१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ट्याङ्की र  कलधारा मर्मतका लागि छुट्याइएको ३० लाख गायव

९५ वर्ष  अघि अर्थात १९८० सालमा  राणा प्रधानमन्त्री चन्द्र सम्सेरले  हात्ताबाट सामान ढुवानी गराएर  जाजरकोट खलंगाको जनताका लागि निर्माण गरेको बुदवुदीको जिर्ण भुमिगत पानी ट्याङ्की र यसको मुहान।  तस्बिर : जनक/नागरिक

जाजरकोट – राणा प्रधानमन्त्री चन्द्र सम्सेरले ९५ वर्ष अघि निर्माण गरेको यहाँको एक खानेपानी ट्याङ्की र  कलधाराहरु मर्मतका लागि सरकारले छुटयाएको  ३० लाख रकम  बिचैमा  गायव पारिएको छ। आर्थिक वर्ष  २०७३/७४ मा  जाजरकोटको  भेरी नगरपालिका वडा नम्वर  २ बुददुदीमा विक्रम सम्वत १९८० सालमा निर्माण गरिएको  ट्याङ्की र धारा मर्मतका लागि  खानेपानी तथा  सरसफाइ मन्त्रालयले दुई वर्ष अघि छुटयाएको बजेट  बिचैमा गायव भएको हो।

मन्त्रालयको जिल्लाहरूमा  कार्यान्वयन गरिने वार्षिक बिकास  नामक कार्यक्रमको रातो कितावमा उल्लेख भएको ३० लाख वजेट बिचैमा गायव भएर हराएको  २४ घन्टे पुरानो लाइन बुदवुदी १९८० हलदे खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर शाहले बताए। उनले   आर्थिक वर्ष २०७३/७४मा प्रकाशित मन्त्रालयको रातो कितावको पाना नम्बर २३७ को क्रम संख्या ३१  र वजेट शिर्षक  ३/१३/८०२ मा  २४ घन्टे  खानेपानी योजना पूननिर्माण भनेर ३० लाख छुटिएको बताए। उनले  झन्डै सय वर्ष पुग्न लागेको  उक्त खानेपानी मर्मतका लागि रातो कितावमा  विनियोजन भएको योजनाको रकम  धेरै कोशिष गर्दा पनि  पत्ता लगाउन नसकिएको बताए। उनले  दुइ वर्ष  अघिबाट  सो रकम खोजी गर्दै जिल्ला खानेपानी तथा  सरसफाइ सवडिभिजन कार्यालय,  खानेपानी विभाग र मन्त्रालयमा धाएपनि उक्त रकम कहाँ प्रयोग भयो भन्नेबारे पत्ता लाग्न नसकेको  गुनासो  गरे। 

राणा प्रधानमन्त्री चन्द्र सम्सेरले आफ्नी कान्छी रानी अर्थात जाजरकोटी राजाकी छोरी बालकुमारी शाहले आफ्नो माइतीका लागि कलधारा र  पानी ट्याङ्की नबनाएसम्म राणा दरबारको भुजा अर्थात भात बहिष्कारको घोषणा गरेपछि जाजरकोट खलंगाको  बुदवुदीको जंगलमा  हात्तीबाट सामान ढुवानी गरेर  इट्टा र सिमेन्टको प्रयोग गरी  उक्त ट्याङ्रकी र खलंगाका जनताको लागि १० वटा २४ घन्टे  कलधारा बनाइदिएको  स्थानीय ८५ वर्षीय योगसम्सेर  शाहले बताए। उनले  जाजरकोटबाट राणा परिवारमा  विहे गरेर गएपछि  कर्णेल हरिविक्रम शाहकी  छोरी बालकुमारीले  आफ्ना माइतीले  खानेपानीका लागि पाएको दुःख देख्न नसकेर  चन्द्रसम्सेरलार्इ  ट्याङ्की र धारा बनाइदिन आग्रह गरेकी थिइन्।

निकै  बलियो र  दिर्घकालीन स्वरुप र गुणस्तरमा निर्माण गरिएको  बदुवुदीको ट्याङ्की १० वर्षे युद्धका क्रममा  तत्कालीन माओवादीका कार्यकर्ताहरुले बम हानेर क्षति पु-याउँदै  जिआइ पाइप समेत तानेर लिए पछि  जिर्ण बनेको स्थानीयहरु वताउँछन्।  सय वर्ष पुग्न लागेको उक्त  खानेपानी योजनाको मर्मत सम्भार र संरक्षण गरी पुरातत्व विभागमा दर्ताको प्रक्रिया अघि वढाउन सबैले पहल गर्नुपर्ने स्थानीय कैलास सिंह खत्रीले बताए।  उनले पुरातात्वीक महत्वको  बुदवुदी खानेपानीको योजनाको वजेट  हराएको घटना दुःख लाग्दो भएको बताए।   

९५  वर्ष पुरानो  जिर्ण ट्याङ्की निर्माण गर्न  तत्कालीन  खानेपानी मन्त्री प्रेमबहादुर सिंहको पहलमा  ३० लाख रुपैयाँ वजेट छुट्याइएको  उपभोक्ता  समितिका अध्यक्ष  गोपालबहादुर  शाहले बताए।  उनले  बुदवुदीको  ट्याङ्की र  २४ घन्टे पुराना धाराहरूको पुर्ननिर्माण गरी  एक सताब्दी पुरानो  पुरातत्वीक महत्वको यो योजना संरक्षण गर्न डेढ करोढको   डिजाइन स्टमेट  समेत तयार पारिएको  बताए।  

सरकारले  दिएको रकम नै जिल्लामा नपुगेपछि बुदवुदीको  पानी ट्याङ्की र पुराना धाराहरू नासिने खतरा बढेको उनले बताए। यस वारेमा  जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयका निमित्त प्रमुख वीरबहादुर चन्दले  यस वारेमा आफुहरुलाई कुनै जानकारी नभएको र अब  हराएको वजेट खोजी गरिने बताए। 

सरकारी कर्मचारीहरूको गैरजिम्मेवारीका कारण बुदवुदीको खानेपानी संरक्षणका लागि आएको रकम हराएको स्थानीयहरूको गुनासो छ। दिर्घकालीन योजनाको रूपमा वनेको बुदवुदीको ट्याङ्की भएको क्षेत्रमा पहिले पाले वा पलम्बर वस्नेत घर र  हराभरा फलफूलहरूको बगैचा भएको र यसलाई पुरानै रूपमा सुन्दरता र  मौलिकता झल्किने गरी  पूर्ननिर्माण गरिनु पर्ने र आवस्यक वजेट जुटाउनु पर्ने स्थानीयको माग छ।   

उता  खानेपानी विभागका महानिर्देशक टेकराज  भट्टले  पनि बुदवुदीका लागि छुटिएको वजेटको खोजी गरिने बताए।  रातो कितावमा  लेखिएको योजना र  वजेट नहराउने  उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७५ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App