२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपचार खर्च माग्दै टीकापुर घटनाका घाइते

गोली लागेको ठाउँ देखाउँदै जगतराज देवकोटा।

टीकापुर – गोली लागेर घाइते भएका मोहन्याल गाउँपालिका–२, फल्लेबिसौनीका २३ वर्षीय जगतराज देवकोटाले राज्यसँग उपचार खर्च मागेका छन् । २०७२ भदौ १० गते जानकी गाउँपालिकाको दुर्गौलीमा सुरक्षाकर्मीले हानेको गोली उनलाई लागेको थियो।

तीन दिनअघि भदौ ७ गतेको टीकापुर घटनापछि जारी गरिएको कफ्र्यू उल्लंघन गरेको भन्दै उनलाई गोली हानिएको थियो । सुदूरपश्चिमलाई अखण्ड राख्ने कि खण्ड पार्ने भन्ने विषयमा भएको आन्दोलनका क्रममा एसएसपी लक्ष्मण नेउपानेसहित ८ जनाको ज्यान गएको थियो।

जानकी गाउँपालिकाको भगतपुरमा हजुरआमाको दाहसंस्कारका लागि से २ प ८१५३ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनलाई सुरक्षाकर्मीले गोली हानेका थिए । उनको पेट र खुट्टामा गोली लागेको थियो । गोली लागेर घाइते भएका देवकोटालाई सुरक्षाकर्मीले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएको थियो । थप उपचारका लागि देवकोटालाई त्यहाँबाट नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमा डेढ महिना उनको उपचार भएको थियो।

आर्थिक अवस्थाले धान्न नसकेपछि उनी थप उपचारका लागि भारतको चन्ढीगढ गएका थिए । त्यहाँ शरीरमा अड्किएको छर्रा निकालिएको देवकोटाले बताए । चन्ढीगढामा ६ महिना उपचार गरेर घर फर्किएको उनले बताए । उपचारमा चार लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । उपचारका गर्दा लागेको ऋण तिर्न अहिले उनी मजदुरी गर्दै आएका छन् । भारतबाट भर्खरै घर फर्किएका उनले सोमबार टीकापुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपचारमा लागेको खर्च राज्यले व्यहोर्नुपर्ने बताएका हुन्।

२०७२ भदौ १० गते सुरक्षाकर्मीले हानेको गोली लागेर घाइते जगतराज देवकोटाले राज्यसँग उपचार खर्च मागेका हुन् । उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारीले उपचार खर्च उपलब्ध हुने भन्दै कागजात तयार गर्न लगाएका थिए । तर अहिलेसम्म पाएका छैनन्।

उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारीले उपचार खर्च उपलब्ध हुने भन्दै कागजात तयार गर्न लगाएका थिए । उनी २०७३ सालसम्म पटक–पटक जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका थिए । उनले उपचार खर्च पाउने संभावना नदेखेपछि आफू ऋण तिर्न रोजगारीका लागि भारत गएको देवकोटाले बताए । ‘पटक–पटक धाएँ । त्यतिबेला अरूले पनि पाएका छैनन् भन्ने जवाफ पाएँ,’ उनले भने, ‘अहिले सबैले पाइसकेका छन् । म मात्रै उपचार खर्च पाउनबाट छुटेको छु।’

औषधोपचार खर्च माग गर्दै इलाका प्रहरी कार्यालय टीकापुरले तयार पारेको घटना मुचुल्का, जानकी गाउँपालिकाको सिफारिस पत्रलगायत सबै कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय टीकापुरलाई २०७४ भदौ २१ गते चलानी नम्बर १६११ को पत्र पठाई घटनाको स्थलगत मुचुल्का बुझाउन निर्देशन दिएको थियो।

उनका अभिभावक पनि छैनन् । उनका बुबा सानैमा बेपत्ता भएका थिए भने उनी दुई वर्षको हुँदा आमाको मृत्यु भएको थियो । अहिले उनी कान्छा आमा–बुबाको आश्रयमा छन् । उपचारका क्रममा लागेको ऋण तिर्न निक्कै कठिनाइ भइरहेको देवकोटाले दुखेसो गरे । गोलीले शरीरमा लागेको घाउले कठिन श्रम गर्न गाह्रो भइरहेको उनले बताए । उनले कक्षा ८ सम्म मात्रै पढेका छन् । राज्यले दिन्छु भनेको औषधोपचार खर्च नपाउँदा साह्रै दुःख लागेको उनले बताए । आश्वासनबमोजिम राज्यले उपचार खर्च उपलब्ध गराए आफूलाई धेरै राहत हुने देवकोटा बताउँछन्।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App