१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यु–१५ च्याम्पियनसिपको तयारी पूरा

प्रतियाेगिताकाे तयारीबारे जानकारी गराउँदै एन्फाका कार्यवाहक अध्यक्ष उपेन्द्रमान सिहं (बीच) । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौ –  अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबारबाट आयोजना हुने साफ यु–१५ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

१७ सम्म सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहनेछ।

एन्फाले दुई साता अघि प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको थियो । यसका लागि एन्फाले एकेडेमीमा रहेका २६ र विभिन्न जिल्लाबाट छनोट भएका ४५ खेलाडीलाई सावेश गर्दै संयुत्त रुपमा प्रशिक्षण गराएको थियो।

सो प्रशिक्षणबाट एकेडेमीका १९ र विभिन्न जिल्लाबाट आएका ५ खेलाडीले अन्तिम टोलीमा स्थान बनाउन सफल भएका थिए ।नेपाली टोलीको मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा मनीष तिमल्सिना रहेका छन्।

नेपाल प्रतियोगिताको साबिक उपविजेता हो । गत वर्ष घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो।

नेपालले समूह ‘ए’ मा माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ  भने समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान छन्। नेपालले पहिलो खेलमा बिहीबार माल्दिभ्सको सामना गर्नेछ भने दोस्रो खेलमा सोमबार बंलादेशको सामना गर्नेछ।

‘एकेडेमीका खेलाडीहरु निरन्तर प्रशिक्षणमा छन् । त्यस्तै विभिन्न जिल्ला बाट छनोट भएका उत्कृष्ट पाँच खेलाडीको उपस्थितीले पनि  यस पटक टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी आशाबादी छौ,’एन्फाका कार्यवहाक अध्यक्ष उपेन्द्रमान सिंहले भने।

प्रतियोगितामा सहभागी टोली मध्ये पाकिस्तान,भुटान र माल्दिभ्सको टोली नेपाल आइसकेका छन् भने भारत र बंगलादेशको टोली बुधबार सम्म नेपाल आइपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई प्रशिक्षणका लागि हलचोकस्थित सशस्त्र प्रहरीको मैदान र मध्यपुर युथ एसोसिएसनको प्रशिक्षण केन्द्र सानोठिमीमा मैदानमा व्यवस्था मिलाइएको एन्फाले जनाएको छ । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रकाशित: ७ कार्तिक २०७५ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App