१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

सिटिइभिटीमा ‘पैसाको खेल’

काठमाडौं - काठमाडौंको बानेश्वरमा डेरा गरी बस्ने प्रमोद नेपाल पेसाले ट्याक्सीचालक हुन्। छोरीले एसइई गरेपछि उच्चशिक्षामा कुन विषय र कहाँ पढाउने भनेर उनले आफन्त, साथीभाइ, इष्टमित्रसँग सोधखोज गरे। उनका एक साथीले ‘स्थानीय तहको स्वास्थ्य संस्थामा प्राविधिक जनशक्ति अभाव छ । ल्याब असिस्टेन्ट पढाऊ। मेरी छोरी पनि त्यही विषय पढ्छिन् । जागिर पनि सजिलै पाइन्छ’ भने। साथीको सल्लाहबमोजिम उनी छोरीलाई ल्याब असिस्टेन्ट पढाउने निर्णयमा पुगे।

सोही क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा सेटिङ मिलाउने चिनजानकै बिचौलियासँग उनको भेट भयो । सिटिइभिटीका बिचौलियाले उनलाई ‘प्रक्रियाबाट त प्रवेश परीक्षामा नाम निकाल्न मुस्किल हुन्छ । बरु परीक्षा शाखाका कर्मचारीसँग सेटिङ मिलाऔं । छात्रवृत्तिमा नाम सजिलै निस्कन्छ । पैसा पनि कम लाग्छ । कलेज पनि रोजेर पढ्न पाइन्छ’ भन्ने प्रस्ताव राखे । बिचौलियाले उनलाई सिटिइभिटीबाट ल्याएको खाली कागजमा छोरीको नाम लेख्न र साथमा ९० हजार रुपैयाँ रकम दिन भने । उनले ९० हजार रुपैयाँसहहित छोरीको नाम लेखिएको खाली कागज बुझाए । छोरीको छात्रवृत्ति कोटामा ल्याब असिस्टेन्ट पढ्न नाम निस्कियो।

‘खाली पेपरसँगै पैसा दिएपछि छात्रवृत्तिमा नाम निस्कन्छ’

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर फर्किएका काभ्रेका श्याम अधिकारीकी छोरीले एसइईपछि नर्सिङ पढ्न जिद्दी गरिन् । उनलाई छोरीको इच्छाअनुसार नर्सिङ पढाउँदा राम्रैै हुन्छ भन्ने सल्लाह धेरैले दिए । त्यसका लागि उनले सबैतिर बुझे । उनको सम्पर्क सिटिइभिटीमा सेटिङ मिलाउने एक् बिचौलियासँग भयो । बिचौलियाले नर्सिङको छात्रवृत्तिमा नाम निस्कने र पैसा पनि कम लाग्ने उपाय बताए । छात्रवृत्तिमा नाम निस्कने पक्का भएको र पैसा पनि थोरै लाग्ने भएपछि अधिकारीले सजिलै बाटो रोजे । उनीसँग सिटिइभिटीका बिचौलियाले कर्मचारीलाई बुझाउन चार लाख चाहिन्छ भने । सो अनुसार बिचौलियाले उपलब्ध गराएको खाली कगजमा नाम लेखेर चार लाख बुझाए । छोरीको नाम नर्सिङको छात्रवृत्तिमा निस्कियो।

सप्तरीका सरोज यादवका छोराले भेटेनरी विषय पढ्ने रुचि देखाए । सरोजको इच्छा पनि छोरालाई प्राविधिक विषय पढाउने थियो । त्यसैले उनले छोरालाई भेटेनरी पढाउन काठमाडौं आए । यताउती बुझ्दा उनको भेट पनि सिटिइभिटीका एक बिचौलियासँग भयो । बिचौलियाले ६० हजार दिए कर्मचारीसँग सेटिङ मिलाएर भेटेनरी पढ्न छात्रवृत्तिमा नाम निकालिदिने बताए । उनले पनि मागेको पैसासँगै उसैको ‘आइडिया’ अनुसार खाली कागजमा नाम लेखेर बिचौलियालाई बुझाए । यादवको छोराको नाम पनि भेटेनरीको छात्रवृत्तिमा निस्कियो।

यी घटनाले सिटिइभिटीमा बिचौलियासँगको सेटिङमा कर्मचारीबाट भइरहेको बदमासीलाई पुष्टि गर्छ । सिटिइभिटीमा यसरी सेटिङ मिलाउने अधिकांश बिचौलिया सिटिइभिटीबाट सम्बन्धनप्राप्त निजी टेक्निकल इन्स्टिच्युट तथा नर्सिङ कलेजका सञ्चालक नै हुन् । सिटिइभिटीमा यो हदसम्मको बदमासी हुँदा पनि सम्बन्धित निकाय मौन र बेखबर छ।

नागरिकसँगको सम्पर्कमा आएका सिटिइभिटीका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा सिटिइभिटीमा बिचौलियासँगको सेटिङमा हुने परीक्षा अनियमितता अहिले पनि निरन्तर रहेको बताए। पहिला यस्तो काम खुलेआम हुँदै आएकोमा पछिल्लो समय सो काम गोप्य रुपमा हुन थालेको उनले बताए । ‘स्कलरसिप फिक्सिङ’ नौलो घटना नभएको भन्दै उनले ४० सिट संख्या भएको संस्थामा ३ वटा सिट छात्रवृत्ति कोटाका लागि अनिवार्य छुट्याउनुपर्ने हुनाले यसमा निजी शिक्षण संस्था सञ्चालकहरुले नियमनकारी निकायसँगकै मिलेमतोमा चलखेल गर्ने गरेको बताए । सिटिइभिटीको छात्रवृत्तिमा यसरी चलखेल हुनेमा नर्सिङ, सिएमए, सब इन्जिनियर (ओभरसियर) सिभिल, ल्याब असिस्टेन्ट, भेटेनरीलगायतका विषय रहेको स्रोतको दाबी छ।

बिचौलियासँगको सेटिङमा पैसा खुवाएर सिटिइभिटीबाट छात्रवृत्तिमा ल्याब असिस्टेन्टमा छोरीको नाम निकाल्न सफल ट्याक्सीचालक प्रमोद नेपालले बिचौलियामार्फत घुस खुवाएर सिटिइभिटीबाट छात्रवृत्तिमा ल्याब असिस्टेन्टमा छोरीको नाम निकालेकोे जिज्ञासामा नागरिकसँग भने, ‘छोरीलाई ल्याब असिस्टेन्टमा पढाउँदा राम्रो हुन्छ भन्ने सबैको सल्लाह भयो । १८ महिने कोर्स पूरा गरी तीन महिना सरकारी अस्पतालमा इन्टनरसिप गरेपछि प्रमाणपत्र हात लाग्ने र जागिर पनि सजिलै पाइने रहेछ । बुझ्दै जाँदा १८ महिने ल्याब असिस्टेन्टको कोर्स पूरा गर्न एक लाख ६० हजारभन्दा बढी लाग्ने देखियो । प्रतिस्पर्धाले गर्दा नाम निकाल्न पनि कठिन हुन्छ भन्ने सुनियो।’

‘९० हजार रुपैयाँ नाम लेखेको खाली कागजसँगै बुझाएपछि सिटिइभिटीबाट छात्रवृत्तिमा नाम निस्कने पक्का भयो । यसअघि यसरी पैसा दिएर सिटिइभिटीबाट छात्रवृत्तिमा नाम निकालेका चिनजानका मानिसले पनि पैसा दिँदा हुन्छ फस्दैन काम हुन्छ,’ उनले भने । छात्रवृत्तिमा नाम निस्केपछि रोजेको ठाउँमा पढाउन पनि पाइयो । अन्य ठाउँमा भन्दा सस्तोमै पढाउन सकियो । ७० हजार भए पनि जोगियो । त्यसैले बिचौलियामार्फत दाम दिएर नाम निकालियो,’ उनले भने।

नेपालले सिटिइभिटीबाट सम्बन्धन प्राप्त काठमाडौंकै एक निजी टेक्निकल इन्स्टिच्युटका सञ्चालकमार्फत उक्त काम गराएकोे पनि खुलासा गरे।

नागरिकको सम्पर्कमा आएका अधिकारीको भनाइ पनि नेपालसँग मिल्दोजुल्दो छ । उनले छोरीको रहर पूरा हुने र थोरै पैसामा काम हुने भएकाले बिचौलियामार्फत छात्रवृत्तिमा नाम निकाल्ने काम गरिएको सुनाए । ‘बाहिर बुझ्दा नर्सिङ पढाउन सात–आठ लाख लाग्छ भन्ने सुनियो । बिचौलियाको सेटिङमार्फत चार लाखमै काम हुने देखियो । त्यसैले सजिलो माध्यम रोजिएको हो । काम हुने भएपछि दाम दिइएको हो’, उनले भने।

सिटिइभिटीका एक पूर्वपदाधिकारीले कर्मचारीले नाम लेखेको खाली उत्तरपुस्तिकामा आफैंले उत्तर लेखेर बुझाएको हुनसक्ने बताए । बिचौलिया, परीक्षा दिने, परीक्षा लिने, परीक्षण गर्ने र नतिजा प्रकाशन गर्नेबीचको मिलेमतोमा मात्र यस्तो बदमासी हुने उनको भनाइ छ।

शिक्षा मन्त्रालयका एक अधिकारीले सिटिइभिटीमा हुँदै आएको यस्तो बदमासी आफूले पनि सुनेको बताए । बिचौलिया र कर्मचारी मिलेपछि नेपालमा असम्भव भन्ने कुरा केही पनि नभएको उनको भनाइ छ । यो कुरालाई छात्रवृत्तिमा छोरीको ल्याब असिस्टेन्टमा नाम निकालेका नेपालले पनि नागरिकसँग पुष्टि गरे । उनले नामलगायतको विषय लेखेर दिएको खाली कागज उनीहरू आफैंले भर्ने भनेर लगेका हुन् तर, के लेखे, के गरे, छात्रवृत्तिमा कसरी नाम निकाले त्यो कुरा भने आफूलाई थाहा नभएको बताए । सर्तबमोजिम काम सम्पन्न भएपछि त्यसको पछाडि लाग्न आवश्यक नरहेको उनको जिकिर छ।

शिक्षा मन्त्रालयका सहायक प्रवक्ता विष्णुप्रसाद मिश्रले सिटिइभिटीमा हुने यस्ता बदमासीको विषयलाई लिएर अहिलेसम्म मन्त्रालयमा कुनै उजुरी नआएको बताए । छात्रवृत्तिमा अनियमितता भएकोसम्बन्धी कसैले प्रमाणसहित उजुरी ग-यो भने मन्त्रालयले आवश्यक छानबिन र अनुगमन गर्ने समेत उनले स्पष्ट पारे । सिटिइभिटीको छात्रवृत्तिमा मापदण्ड बनाइएको भन्दै खाली कागजमा त्यहाँका कर्मचारी आफैंले भरेर बुझाए मात्र त्यस्तो हुन सक्ने मिश्रको भनाइ छ । उनले त्यहाँ धेरै विषय भएकाले हेर्न कठिनाइ रहेको सुनाउँदै संस्थामा भइरहेको यस्ता क्रियाकलाप र कर्मचारीको आचरण सुधार गर्ने विषयमा मन्त्रालयले विशेष ध्यान दिने समेत बताए । कर्मचारीको आचारसंहिताले पनि यस्तो गतिविधि गर्न नमिल्ने उनको दाबी छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App