बालबालिकाको बिदा कसरी उपयोग गर्ने ?

शनिबार, ०३ कार्तिक २०७५, १४ : ०३ सृजना पाण्डेय

बिदाको कुरा सुन्नेबित्तिकै प्रायः बालबालिका खुसीले फुर्किन्छन् । अझ २०–२५ दिनको बिदा आयो भने त उनीहरूमा खुसीको सीमा रहन्न । छुट्टी रे छुट्टी भन्दै खुट्टो उचालेर नाच्न पो थाल्छन् ! यता अभिभावकलाई भने बालबालिकाको बिदा भयो भन्ने सुन्नासाथ टाउको दुखाइ सुरु हुन्छ । यस्तोमा कसरी बालबालिकाको छुट्टीको सदुपयोग गर्ने र आफू पनि कसरी झन्झटबाट मुक्त हुने भन्नेबारे अभिभावकले योजना बनाउनुपर्छ। 

छुट्टी हुँदा बालबालिका रमाउनुको कारण अब स्वतन्त्र हुन पाइन्छ भनेर हो । विद्यालयहाताबाट बाहिर आउने बित्तिकै उनीहरूमा अब म स्वतन्त्र भएँ भन्ने महसुस हुन्छ र शरीरमा एक किसिमको फुर्ती छाइसकेको हुन्छ । सानो कक्षाको बच्चाले पनि नौ–दसवटा किताब र त्यति नै कापीको भारी बोकेर विद्यालय जानुपर्ने र दिनभरि स्कुलको अनुशासनमा बसेर पढ्नुपर्ने भएकाले उनीहरूलाई स्कुले जीवन बोझिलो भएको हुन्छ । स्कुलमा गरिने अतिरिक्त क्रियाकलापले बालबालिकामा मानसिक प्रसन्नता थप्छ तर दिनैभरि लगातार कक्षाकोठाभित्र विषयगत पठनपाठन मात्र भयो भने त समय पट्यारलाग्दो नै हुन्छ । दिनभरि स्कुलको अनुशासनमा बसेर साँझ घर आउँदा उनीहरू थाकिसकेका हुन्छन्। 

कतिपय बालबालिका भने लामो बिदा हुँदा पनि खासै खुसी हुँदैनन् । यसका कारण स्कुलबाट धेरै गृहकार्य दिनु, घरमा उमेरमिल्दो साथी नहुनु, खेल्ने ठाउँ नहुनु, घरको अनुशासन झन् कडा हुनु पारिवारिक समस्या हुनु, परिवारबाट तनाव हुनु जस्ता हुन सक्छन् । त्यस्ता बालबालिकालाई स्कुल जाँदा साथीहरूसँग एकछिन भए पनि खेल्न पाइन्छ भनेर स्कुल नै रमाइलो लाग्ने पनि हुन्छ । कक्षामा राम्रो अङ्क ल्याउने र अतिरिक्त क्रियाकलापमा पनि सहभागी भइरहने बालबालिकालाई शिक्षकहरूले मायालु व्यवहार गर्ने हुनाले त्यस्ता बालबालिकाले पनि बिदालाई कम महŒव दिएको देखिन्छ । अधिकांश बालबालिकाले भने बिदालाई उत्सवकै रूपमा लिन्छन्। 

आफ्ना बालबालिकाको खुसीलाई अभिभावकले झन्झटका रूपमा लिनुहुँदैन । उनीहरूको खुसीमा हामीले खुसी भएरै साथ दियौँ भने उनीहरू अझ धेरै खुसी हुन्छन् र हाम्रा सल्लाह सुझावलाई पनि सजिलैसँग स्विकार्न सक्छन् । त्यसैले काममा व्यस्त अभिभावकले पनि आफ्नो कामको प्रकृति हेरेर दुई चार दिन भए पनि बालबालिकाको खुसीका लागि समय निकाल्नै पर्छ। 

हिजोआजका बालबालिकाहरू बिदा भयो कि मोबाइल, कम्प्युटर, टिभीजस्ता विद्युतीय सामग्रीमा झुम्मिएका देखिन्छन् । यस्ता सामग्री मनोरञ्जन र सूचना प्राप्तिका दृष्टिले त उपयोगी हुन्छन् तर आम मानिसका लागि हानिकारक यिनका विकिरणले बालबालिकालाई हानि नगर्ने कुरै भएन । उनीहरूलाई यस्ता कुराबाट पूर्णतः वञ्चित गर्न पनि हामी सक्दैनौँ । उनीहरूको पुस्तामा आएका प्रविधि र सूचनाबाट वञ्चित गर्नु हुँदैन पनि । उनीहरूको बिदालाई कसरी सार्थक बनाउने भन्नेबारेमा योजना बनाएर चल्ने हो भने बिदालाई उपलब्धिपूर्ण बनाउन सकिन्छ । बालबालिकाको लामो बिदालाई सदुपयोग गर्न यी उपाय अपनाउन सकिन्छ– 

१. सरल तरिकाले गृहकार्य गराउने
लामो बिदा परेका बेला प्रायः स्कुलबाट धेरै गृहकार्य दिइन्छ । त्यो गृहकार्य छिट्टै सकेर स्वतन्त्र हुने बालबालिकाको इच्छा हुन्छ । तर त्यसो गर्नु लाभदायी हुँदैन । यसरी हतारिएर गर्दा उनीहरूले हेन्डराइटिङमा ध्यान दिँदैनन् र लेखाइको विषयवस्तुमा पनि ध्यान दिँदैनन् । बरु बिदाको योजना अनुसार उनीहरूलाई प्रत्येक दिन १–२ घण्टाको समय छुट्याइदिनुपर्छ र राम्ररी गृहकार्य गर्न लगाउनुपर्छ । बिहान उठाउने, हातमुख धुन लगाउने र खाजा खाने काम सकेपछि १÷२ घण्टाको समय गृहकार्यमा व्यस्त गराउने गर्दा राम्रो हुन्छ । यसरी दैनिकरूपमा गृहकार्य गराउँदा उनीहरूलाई एकै पटक यति धेरै गृहकार्य कसरी गर्ने होला भन्ने पिर पनि हुँदैन, बढी बोझ पनि हुँदैन र गृहकार्य पनि राम्ररी पूरा हुन्छ। 

२. रमाइला सामग्री पढ्न दिने 
बालबालिकालाई बिदाको बेलामा दिनको १० मिनेट जति किताब पढ्न लगाउँदा जाती हुन्छ । किताब पढ्न सिकाउँदा भरसक पहिले आपूmले वाचन गर्ने र उनीहरूलाई सुन्न लगाउने अनि पछि उनीहरूलाई नै पढ्न लगाउने गर्नुपर्छ । यसरी दैनिक १० मिनेट पठन क्रियाकलाप गराउँदा उनीहरूमा पठन सीपको राम्रोसँग विकास हुन्छ । यसलाई सधैंजस्तै सिकाइरहन पनि सकिन्छ । यसरी सिकाइरहने हो भने उनीहरूले राम्रोसँग पुस्तक पढ्न सक्छन् । पछिपछि उनीहरूलाई एक छिन भए पनि किताब पढ्ने बानी बस्छ । विद्यालयमा कसले राम्रो सँग पढ्न सक्छ भन्दा हात उठाएर म पढ्छु भन्छन् । यसो गर्दा उनीहरूलाई मैले शुद्ध र राम्ररी पढ्न जानेको छु भन्नेमा गर्व पनि हुन्छ। 

बालबालिकाले स्कुलका पाठ्यपुस्तक प्रायः कक्षामा नै पढिसकेका हुन्छन् । त्यही कुरा घरमा पढ्न लगाउनुभन्दा नयाँनयाँ पाठ्यसामग्री दिँदा उनीहरू रमाइलो मानेर पढ्छन् । आफ्ना बालबालिकाको स्तर कस्तो हो र उनीहरूले कस्ता सामग्री पढ्न सक्छन् भन्ने कुरामा ध्यान पुर्याएर त्यस किसिमका सामग्री जम्मा गरिदिने हो भने बालबालिकाले रुचिपूर्वक पढ्छन् । बालपत्रिका, लोककथा, बालविश्वकोश र अरू सजिला बालउपयोगी सामग्री दिएर पढ्न लगाउने हो भने बालबालिकामा पढ्ने रुचि पनि बढ्छ, ज्ञान पनि बढ्छ । यस्तै हिज्जे, अन्ताक्षरी, शब्द खोज्ने, शब्द बनाउने जस्ता रमाइला क्रियाकलाप पनि बालबालिकालाई गराउन सकिन्छ।   

३.  कथाहरू सुन्न र सुनाउन लगाउने 
बालबालिकाहरू कथा भनेपछि हुरुक्कै हुन्छन् । अरू बेला धेरै समय नभए पनि साँझ खाना खाएपछि फुर्सदको समयमा रमाइला कथा सुनाएर उनीहरूलाई मनोरञ्जन दिन सकिन्छ । पहिले आफूले कथा भनेर राम्रोसँग सुन्न लगाउने, एकपटकमा बुझेनन् भने दोहोर्याएर भनिदिने अनि उनीहरूलाई नै भन्न लगाउने गर्दा उनीहरू खुब रमाउँछन् । यसो गर्दा उनीहरूमा सुनाइ र बोलाइ सीपको राम्रोसँग विकास पनि हुन्छ । यसो गरिरहँदा किताबमा भएका कथा पनि उनीहरूले राम्रोसँग बुझ्नेगरी पढ्छन् र त्यो कथा घरमा आएर आफ्ना अभिभावकलाई सुनाउँछन् । यसले गर्दा उनीहरूका कक्षागत पठनमा समेत सुधार हुन्छ।  

४. घरका काम गर्न सिकाउने
सधैँ लेख्ने पढ्ने गर्र्दा बालबालिकाहरू दिक्क भएका हुन्छन् । रिफ्रेस गराउनका लागि लामो बिदाको समयमा उनीहरूलाई उमेरअनुसार सक्दो काम गर्न सिकाउन सकिन्छ । यसो गर्दा उनीहरूलाई रमाइलो पनि हुन्छ र धेरै किसिमका काम गर्न पनि सिक्छन् । साथै आफूलाई पनि सहयोग हुन्छ । सहरमा बस्ने बालबालिकालाई घर सफा राख्ने, कोठा सफा राख्ने, कपडा पट्याउने, स–साना कपडा, आफ्ना जुत्ता मोजा धुने, घरमा आएका पाहुनाको स्वागत–सत्कार गर्ने जस्ता काम पनि उनीहरूलाई गराउन सकिन्छ । एक पटक सिकाएपछि उनीहरूले सजिलैसँग सिक्छन् र उनीहरूमा आत्मबल पनि बढ्छ। 

५. भान्साका काम सिकाउने
बिदाको बेलामा बालबालिकालाई खान मन लागेका खानेकुरा घरमै बनाएर खुवाउँदा उनीहरूले बनाउने तरिका देखेर पनि रमाउँछन् र अलि ठूला बच्चा छन् भने सिक्छन् पनि । उनीहरूलाई भान्सामा तरकारी बनाउने, भाँडा माझ्ने, भाँडा मिलाएर राख्ने जस्ता काममा पनि लगाउन सकिन्छ । उमेरअनुसार चिया पकाउने, खाना पकाउने काममा पनि लगाउनुपर्छ । यसो गर्दा उनीहरू रमाउँछन् र मैले पनि यति काम गर्न सकेँ भनेर खुसी हुन्छन्। 

६. करेसाबारीका काम सिकाउने 
करेसाबारी भएका घरमा बालबालिकालाई करेसाबारीको काममा लगाउन सकिन्छ । करेसाबारीमा काम गर्दा उनीहरूले तरकारीका, फलफूलका बोटबिरुवा चिन्छन् । ती बिरुवाको उम्रने तरिका, फुल्ने र फल्ने तरिका, तिनको जीवनचक्र र तिनको उपयोगिताका बारेमा पनि जानकारी प्राप्त गर्छन् । कस्तो खालको माटोमा कति पानी राख्ने, कस्तो बिरुवामा कति पानी राख्ने, कति मल राख्ने, रोग र कीराहरू लागे भने के गर्ने भन्ने कुरा पनि सिकाउन सकिन्छ । बोटबिरुवा वरिपरि झार उम्रिएको छ भने झार गोड्नुपर्छ, झार हटाएपछि बोटबिरुवा राम्रोसँग हुर्कन पाउँछन् भन्ने व्यावहारिक कुरा पनि उनीहरूलाई सिकाउन सकिन्छ । यसो गर्दा कतिपय पाठ्यपुस्तकमा पढेका कुराको प्रयोगसमेत आपैmँले गरेर अनुभव गर्न पाउँछन् । यसो गरियो भने विद्यालय खुलेपछि साथीहरूसँग मैले त यो यो काम गरेँ, मलाई अब यति काम गर्न आउँछ भनेर गर्व गर्छन्।

७. साथीहरूसँग मिलेर खेल्न सिकाउने 
बिदामा बालबालिकालाई छरछिमेकका उमेरमिल्दा साथीहरू जम्मा पारेर खेल्न सिकाउन सकिन्छ । साथीहरूसँग मिलेर खेल्ने बानीले ठूलो हुँदा पनि सबैसँग मिलेर काम गर्न सकिन्छ । यसो गर्दा केटाकेटीहरू समूहमा मिलेर बस्न, खान, खेल्न सक्छन् । यसरी खेल खेल्दा उनीहरूलाई आपूm पनि सँगै बसेर सम्बन्धित खेलका नियम पालना गराउँदै खेलाउनुपर्छ । बेलाबेलामा यस्तो वातावरण मिलाइदिँदा उनीहरू विद्यालय समयमा पनि साथीहरूसँग मिलनसार व्यवहार गर्न थाल्छन्। 

बालबालिकालाई भरसक खुला चौरमा फुटबल, भलिबल, डन्डीबियो, क्रिकेट, ब्याडमिन्टन, दौडजस्ता शारीरिक व्यायाम हुने खेल खेलाउनु राम्रो हुन्छ । शरीर क्रियाशील हुँदा शरीरका साथै मस्तिष्क पनि स्वस्थ हुन्छ । बालबालिकालाई जम्मा गरेर घरनजिकका चौर, खुला ठाउँ अथवा जेजस्तो खेल्ने ठाउँ उपलब्ध हुन्छ त्यसैमा लगेर यस्ता खेल खेलाउन सकिन्छ । साँझ–बिहान वा घरबाहिर जान नमिल्ने समयमा घरभित्रै खेलिने चेस, बाघचालजस्ता बौद्धिक खेल र गट्टा, क्यारेम, लुँडोजस्ता सीपमूलक खेलहरू खेल्न लगाई उनीहरूलाई व्यस्त राख्न सकिन्छ । काठमाडौंजस्ता सहरमा प्रायः बाहिर खुला ठाउँ कम्ती हुने भएकाले स्किपिङ, ब्याडमिन्टन, टेबलटेनिस, हाइजम्प, लङजम्प, रिङ, लुकामारी, रुमाल लुकाइ, कपर्दीजस्ता सानो ठाउँमा पनि खेल्न सकिने खेल बढी उपयोगी हुन्छन्। 

८. आफन्तकहाँ लैजाने 
स्कुल बिदा दिनुको मुख्य उद्देश्य बालबालिकालाई पारिवारिक एवं सामाजिक वातावरणमा घुलमिल हुने अवसर दिनु हो । आजको जस्तो एकल परिवार र बसाइसराइले गर्दा आफन्तहरू टाढाटाढा छरिएको अवस्थामा नयाँ पुस्तालाई को आफन्त हो ? कससँग कस्तो शिष्टाचार गर्नुपर्छ भन्ने जानकारीसमेत नहुने अवस्था भइसकेको छ । त्यसैले बिदाका बेला आफन्तकहाँ जाने, भेटघाट गर्ने, बस्ने, मिल्छ भने केटाकेटीलाई एकदुई दिन उतै बस्न दिने गर्नु पनि राम्रै हुन्छ । यसो गर्दा उनीहरूले पनि आफन्त चिन्छन् र नजिकिन्छन् । यसो गर्दा बालबालिकाले शिष्टाचार र परम्परागत रीतिरिवाज सिक्ने मौका बढी पाउँछन् । उनीहरूमा सामाजिक भावनाको विकास हुनुका साथै परिआउँदा अरूलाई सहयोग गर्ने र आपूmलाई सहयोग चाहिएका बेला सहयोग लिन सक्ने पनि हुन्छन्।  

९. आफ्नै अफिसमा लैजाने 
कामकाजे अभिभावकले लामो बिदामा बसेका बालबालिकालाई कहिले काहीँ आफूले काम गर्ने अफिसमा पनि लैजान सकिन्छ । त्यहाँ उनीहरूले धेरै कुरा देखेर सिक्न पाउँछन् । आफ्नै बाबुआमाको कार्यालय, उद्योगधन्दा वा व्यापारिक प्रतिष्ठानमा जाँदा उनीहरू विनाहिचकिचाहट त्यहाँको व्यवस्थापन, काम गर्ने तरिका, अनुशासन, मर्यादा र शिष्टाचारका कुरा पनि सिक्न पाउँछन् । यसरी सानैबाट अफिसमा आउजाउ गरेका बालबालिका ठूलो हुँदा निर्धक्क र विनासङ्कोच अफिसका काम गर्न सक्ने हुन्छन्। 

१०. मनोरञ्जनस्थलमा लैजाने 
बालबालिकालाई कहिले काहीँ नाटकघर, सिनेमा, बालउद्यानजस्ता ठाउँमा पनि लैजानुपर्छ । उपयुक्त विषयवस्तुका नाटक वा चलचित्र देखेर उनीहरूले धेरै कुरा सिक्न पाउँछन् भने मनोरञ्जन नहुने त कुरै भएन । यस्तै बालउद्यानमा लगेर विभिन्न खालका खेल खेलाउँदा त उनीहरू झन् रमाउँछन् । लामो बिदाको समयमा उनीहरूलाई यसरी मनोरञ्जन गराउँदा उनीहरूको मानसिक विकास हुनुका साथै लामो समयसम्म फ्रेस भएर पढाइमा लाग्न सक्छन्।

११. घुमाउन लैजाने
घुमघाम गर्न पाउनु बालबालिकाका लागि सबैभन्दा रमाइलो लाग्ने कुरा हो । अभिभावकको फुर्सद र क्षमताअनुसार स्वदेशदेखि विदेशसम्म घुम्न लायक ठाउँ प्रशस्त छन्, ती ठाउँमा लैजाँदा बालबालिकालाई ज्ञान र मनोरञ्जन दुवै हुन्छ । घुम्नका लागि टाढा नै जानुपर्छ भन्ने पनि छैन, हामै्र परिवेशमा घुम्न लायक धेरै ठाउँ हुन्छन् । मन्दिर, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थल, वन, बगैँचा, पोखरी, तलाउ, खोलानालाजस्ता प्राकृतिक स्थल, सङ्ग्रहालय, दरबार, पाटीपौवाजस्ता ऐतिहासिक स्थल, चिडियाखाना आदि ठाउँ घुम्न लायक हुन्छन्।

नजिकका त्यस्ता ठाउँमा हामी आफू गइरहने भएकाले खासै महत्व दिँदैनाैं तर बालबालिकाका लागि तिनै ठाउँ पनि महत्वका हुन्छन् । त्यस्ता ठाउँहरू घुमाउँदा बालबालिकाले अवलोकनबाट धेरै कुरा सिक्न पाउँछन् र रमाइलो पनि मान्छन् । कतिपय कुरा त उनीहरूका पाठ्यपुस्तकका पाठ्यवस्तु नै पनि हुन सक्छन् । यस्ता कुरा प्रत्यक्ष देख्न पाउँदा उनीहरूमा धारणा बलियो हुन्छ र कक्षाका विषयवस्तु राम्ररी बुझ्न सक्छन्।

अवलोकनकै क्रममा बालबालिकालाई विभिन्न बोटबिरुवाको नाम बताइदिन सकिन्छ । उनीहरूको उमेरअनुसार बोटबिरुवाको काण्ड, जरा, पात, फूलल, फल आदि चिनाउन सकिन्छ । चिडियाखानामा लगेर विभिन्न किसिमका जनावरहरूलाई चिनाउन र तिनीहरूले के कस्तो खाना खान्छन्, कस्तो ठाउँमा बस्छन्, जीवनचक्र कस्तो हुन्छ, ती जनावरले वातावरणलाई कसरी फाइदा पुर्याउँछन् भन्ने कुरा सिकाउन सकिन्छ । किताबमा पढाएरभन्दा यसरी अवलोकन गर्दै सिकाउँदा उनीहरूलाई रमाइलो लाग्नुको साथै सजिलैसँग सम्झन सक्छन्।

बालबालिकालाई घुमाउन लैजाँदा घरबाट त्यहाँ पुग्न कति समय लाग्यो, कति दूरीमा पर्दो रहेछ, कुन कुन ठाउँलाई पार गर्दै त्यहाँ पुगिन्छ यी सबै कुरा उनीहरूलाई सिकाउनुपर्छ । घर आएपछि यी सबै कुरालाई समेटेर निबन्ध लेख्न लगाउन सकिन्छ । यसो गर्दा उनीहरूले धेरै कुरा सम्झने बानी पर्छ र सम्झन्छन् पनि । यसैगरी अर्को पटक अर्कै ठाउँमा घुम्न जाँदा सबै आफूले देखेका बोटविरुवाका नाम जान्ने, घुमेका ठाउँको नाम सम्झने, आफू घुम्न गएको ठाउँ कति दूरीमा पर्छ भन्ने कुरा ख्याल गर्ने र लेख्ने सीपको पनि विकास हुन्छ। 

आजका बालबालिका भोलि फुल्ने कोपिला हुन् । उनीहरूलाई प्रशस्त मलजल गर्नु आवश्यक हुन्छ । विद्यालयले बालबालिकालाई निश्चित पाठ्यक्रमभित्र रहेर उनीहरूको व्यक्तित्व विकास गर्न कोसिस गरिरहेको हुन्छ भने अभिभावकले पनि त्यसका लागि आफ्नोतर्पmबाट सक्दो प्रयास गर्नुपर्छ । यसका लागि नै विद्यालयमा छुट्टीको व्यवस्था गरिएको हो । छुट्टीलाई राम्ररी उपयोग गर्ने हो भने बालबालिकाले थोरै समयमा पनि धेरै कुरा सिक्न सक्छन् । साथै उनीहरूलाई मनोरञ्जन पनि हुन्छ । हामीले बच्चाको छुट्टीलाई झन्झटका रूपमा होइन अवसरका रूपमा लिनु आवश्यक छ । अभिभावकले आफ्ना बालबालिकाको समयलाई बुझेर सदुपयोग गरिदिनाले उनीहरू चाँडै स्वावलम्बी र आत्मबलयुक्त हुन सक्छन्। 

 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad