१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन मासेर बोर्डिङ

वन मासेर सञ्चालन भएको स्कुलको भवन। तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत - लेकवेंसी नगरपालिका–१० भट्टेघारीस्थित रुरल एजुकेसनल डेभलपमेन्ट एकेडेमी (रेडा) ले वन मासेर बोर्डिङ स्कुल सञ्चालन गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा परेको उजुरीका आधारमा सुर्खेत डिभिजन वन कार्यालयले गरेको अनुसन्धानका क्रममा रेडाले डेढ विघा जंगल मासेर बोर्डिङ स्कुल सञ्चालन गरेको पाइएको हो।

‘धुलियाविट–भेडाबारी सडक खण्डअन्र्तगत पर्ने भट्टेघारीको डेढ विघा वन क्षेत्र मासेर सात वर्षदेखि बोर्डिङ सञ्चालन भइरहेको पाइएको हो,’ चिंगाड सबडिभिजन वन कार्यालयका प्रमुख भोजप्रसाद उपाध्यायले भने, ‘आवश्यक कारबाहीका लागि हामीले डिभिजन वन कार्यालयमा प्रतिवेदन बुझाएका छौं।’

वन मासेर स्कूल सञ्चालन गरेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। अख्तियारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई छानबिनका लागि निर्देशन दिएको थियो। मन्त्रालयले छानबिनको निर्देशन दिएपछि तत्कालीन जिल्ला वन कार्यालयले उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिले दुई महिना लगाएर गरेको छानबिनका क्रममा २०६९ सालमा वन फडानी गरेर बोर्डिङ स्कुल सञ्चालनमा ल्याइएको पाइएको हो । ‘अहिले पनि बोर्डिङ स्कुलले बनाएका पक्की भौतिक संरचना वरपर रुखका ठुटाहरु छन्,’ छानबिन समितिका संयोजकसमेत रहेका उपाध्यायले भने, ‘वन फडानी गरेर बोर्डिङ स्कुल सञ्चालन भएको पाइएकाले सोही अनुसार कारबाही प्रक्रिया अगाडी बढाउन सिफारिस गरेको छु।’ उनले बोर्डिङ स्कूल स्थापना भएको जमिनको वैधानिकताका बारेमा आवश्यक प्रमाण पेस गर्न सञ्चालकलाई मौका दिइए पनि स्कुल सञ्चालक हरिप्रसाद रेग्मीले जमिनको वैधानिकता पेस गर्न नसकेको बताए।

‘स्थानीय रानी चौतारी सामुदायिक वन, स्थानीय बासिन्दासँगको छलफलका क्रममा बोर्डिङ स्कुल रहेको क्षेत्र राष्ट्रिय वन भएको र सोही वन फडानी गरेर बोर्डिङ स्कुलले भौतिक संरचना निर्माण गर्नुका साथै छ वर्षदेखि सोही क्षेत्रमा पठनपाठन गरेको देखियो,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउनु उपयुक्त देखिन्छ।’

बोर्डिङ स्कूल खारेज गर्न सिफारिस
सुर्खेत डिभिजन वन कार्यालयले छानबिन समितिको प्रतिवेदनका आधारमा स्कुलको दर्ता खारेज गर्न शिक्षा विकास तथा समन्वय इकाईमा पत्राचार गरेको छ । असोज २५ गतेको मितिमा डिभिजन वन कार्यालयले पठाएको पत्रमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर निजी स्कुल सञ्चालन गरेको पाइएकाले दर्ता खारेज गर्नेतर्फ आवश्यक कारबाही गर्नु भन्ने उल्लेख छ।

‘राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी सोही ठाउँ बस्ने हरिप्रसाद रेग्मीले रुरल एजुकेसनल डेभलपमेन्ट एकेडेमी (रेडा) नामक बोर्डिङ स्कुल सञ्चालन गरिरहेको पाइएको छ,’ शिक्षा विकास तथा समन्वय इकाईमा पठाइएको पत्रमा उल्लेख छ, ‘वन क्षेत्र अतिक्रमण गरी अवैद्य रुपमा निर्माण भएको बोर्डिङ स्कुलको दर्ता खारेज गर्नेतर्फ आवश्यक कारबाही गर्नु हुन अनुरोध छ।’

प्रकाशित: ७ कार्तिक २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App