१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कुइरोले प्यास मेटाउँदै थियो अछामको सहस्रलिंगमा

शशी थापा पण्डित/बालाजु

हामी वरिपरि तारले घेरेको खप्तडको पाटनको उत्तरतिर रहेको आर्मीको क्याम्पबाट अगाडि पूर्वतिर देखिएको पहाडमा उकालो चढ्दै छौं । एरोबाट देखाएको सहस्रलिङ्गको बाटो यतै रहेछ । यात्रामासँगै छौंँ पतञ्जलीका योग गुरुहरू रीता कार्की, बलदेव मिश्र, लोकराज बराल, अश्विनी कोइराला र शशी थापा पण्डित। 

खप्तडको आँगन टेकेको आज दोस्रो दिन । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलाली नेपाल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ७ नेपालको संयुक्त आयोजनामा खप्तड अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन २०७५ को कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गोदावरीका अध्यक्ष पद्मराज जोशीको भनाइअनुसार खप्तडको यो यात्रा साहित्य, धर्मसंस्कृति र योगको त्रिवेणीको रूपमा आयोजना गरिएको हो । त्यसैले हामी साहित्यकार मात्र थिएनौं यहाँ । भारतको गायत्री त्रिवेणी प्रयाग पीठबाट आएका पीठाधीश्वर जगद्गुरु शंकराचार्य त्रिकाल भवन्ता सरस्वती जी महाराज । त्यस्तै आद्य शंकर कैलाश पीठ गोदावरी धाम नेपालको जगदाचार्य श्री श्री १००८ श्री विभूषित अमृतानुभव पीठाधीश्वर जगदाचार्य– ब्रह्मर्षि स्वामी गौरी शंकराचार्य जी महाराज । त्यस्तै अन्य श्री १००८ पद धारण गरेका धार्मिक व्यक्तिहरूलगायत उनीहरूका चेलाहरू र पतञ्जलीका योग गुरुहरू र जडिबुटीका ज्ञाताहरू साथै पत्रकारहरू, भारतीय साहित्यकारहरू र स्थानीयहरूको पनि यो यात्रामा बाक्लै उपस्थिति रहेको थियो। 

यहाँ पुगेको चौथो दिनमा फर्कने भनिए पनि यहाँको चिसोले गर्दा बिरामी परिएला भन्ने डरले तेस्रो दिनमै फर्कने सल्लाह हामी साहित्यकारहरूको भएको हुँदा भोलि गरिने भनेको काव्य वाचनको कार्यक्रम आजै सक्नुपर्ने बाध्यता बन्दै थियो । तर खप्तडमा रहेको सहस्रलिङ्गको दर्शन गर्न भने मनले भनिरहेको थियो मलाई । आयोजकबाट पनि यहाँको दर्शन गरेर फर्किएपछि मात्र कवि गोष्ठी गर्ने भनिएपछि हामी तताउन थालेका थियौं बाटो । लगभग बाह्र हजार फिटको उचाइमा रहेको खप्तडको सबैभन्दा अग्लो स्थानको सहस्रलिङ्गको यात्रामा । त्रिवेणी धाम र आर्मी क्याम्प दुवैतिरबाट जान मिल्ने भएको हुनाले पहिले निस्केका केही साथीहरू र हाम्रो बाटो अलग पर्न गएछ । त्रिवेणीबाट जाने बाटो ठाडो उकालो छ र हामी हिँड्दै गरेको आर्मीक्याम्पअगाडिको बाटो अलि लामो भए पनि सहज छ सहस्रलिङ्ग उक्लन भन्दै हुनुहुन्छ पतञ्जली योग पीठका योग गुरु लोकराज बराल। 

माथि टावरनजिकै पुगेछाैं । अघि प्रोल्लास सिन्धुलियाको ग्रुप पुगेर फर्केको भन्दै थिए तल भेटमा । अलमलिने समय नभएकोले गर्दा उक्लेर खप्तडलाई हेर्ने मनको चाहनालाई त्यहीँ विश्राम दिएर शरीरका साथ लागेर खुट्टा अगाडि बाटोमा सोझी रह्योे टावरलाई बिदा गरेर। 

पसिना बगाइरहेको छ शरीरले अनि पानीको तिर्खा तीव्र गतिमा लय समाउँदै छ उकालोमा । सजिलो बाटो भनिए पनि यात्रा कहाँ सोचेजस्तो सहज हुँदो रहेछ र ? कठिन बन्दै छ पाइला । प्याकप्याक हुँदैछ मख प्यासले । लेराएको एक बोटल पानी अघि नै सकिसकेको थियो । कतै फेला पर्ला कि भनेको परेनन् पानीका मुहानहरू । 

मायावी शक्ति भएका देव, देवता तथा सिद्धपुरुषहरूले पक्षी भएर आकाशमा रमाउने र पृथ्वीमा विचरण गर्ने देवताको क्रीडास्थलको रूपमा रहेको खेचराद्रीभूमि नै पछि खप्तड हुन गएको उल्लेख पौराणिक धर्मशास्त्रमा छ । १०२४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तडको चारैतिर पाँच, छ हजार फिटदेखि लिएर सहस्रलिङ्गको झण्डै बाह्र हजार फिटसम्मको पहाडका टाकुराहरू यस खप्तड क्षेत्रमा रहेको पाइन्छ।

‘आफ्नै साथी पनि कता पुगे भनेर खोज्नुपर्ने जस्तो पो भयो त हिँडिरहेको बाटोमा एकै छिनमा ।’ आपूm अगाडि पछाडिका साथीहरूलाई नेदेखिने गरेर कुहिरोले ढाके पछि म कराउँछु ‘ठिकैै हुनुहुन्छ होइन साथीहरू’ । हाम्रो प्यासको पीडा देखेर होला चिसो कुइरो पूरै वन ढाकेर हाम्रो मुखभित्र जलकणहरू सुरुरु छिराउन पो आएका रहेछन् । थोरै भए पनि  प्यास मेटियो हाम्रो । काम सकेर कुइरोहरू आएकै थिएन कि जस्तो गरेर स्वाट्टै हराए हामीबाट । माथि अलि बढी नै लेक भएको हुनाले होला कुइरो आउने छोपिने, फेरि हराउने गर्दै हामीसँग लुकामारी खेल्दै छ । सँगै मुखहरू रसाउँदै पनि छन्। 

अघि तल पाटनमा पाटन नै पाटन मात्र छ झैं भएको प्रकृति यहाँ हामीलाई वनैवन मात्र छ झैं देखाउँदै छ उसको रूप । यहाँ बाटोमा कतै फेला परेको छैन पाटनहरू । वनभित्रको सौन्दर्यले मन यसरी खिचेको छ कि उकालो पसिना र प्यास सबैलाई भुलेर उसैसँग समायोजन भएर एकाकार हुँदै प्रीत बसाउँदै छु म प्रकृतिसँग। 

धुपीका रूखहरू जाडोमा बोकेको हिउँ काँधबाट भर्खरै बिसाएर सुस्ताएका झैं देखिँदैछन् । लच्किएका हाँगाका छेउछाउबाट र रूखका काँधहरूबाट भने सुनाखरीको बोटहरू मुस्कुराउँदै रहेछन् । भिन्दाभिन्दै स्वरूपहरू पस्केर उभिएका बोटहरू आ–आफ्नै तालमा हामीलाई हेर्दैछन् । थाकेर र भोकले हो कि जति हिँडे पनि आउँदैन त गन्तव्य । लवदेव मिश्र भन्दैहुनुहुन्छ ‘कतै गलत बाटो त हिँडेका छैनौँ ?’ 

टिनटिन घण्टी बजेको जस्तो आवाज सुनियो । मन्दिरमा बजेका घण्टीहरूको आवाज जस्तो छ । अब त मन्दिर आइपुग्नै लागेछाैं । गुरु रीता भन्दै हुनुहुन्छ । केही पर पुगेपछि पो थाहा लाग्यो वास्तविक घण्टीको आवाज । बाटोको बायाँतर्फ देखिए गाई भैँसीहरू घाँटीका घण्टी बजाउँदै चरिरहेका । बस्ती नजिकै छन् जस्तो छ अश्विनीजी सम्भाव्यता अवगत गराउँदै छन् । मानिसका आवाज सुनियो । अलि पर दायाँतिर देखिए दुईजना नारीहरू । कतै बाटो बिरायौंँ कि भन्ने मनमा चिसो पस्दै थियो । थाहा लाग्यो उनीहरूबाट धन्न सही नै रहेछ बाटो। 

हामी अहिले तेर्सो बाटो लाग्दैछौं । बाहिर पाटनबाट हेर्दा धुपीको मात्र वन हो कि जस्तो लागेको थियो । तर वनभित्र पसेपछि थाहा भयो वनभित्र विविध जातका रूखहरू रहेछन् भन्ने कुरा । एउटा रातोरातो तर अम्बाको जस्तो साइजको रूख देखियो त्यस रूखको बोटमा उक्लिएर फोटोहरू खिच्यौँ हामीले । एक प्रकारको परिचितजस्तो तर मीठो बास्ना आइरहेछ । कतै यो लेक लगाउने वासना त होइन डर पनि लाग्दैछ । बास्ना जति अगाडि बढ्यो उति नै बढी फैलिरहेको छ। 

धेरै बेर भैसक्यो तेर्सो हिँडेको मन्दिर आउँदैन त । फेरि मन डराउन थालिसक्यो कतै गलत बाटो त हिँडिरहेका छैनौं । दिन बाँकी भए त केही थिएन । तर दिन ढलिसक्यो । कतै यहाँ रात पर्याे भने ओतलाग्ने छाप्रा पनि छैनन् । न खाना नै केही छ ? घना जंगल मात्र छ । घर गोठ कतै देखिँदैनन् । अनि डराउनु परेन । आफ्नो मनले आफैँलाई भन्दै छ। 

जब अन्योल हुन थाल्छ मन अनि देखा पर्न थाल्छन् टुप्लुक्क मानिसहरू । यहाँ पनि बाटोदेखि पर दायाँँतिर दुईजना देखिए । सोध्यौं बाटो सही नै रहेछ । सायद वनमा गोठाला आएका हुन् कि यी । एकलासको वनमा मान्छे देखिँदा पनि केही आशा पलाएजस्तो हुँदो रहेछ अनि डर हराएँझैं । समाज अनि मानिस कति खाँचो पर्दाे रहेछ मानिसका लागि । त्यसैले त बनेका रहेछन् संसारमा समाजहरू अनि देशहरू। 

‘यता पनि कतै नजिकै सायद गोठ हुनुपर्छ ?’ म भन्दै छु यी महिलालाई देखेपछि । तर घना जंगलले घेरिएको छ हामी हिँडेको बाटो । टुप्लुक्क सामुन्ने बाटोबाट आइपुगिन् कृष्णकली रावल कता जान्या हौ भन्दै । तर कहाँ छ पाटन ? कहाँ छन् गोठहरू ? केही देखिएका छैनन्। 

सेतो सुकेको परालका त्यान्द्रा जस्तो देखिए भुइँहरूमा छरिएका जस्ता । त्यान्द्राका बीच–बीचमा भने हरिया उम्रँदै गरेका घाँसका सजीवता मुस्कुराइरहेका रहेछन् । फेरि हिउँले थिचेर यसैगरी सुकेर त्यान्द्रो बन्दै फेरि पलाउन घाँसहरू । छेउमै अग्लाअग्ला धुपी, गोब्रे सल्ला, देवदारका रूखहरू पनि वसन्तलाई चिहाएर मुस्कुराइरहेका रहेछन् । सुकेको घाँसमाथि बसेर लवदेव गुरु बाँड्दैछन् भुटेको आलसको गेडा। 

अब भने फेरि उकालो आएछ उक्लँदै छौं हामी । केही उक्लिएपछि पानीको धारो र सानो ट्याङ्की देखा पर्याे । फोहोर जस्तो लागे पनि डराइ–डराइ धित मरुञ्जेल पानी पियौं । पानी छिटाउने मेलो मेसो गर्दैछ र बिस्तारै रफ्तार बढाउँदै छ । केही यात्री दर्शन सकेर फर्कँदै रहेछन् भेट्यौँ हामीले । आइपुग्नै लाग्यो करिब आधा घण्टामा पुग्छाैं रे अब उनीहरूका अन्दाजमा । उकालो उक्लिनै रहेछौं हामी।

केही सम्म परेको ठाउँमा आइपुग्यौँ । एरोहरू राखेको रहेछ त्रिवेणीतिर जाने र अछामतिर जाने । अब त आई पुग्यौँ भनेर मख्ख परेका हामी ओरालो पो झर्दै छौं त अछामतिरको । ‘हैन मन्दिर त टुप्पोमा होइन ? हाम्रा पाइला त तलतलतिर पो ओर्लँदै छन् त । गलत बाटोमा त आएनौँ ?’ म भन्छु । पाँचै जना अलमल्ल पर्दैछौँ तर गोडा ओर्लिँदै छन् तल झन् तल । हामी एक अर्कालाई हेर्दै मुखामुख गर्छाैं । गाइडको मूल्यको ज्ञात हुँदैछ बल्ल  । ‘हत्तेरी यहाँसम्म आएर पनि सहस्रलिङ्ग दर्शन गर्न नपाइने हो कि ?’ मन अन्योलमा पर्दै दुःखी बन्दै छ भित्रभित्रै।

तर हाम्रो अछामतिरको गन्तव्यहीन यात्रालाई रोक्न आकाशले ठूलै पानी बर्साउनु पर्याे । वर्षादी कोच्न थाल्यौं जिउभित्र तर अलिअलि चोखोपानीले जीउ त चोखाइहाल्यो । सायद हिजोदेखि नफेरेका लुगा थिए शरीरमा त्यसैले चोखाइदिएको होला भनेर एकअर्कालाई भन्दै अघि आएको बाटोतिर नै फर्कियौंँ । मुसलधारे पानी पो पर्न थाल्यो अब त । लगाएको जुत्तालाई त रेनकोटले नै पो के गर्न सक्थ्यो र ? पूरै मोजासम्म नै भिजी हाल्यो बर्सेको पानी र बगेका पानीमा डुबेर । बराल गुरुले भने मोजा मात्र लगाएर जुत्ता ब्यागमा राखेर भोलिका लागि जोहो गर्नुभयो जुत्ताको । थोरै अघि बढेपछि टहरो भेटियो । पानी दर्किँदै थियो । वर्षादी लगाएर पनि हिँड्न मुस्किल पर्दै थियो । त्यसैले त्यहाँभित्र छि¥यौं । छिरेको मात्र के थियौं असिना पो बर्सिन थाल्यो। 

‘अघि बाटोमा भेटेका यात्री नराम्रोसँग भिजे होलान् है’ मिश्र गुरु सम्झँदै छन् । करिब बीस पच्चिस मिनेटपछि बल्ल रोकियो असिना पानी । असिना पानीमै गुरु रीता कार्की  र गुरु लवदेव मिश्र, अश्विनीजीको फोटो बराल गुरुले खिचिदिनु भयो । मलाई जाडो भएकोले पानीमा रुझेर फोटो खिच्न मन लागेन । भित्र बसिनै रहेँ असिना पानी नरोकिउञ्जेल। 

हामी अघि आएको बाटोबाट दायाँ जानुपर्ने रहेछ बायाँ लागेछाैं त्यसैले पो बाटो छलिएछ । अब भने टहरो छेउमा भएको दायाँतिरको बाटो नछोडिकन थोरै–थारै उक्लिएको उकालो लाग्यौं । खानेपानी यता, गणेशको मन्दिर यता भनेर एरो साइन बोर्ड टाँसिएको रहेछ  । त्यता ऐरोले देखाएको तलतिरको बाटो नगइकन माथितिर गएको बाटोबाट हामी हिँडिरहेका छौं। 

सानो–सानो पहाडका थुम्का नै हो किजस्तो पो देखिँदै छ एउटै आकारको स्वरूपमा रहेको केही ठूला ढुंगाका शिलाहरू । सबैभन्दा अग्लो दुईवटा ढुंगासँगै जोडिएजस्तो देखिएको छ तलबाट । नजोडिएको केही भाग गुफाजस्तो पनि देखिएको छ । त्यसै ढुंगाको छेउमा पुग्दैछौं हामी । तीनवटा चुचुरा भएको शिला देखियो । यसलाई महादेव, पार्वती र गणेशको प्रतिमूर्मिका रूपमा मानिँदै आएको रहेछ।

ढुंगाको माथि उक्लन सिँढी बनाइएको रहेछ । त्यसलाई उक्लँदै गर्दा बाटोको दायाँबायाँ घण्टाहरू टन्नै झुण्डाइएका रहेछन् । हिमशृंखलाजस्तो लहरै सानाठूला आकारमा हिमालहरू देखिएझैँ देखिँदैछन् भक्तहरूले चढाएका यी घण्टहरू । 
ध्यानमा बसेका शिवलाई बीउ जगाएर आशीर्वाद माग्न भनेर चढाएका होलान् भक्तहरूले यी घण्टहरू’ म भन्दै छु । ‘सायद होलान्’ बलदेव गुरु थप्दैछन् सही । घण्टाहरूको पर्वत शृंखलालाई पार गर्दै उक्लँदैछौँ हामी फलामको बारलाई समाउँदै । त्यस भीमकाय ढुंगाको टुप्पामा पुग्न । सानो फलामे पुल तर्नुपर्ने रहेछ उक्त ढुंगाको चुचुरो टेक्नलाई । पुल तर्नेबित्तिकै झण्डै–झण्डै हराएका शिवजी भेटिए । सहस्रेश्वर महादेव नै सहस्रलिङ्ग भएर बसेका रहेछन् यहाँ । पहाडको टुप्पोले मात्र नपुगेर त्यसमाथि पनि भीमकाय ढुंगा खडा गरेर त्यसको माथि चुचुरामा आलिसन महल खडा गरी वरिपरि घना जंगलको बीचमा शिव ध्यानमा मग्न रहेछन् हामी पुग्दा । पाती चढाएर दर्शन गर्याैं। हामी आएको जनाउँ दिन घण्टीहरू बजायौं आ–आफ्नो शक्ति प्रदर्शन गर्दै । खै शिवले ध्यान खोले कि खोलेनन् हेरेर बस्न भने भ्याएनांै र ओर्लियौँ अर्काे तर्फ । उसैगरी बनाएको बाटो अनि तलैसम्म झुण्डाएका घण्टाहरूलाई बजाउँदै। 

दिनलाई ढाल्दै रातलाई ओराल्दै खेचरधाममा शिवलाई भेटेर मन आनन्दित र प्रफुल्लित बनाएर शान्त भएर फर्कियौंं । शिवलाई दर्शन दिन बोलाएकोमा धन्यवाद भन्दै । अब भने धेरैबेर रोकिने समय थिएन । फेरि पानी आउला भन्ने डर पनि उस्तै थियो । त्यसैले अघि आएको बाटो फर्कियौं । पानीको प्यासले निकै सताए छ अश्विनीजीलाई । खानेपानी लेखेकोतिर डौडिए। 

‘निकै बेर लगाउनु भयो अश्विनीजीले’ बराल गुरु पर्खाै भन्न थाल्नु भो । हिलै भएर भिजेर पो आइपुगे उनी । अघि भिज्न बाँकी भएको लुगा पनि अहिले भिजेछ । पानी त भेटेनछन् तर नराम्रोसँग लड्न पो पुगेछन् यी प्रेमालयका गुरु । बाटोमा भन्दै थिए ‘अलि–अलि पाप बाँकी थियो होला, त्यो पनि सकाउन लडाएका होलान् शिवले’ आफैंलाई सान्त्वना दिँदै। 

अघि उक्लिएको बाटो अलि लामो भए पनि तेर्साे–तेर्साे हुँदै उकालो चढेका थियौं । तर सहस्रलिङ्गको छेउबाट त्रिवेणी धाम निस्कने बाटो भने पूरै ठाडो उकालो रहेछ । बाटो सहज छ भनेर पतञ्जलीका गुरुहरूले अघि आएको बाटोको प्रयोग उक्लनका लागि गर्नुभएको कुरा बल्ल थाहा लाग्यो यहाँबाट त्रिवेणी धाम ओर्लँदै गर्दा। 

उकालो नै उकालो कतै तेर्साे बाटो नै रहेनछ कि झैँ लाग्दै छ ओर्ली रहँदो यो बाटो अहिले । धन्न उताबाट आएछौं जस्तो पनि लाग्दैछ बाटोको उकालो देख्दा । तर ओर्लँदा यो बाटोको प्रयोग पनि ठीक लाग्दै छ । दुवैतर्फ हेर्ने मौका जो मिलेको थियो । अनि छिटो पुगिन्छ भन्ने आस पनि पलाउँदै छ। 

गुरु रीता टिप्दै हुनुहुन्छ चुचुरोको छेउमा उम्रेका बेसारको सानोसानो पात जस्तो अकारको झार । निकै टिपेर राख्नु भयो झोलामा । बलदेव गुरुले पनि केही टिप्नु भयो । यो साग खानका लागि हुन्छ रे । मैले केही उखेलेर मुखमा हालेको त तितो न तितो रहेछ । ओकली हाँले कतै लेक लागि हाल्ला कि भन्ने डर अनि तितो जो थियो। 

ढुंगाको सिँढी प्रयोग गरिएको यो बाटो व्यवस्थित रहेछ अघि आएको बाटो भन्दा । वैशाख महिनामा गंगा दशहराको भव्य मेला लाग्ने रहेछ यो खप्तड क्षेत्रको त्रिवेणी धाममा । यहाँ स्नान गर्ने अनि त्यहाँ वरिपरि रहेको धार्मिक स्थलहरूको दर्शन पनि गरिँदो रहेछ।

दस दिनसम्म दशहराको मेला लाग्ने रहेछ खप्तडमा । ‘अझ मेला सकिने दशौं दिनमा भने झनै भीडभाड लाग्छ रे । यो ठाउँमा सुदूरपश्चिमको प्रायः जिल्लाबाट मेला भर्न घुँइचो नै लाग्छ रे पदमराज जोशीले भन्दै थिए हामीलाई काठमाडौंमा हुँदै । त्रिवेणी खोलामा नुहाएर यही बाटो हुँदै उकालो लाग्ने रहेछन् भक्तहरू शिवलाई दर्शन गर्न । र त यो बाटो व्यवस्थित भएको रहेछ। 

भरे यही वर्षादीलाई सिरान हालेर सुत्नु छ हिजो जस्तै । त्यसैले पानी रोकिए पनि चिसो पनि नहुने भिजेको पनि सुक्ने भएकोले पानी रहे पनि फुकालेकी छैन मैले मेरो शरीरबाट वर्षादी । अनि छोडेकी छैन सँगै लिएर आको लौरो ओरालो झर्दा घुँडाको औषधि बनाएर टेक्दै छु । अघि माथि देखिएको जस्तो रातै डाँठहाँगा भएको केही रूख यहाँ भिरालोमा उभिइरहेका रहेछन्। 

निकै तल पुगेपछि हामी ओर्लँदै गरेको बाटोको बायाँतिर खोला बग्दै थियो सानो आकारमा । अघि उकालो लागेदेखिको प्यास अञ्जुलीमा उभाएर कोइरालाले अघाउञ्जेल पिए । अब भने हामी सँगसँगै बग्दै छ सोलिंग खोलो । दायाँबायाँ विविध जातका रूखहरू र धेरै जसो धुपीका हिउँले लच्काएका हाँगा बोकेका रूखहरूले हाम्रो गतिलाई एकोहोरो हेरिरहेका छन् । रात पर्न लाग्यो छिटो जाओ भन्दै छन् बेलाबेला हावासँगै बहेका रूखका पातहरूले सुसेल्दै । बल्ल हामी ओरालो झरेर अलि सम्म परेको ठाउँमा आइपुग्यौं।

‘अब भने ओरालो सकिएजस्तो छ’ गुरु बराल भन्दै हुनुहुन्छ । केही बेरसम्म हिँडेपछि हामी त्रिवेणीको छेउमा आइपुगेछौँ हरिया पाटन पनि देखिए । हामीसँगै आएको खोलालाई तरेर हामी उकालो लाग्यौं हामी बसेको धर्मशालाको टहरोमा पुग्न। 

यहाँ जेठमा गंगा दशहरा तथा अनन्त चतुर्दशीमा ठूलो मेला लाग्दछ । भोलि जेठ एक गते गंगा दशहराको मेला सुरु हुने भएकोले भीडभाड बढ्न थालिसकेको रहेछ । पाटनको ठाउँ–ठाउँमा टेन्ट गाडेर पसल पनि थाप्न थालिसकेका रहेछन् स्थानीय केही व्यापारीहरूले । नयाँ अनुहारका मानिसहरू टन्नै देखिए टहरो वरिपरि । कैलाश ढुङ्गाको नजिकै पनि टेन्ट गाडिएको रहेछ । बझाङ छान्ना गाउँकी बैशाखी रोकायाको फोन आयो मलाई ‘म खप्तड पुगें । तपाईं कहाँ हुनुहुन्छ । छिट्टै आउनुस् डेउडा नाच्नु पर्याे।’ 

हामी हाम्रो गन्तव्यमा पुग्दा भर्खरै कविता वाचनको कार्यक्रम सुरु भएको रहेछ, साँझमा वरिपरि दियोहरू बालेर । र यो कार्यक्रममा भाग लिन पाइन भनेर दुःख लागि रहेको थियो । गुरु लोकराज बरालले माथि उकालो लाग्दा कार्यक्रम पनि भ्याउनु हुन्छ नआत्तिनुस् भनेको सही नै भयो अहिले । नेपाली कविहरू र भारतीय कविहरूका कविताले खप्तडका पाटनहरू गुञ्जायमान बनिरहँदा स्थानीयहरूले मन्त्रमुग्ध भएर कविता श्रवण गरिरहे । कविताको रसले मन झिजेछ यहाँका मनहरूलाई, भन्दै थिए ‘भोलि पनि काव्यको कार्यक्रम राख्न पाए हुन्थ्यो । भोलि पनि बस्नुहोस् न तपाईंहरू।’ 

खप्तडको पाटनमा बसेर यहाँका हरिया चिसा पाटन अनि धूपीका बोटहरूलाई यहाँदेखि तलका पहाडहरूमा फागुन–चैत महिनामा पहाडमा लगाइने या लाग्ने डढेलो जसले त्यहाँका रूखहरूले भोग्नुपर्ने पीडा– कविताको शीर्षक ‘म फुल्दाफुल्दै मर्न नसकेकी सिमलकी रुख’ मार्फत आगोको रापको पीडा सुनाइ रहें । विस्मृत भएर सुनिरहे यहाँका पाटनहरूले, धूपीहरूले, देवदारहरू अनि यहाँका मनहरूले.......। 

 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App