्ने अवस्थामा छैनन्। भवन निर्माण गरिए पनि हस्तान्तरण भई नसकेकाले हतार नगरी सबैलाई व्यवस्थापन गर्ने गरी कार्यालय सार्ने पक्षमा आफू रहे पनि नेकपाका साथीहरुले तत्काल कार्यालय सार्नुपर्ने भन्दै दबाब दिँदै विरोध, धर्ना, -याली गरिरहेका छन्। उनले थपे, ‘सार्दैनौ भनेर कोही कसैले भनेको छैन्। तर पनि दिर्घकालिन असर नै नहेरी केही साथीहरुले तत्काल सार्नुपर्ने अडान लिएका छन्।’ 
हाल लालढुंगामा रहेको कार्यालय सबैको पायक पर्नुका साथै सुरक्षाका दृष्टिकोणले पनि इलाका प्रहरी कार्यालय भएको, बजार भएको, बैंकहरु भएकाले तत्काल भन्दा पनि नेपाल सरकारको न्युनतम मापदण्ड पुग्ने गरी सार्नुमा उपयुक्त हुने नगरप्रमुख साउदको भनाई छ। 

जोगबुढा र शीर्ष गाविस गाभेर बनाइएको परशुराम नगरपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित सर्वदलीय बैठकले केन्द्र लाल ढुंगामै राख्ने निर्णय गरेको थियो। नेपाल सरकारबाट पछि भवन निर्माणका लागि केही बजेट आएसंगै आफ्नै नामको लालपुर्जा आवश्यक पर्ने भएकाले पन्तुरा खोलादेखि पूर्वतर्फ रहेको सिद्धनाथमा भवन बनाई कार्यालय सार्ने निर्णय भएको नगरप्रमुख साउदले बताए। नेपाल सरकारले स्थानीय स्वायत्त शासन ऐन २०७४ अनुसार कार्यालय सञ्चालनका लागि आवश्यक न्युनतम मापदण्ड पुरा गरी कार्यालय सञ्चालन सिद्धनाथबाटै गर्ने भने पनि नेकपाका नेता, जननिर्वाचित प्रतिनिधीले तत्काल कार्यालय सार्नुपर्ने निर्णय गर्नु पर्ने भन्दै विवाद चर्काएको उनले बताए। 

नेकपा नेता तथा वडा नं. ३ का वडा अध्यक्ष केशव बोहराले भवन निर्माण गरिसकेकाले कार्यालय सार्नु पर्ने बताए। उनले भने, ‘विद्युत, खानेपानी, टेलिफोन लगायतका केही कुराहरु जोड्न बाँकी होलान त्यो त विस्तारै हुने काम हुन, कार्यालय सार्ने निर्णय गरौं भन्दा नगर प्रमुखले मान्नु भएन र दबाब दिन प्रदर्शन गर्नुपर्ने अवस्थाको सिर्जना भयो।’ सुरक्षाको कारण देखाइए पनि प्रहरी विट राख्न सकिने उनको भनाई छ। 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App