१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जितिया नुहाउन गएकी महिलाको पोखरीमा डुबेर मृत्यु

रौतहट– आफ्नो छोराको दीर्घायुका लागि गरिने जितिया पर्वको अघिल्लो दिन नुहाउन जाँदा पोखरीमा डुबेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बगही वार्ड नम्बर १ की २१ वर्षीया सीमा सहनीको गाउँकै पोखरीमा डुबेर बिहीवार मृत्यु भएको हो।

बगही १ स्थित पोखरीमा नुहाउन जाँदा बिहीवार बिहान करिब  ११ बजे डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पोखरीमा नुहाउने क्रममा महिला सहनी गहिरो पानीमा जाँदा डुबेपछि स्थानीय बासिन्दाहरुले बाहिर निकालेका थिए। पानीमा डुबेर अचेत भएकी महिलालाई उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रौतहट प्रहरीका डिएसपी नवीनकृष्ण भण्डारीले बताए।

जितिया पर्वको अघिल्लो दिन नदी वा पोखरीमा गई सन्तानवती आमाले लोकदेवता जीतवाहनलाई आह्वान गर्दै घिरौलाको पातमा तोरीको पिना र तेल चढाउने चलन छ। तेलसहितको पातलाई पानीमा बगाउने चलन रहेको छ। घिरौलाको पात गहिरो पानीमा बगाउन जाने क्रममा महिलाको मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान रहेको छ।

बेहोस भएकी महिलालाई गौर अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए। निजको पोष्टमार्टम गरी उनका परिवारजनलाई शव जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७३ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App