१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक वर्षमा २ अर्व २४ करोड रेमिट्यान्स भित्रियाे

धादिङबेसीमा रहेको कला इन्टरनेशनलमा रेमिट्यान्स सेवा दिन आएका लाभग्राहीहरु। तस्बिर : नागरिक

धादिङ – धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा जानेहरुको लर्को जति लाग्छ, त्यति नै रेमिट्यान्स पनि आउने गरेको छ। जिल्लामा एक वर्षको अवधिमा २ अर्व २४ करोड रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ। दैनिक ३ सयदेखि ५ सय जनासम्म रेमिट्यान्सका लागि आउने गरेको धादिङेबसीमा रहेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गिरीले बताए। 

कला इन्टरनेशनल प्रालिको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/०७५ को अवधिमा उत्तरी धादिङ र सदरमुकाम आसपासका स्थानीयहरुले २ अर्व २४ करोड ५२ लाख ८३ हजार ५ सय २४ रुपैयाँ रेमिट्यान्सको रुपमा बुझेका थिए। यो रकम आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ५ प्रतिशतले बढी हो। २०७३/०७४ मा २ अर्व १३ करोड ८३ लाख ६५ हजार २ सय ६१ रुपैयाँ धादिङ भित्रिएको थियो।  यो रकममा धादिङको दक्षिणी क्षेत्र अर्थात राजमार्ग क्षेत्रमा भित्रिएको रेमिट्यान्स जोडिएको छैन। 

विशेष गरी उत्तरी धादिङ र मध्ये क्षेत्रका स्थानीयहरुले सदरमुकामको कला इन्टरनेशनल लगायत सदरमुकामका अन्य वित्तिय सस्थाहरुबाट रेमिट्यान्स बुझने गरेका छन् भने राजमार्ग क्षेत्रका विभिन्न वित्तिय संस्थाहरु तथा काठमाडौंबाट दक्षिणी धादिङमा रेमिट्यान्स भित्रिने गरेको गिरीले बताए। ‘अधिकाँश पुरुषहरु रोजगारीको लागि विदेश जाने र उनीहरुले आफ्नो श्रीमतीको नाममा पैसा पठाउने गरेको देखिन्छ’, गिरिले भने, ‘पछिल्ला वर्षहरुमा अध्ययनका लागि विदेशीएका युवाहरुले पनि आफ्ना बाबुआमाको नाममा पैसा पठाउने क्रम बढ्दो रहेको छ।’

२ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा क्षेत्र नं. २ मा आधिकारिक रुपमा रेमिट्यान्स कारोवार गर्दै आएको कला इन्टरनेशलमा धादिङका उत्तरी क्षेत्र र मध्ये क्षेत्रका स्थानीयहरु  विदेशबाट आफ्ना मान्छेले पठाएको पैसा लिन धादिङवेशी आउने गर्दछन्। विभिन्न रेमिट्यान्स कम्पनीहरुको आधिकारिक प्रतिनिधिको रुपमा सदरमुकाम धादिङवेशीबाट सेवा दिने कला इन्टरनेशनलको तथ्याङ्क अनुसार जिल्ला भित्रिएको कुल रकम मध्ये ८५ प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको छ। 

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार देशभर रेमिट्यान्स घटेको छ। तर धादिङमा भने विगतको बर्षमा भन्दा ५ प्रतिशतले रेमिट्यान्स बढेको हो। ‘गएको वर्ष भूकम्प पछि सरकारले घर बनाउन दिने अनुदान अनिवार्य लिनुपर्ने थियो’, गिरिले भने, ‘सरकारले दिने पैसाले मात्रै घर नबन्ने र घर पूर्णरुपमा बनाउन रोजगारीमा गएकाहरुले अलि बढि पैसा पठाएकाले पनि देशब्यापी रेमिट्यान्स घटेको बेलामा धादिङमा बढेको देखिएको हो।’

विदेशबाट आएको रकम मध्ये सबैभन्दा धेरै मलेसियाबाट भित्रिएको छ। साथै खाडी मुलुकहरु साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट पनि बढी मात्रामा रेमिटेयान्स भित्रिने गरेको कला इन्टरनेशल प्रालिले जानकारी दिएको छ। पछिल्ला वर्षहरुमा विदेशमा अध्ययन गर्न जाने युवाहरु बढेसँगै अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र अन्य युरोपियन देशहरुबाट पनि रेमिट्यान्स भित्रिने क्रम बढदो मात्रामा रहेको प्रवन्धक गिरिले जानकारी दिए। 

१ वर्षको तथ्याङ्क अनुसार चाडवाडको समय अर्थात असोज कार्तिक र माघ महिनामा धेरै रेमिट्यान्स आउने गरेको देखिएको छ भने सदरमुकामसम्म लिन आउनको लागि ग्रामिण यातायातको असुविधाका कारण साउन महिनामा थोरै रेमिट्यान्स आउने गरेको छ। धादिङमा रेमिट्यान्सबाट आएको रकम उपभोगका सामान, निर्माण सामाग्री, विलासिताका सामान खरिद, बालबालिकाको शिक्षादिक्षामा खर्च हुने गरेको नीलकण्ठ नगरपालिका १३ की सुनिता लामाले बताइन्। विदेशबाट भित्रिने रेमिट्यान्सको अलावा सदरमुकाम धादिङवेशीबाट दैनिक ४० देखि ५० लाख रुपैयाँसम्म बाहिरिने पनि गरेको छ।

प्रकाशित: ६ कार्तिक २०७५ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App