दसैंमा सेतो टीका

शुक्रबार, ०२ कार्तिक २०७५, १२ : ३० भीम चापागाईं

वर्षा सकिएलगत्तै आउने दसैंले धेरै नेपालीको मनमा उमंग ल्याउँछ । मौसम जसरी सफा भएको हुन्छ मन पनि त्यसैगरी सफा भई खुलेको अनुभव गर्ने धेरै हुन्छन् यतिबेला । दसैं भनेकै निधारमा रातो टीका, कानमा जमरा, शरीरमा नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाड हो भन्ने बालबच्चादेखि बूढाबूढीसम्मलाई थाहा छ।

सांस्कृतिक विविधताले धनी पूर्वीपहाडमा पनि उसैगरी दसैं आउँछ, जसरी अरूतिर आउँछ । तर, केही वर्षदेखि यहाँको दसैं फेरिएको छ । विशेषगरी किरात समुदायमा दसैं मनाउने चलन बदलिएको छ । र, यो समुदायमा दसैं मनाउने चलन घट्दै पनि छ । पहिला–पहिला रातो टीका लगाउने किरात समुदाय अहिले सेतो टीका लगाएर दसैं मनाउँछन्, सेतो टीका लगाउने धेरैले दसैंमा टीकै लगाउन छाडिसकेका छन् । र, मिश्रित बसोबास रहेका समुदायमा के हिन्दू, के किरात, के बौद्ध, सबै धर्मावलम्बीलाई दसैं आउँछ । वर्षाैंदेखि जसरी आउँथ्यो, उसैगरी आइरहेकै छ।

दसैंमा मान्यजनबाट अक्षताको टीका लगाउने र आशीर्वाद लिने चलन छ । टाढा रहेका आफन्तसँग वर्षमा एकपटक भेटघाट गर्ने अवसरका रूपमा लिइन्छ दसैंलाई । अन्नको जमरा राख्ने, नवरात्र सुरु भएपछि घर लिपपोत, सिँगारपटार गरेर चिटिक्क बनाइन्छ । दसैं लागेपछि घर–घरमा मालश्री घन्किन्छ, गाउँ–गाउँमा लिंगेपिङ हालेर ‘धर्ती’ छोड्नेको घुइँचो लाग्छ । दसैंकै अवसर पारेर टोल–टोलमा फुटबल, भलिबलजस्ता खेलकुद प्रतियोगिता आयोजना गरिन्छन् । दूरदराजको विपन्न परिवारमा वर्षमा एकपटक नयाँ लुगा फेर्ने, मीठो–मसिनो खाने र आफन्तसँग भेटघाट गर्ने मौका भएर आउँछ दसैं । तर, राजनीतिक, सामाजिक आन्दोलन, बढ्दो आधुनिकता, आयस्तर वृद्धि र फैलिँदो चेतनाका कारण डेढ–दुई दशकयता दसैं वर्षैपिच्छे फरक बनिरहेको छ।

राई–लिम्बू समुदायमा अहिले दसैंको उल्लास घट्दो छ । यो समुदायमा जमरे औंसीमा जमरा राख्ने सीमित हुँदैछन् । नवरात्र आउनेबित्तिकै घर–घरमा घन्किने नगराको रन्को सुगम संगीतको धुन ‘इन्डिङ’तिर गएजसरी धुमिलिँदैछ । महानवमीको दिन घर–घरमा हुने मौलो पूजा इतिहास बन्दैछ । विवाहको पहिलो दसैंमा नयाँ जोडी ससुराली जाँदा लैजाने कोसेली र सयपत्री फूल पनि अब ‘एकादेशको कथा’मा सीमित हुँदैछ । बितेको दशकमा उचाइमा पुगेको पहिचानवादी आन्दोलन मात्र होइन, त्यसअघिको जातीय राजनीतिक आन्दोलनले पनि दसैं ‘राई–लिम्बूको मौलिक चाड होइन’ भन्ने चेतना भरेको थियो । र, राई–लिम्बूको धर्म, संस्कृति, परम्परा जगेर्ना गर्न गठन भएका जातीय संघ–संस्थाले पनि यही बुझाइलाई मलजल गर्दामा परिणाम गाउँ–गाउँसम्म बिस्तारै फैलिँदैछ।

परापूर्वकालमै दसैं मनाउन थालिएको विश्वास हिन्दू समुदायमा रहे पनि बहुसंख्यक राई, लिम्बू समुदाय भने दसैंलाई ‘आयातित’ मान्छन् । राजा–महाराजाले राई–लिम्बू समुदायमा जबर्जस्ती लादेको चाडका रूपमा दसैंलाई बुझ्नेको संख्या बढ्दैछ । बुझाइ मात्र त्यस्तो होइन, दसैं मनाउने चलनमै यसले परिवर्तन गरिसकेको छ । तर, किरात मुन्धुमका अध्येता, इतिहासकार र जानकारहरूमा भने दसैं राई–लिम्बूको मौलिक चाड हो–होइन भन्नेमा मतैक्य छैन । यही समुदायका केही अगुवा दसैं नमनाउने मुद्दा राजनीतिक अभिष्टको हतियार ठान्छन् । केही भने दसैंलाई संस्कृतिभन्दा पनि इतिहासको निरन्तरताका लागि मनाउने गरेको सुनाउँछन् । पछिल्लो समय धर्म परिवर्तन गर्दै क्रिश्चियनमा लाग्नेको संख्या बढिरहेकाले पनि यो समुदायमा दसैं मोह घटाउन इँटा थपेको छ।

किरात धर्म–संस्कृतिका अध्येताको तर्क छ–दसैं किरातको मौलिक चाड नभए पनि राष्ट्रिय चाडका रूपमा मनाइन्छ । नेपाल एकीकरण गर्ने क्रमसँगै पूर्वीपहाडमा दसैं मनाउन सुरु भएको लिम्बू संस्कृतिका अध्येता अर्जुनबाबु माबोहाङ बताउँछन् । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरणको अभियानलाई निरन्तरता दिनेक्रममा रणबहादुर शाहले दसैं मनाउने परम्परालाई प्राथमिकता दिएको उनले जनाए । ‘एकीकरणको युद्धमा सहयोग गर्ने त्यतिबेलाका सुभांगी (मुखिया) लाई राजाहरूले नगरा र निसान दिएर दुर्गापूजा गर्न लगाएका थिए,’ माबोहाङ भन्छन्, ‘दसैंको चलन त्यहीबेला सुरु भयो ।’ दसैं मनाउनेबारे समुदायमा मतभेद भएपछि राजा भेट्न गएका पाँचथरका सुब्बाहरूलाई नगरा, निसान, तरबार, ढाल, त्रिशूल, खुँडा दिएर महानवमीको दिन मौलो पूजा गर्न लगाइयो । त्यही परम्पराअनुसार अहिले पनि लिम्बू समुदायले नवमीको दिन एउटा राँगा वा बोकोसहित ८ फललाई ८ जनावरको प्रतीक बनाएर बलि दिन्छन् । राजाहरूले सबैलाई दसैं मनाउन उर्दी गरेको, एकीकरणमा विजयको रातो टीका घर–घरमा लगाउन अह्राएकाले लिम्बू र राई समुदायले पनि दसैं मान्न थाले। 

दसैंका बेला दुर्गापूजा, भोगबलि गर्ने व्यक्ति नै राज्यको ‘खास मान्छे’ हुने प्रथा १८४० सालतिर कायम थियो । यस्तो प्रथापछि लिम्बूहरूले दसैंमा मात्र होइन, आफ्ना आमा–बाबुको मृत्यु हुँदासमेत राँगा, कुखुराको बलि दिन थाले । १९६२ सालमा राजेन्द्रविक्रम शाहले दसैंमा राँगा काट्ने चलन अनिवार्य गरे । तर, किरात समुदायका सबैले राँगाकै बलि दिन आर्थिक हैसियत नपुग्ने अनुरोध भएपछि तत्कालीन राजाले १८९२ सालमा ‘राँगा नकाटे पनि हुने’ चलन बसाले । ‘आर्थिक अवस्था कमजोर भएका राई–लिम्बूले चाडबाड मनाउन बलि दिँदै जाँदा आफ्नो किपट नै अन्य समुदायकहाँ धितो–बन्धकी राख्ने बाध्यता आइलाग्यो,’ माबोहाङले भने, ‘यही क्रमले किपट सकिने भएपछि फाल्गुनन्दले १९८८ सालमा लिम्बू समुदायलाई जाँड–रक्सी र मासुमंशबाट जोगाउन चुम्लुङ आयोजना गरी मुचुल्का गरेका हुन्।’ 

एकीकरण र विजयोत्सव जोडिएकाले दसैं सबैका लागि अनिवार्य गरिएको थियो । दसैं नमानेको भन्दै १८४२ सालमा धनकुटाका रिदामा आठपहरिया र रामलिहाङ आठपहरिया तथा १८५२ सालमा ताप्लेजुङका बाजाहाङ लिम्बूको हत्यासमेत गरियो । देवसमशेरको पालामा आठै प्रहर राणाहरूको सुरक्षा गार्डका रूपमा काम गर्नेलाई ‘आठपहरिया’ भनिन्थ्यो । लिम्बू समुदायमा पनि देव–देवता विभिन्नखाले हुने भएकाले परम्परागत रूपमा मनाइने दसैं लिम्बूका लागि महŒवपूर्ण भएको अध्येता माबोहाङ बताउँछन् । ‘दसैं राष्ट्रिय चाड भएकाले म अहिले पनि दसैंमा मौलो पूजा गर्छु, मार हान्छु,’ माबोहाङले भने, ‘पितापुर्खाले दसैंका बेला गर्ने मौलो पूजा, बलि दिने प्रथा जीवितै छ।’ 

राई–लिम्बू समुदायमा सेतो टीका लगाउने, आफन्तकहाँ टीका थाप्न जाने चलन निकै कम भइसकेको छ । तर, दसैंलाई उमंग, हर्षाेल्लास, आफन्त भेटघाटको अवसरकै रूपमा लिन छाडेका छैनन् उनीहरूले । बहुदलीय व्यवस्था सुरु हुनुअघि राई समुदायमा दसैं महिनादिनसम्म मनाउने चलन थियो । दसैं सुरु भएदेखि तिहारको भाइटीकासम्म दसैं मनाउने चलन थियो । किरात संस्कृतिका जानकार जेबी राई टाढाका चेलीबेटी माइत आउँदा भाइटीकाको दिनसम्म दसैंकै टीका लगाइदिने संस्कार रहेको बताउँछन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टीजस्ता दलले दसैं बहिस्कारका लागि आन्दोलन नै गरेका थिए । त्यसपछि यो चाड मनाउने क्रम किरात समुदायमा घटेको हो । त्यहीबेला खुलेका जातीय संघ–संगठनले भने टीका नलगाउने तर दसैं मनाउने अभियान चलाएका थिए। 

तर, सबै किरात समुदाय यो बाटो गएनन् । कसैले दसैं पुरानै तरिकाले मानिरहे । टीका लगाउन आफन्तकहाँ जाँदा ‘ल है टीका चाहिँ लगाइँदैन’ भन्दै मीठो–मसिनो खुवाएर दक्षिणा दिने चलन रहिरह्यो । राईभित्र पनि सांस्कृतिक विविधता रहेकाले दसैं किरात समुदायबाट पूरै हट्न नसकेको र हट्नै नसक्ने राई बताउँछन् । ‘अहिले पनि दसैंमा रातै टीका लगाउने, हिन्दूले झैँ नवदुर्गा भवानीको पूजा गर्ने, मालश्री गाउने र बलि दिने प्रचलन राई समुदायमा हटिसकेको छैन,’ जेबी भन्छन्, ‘धेरै राईहरूले दसैंमा रातो टीका भने लगाउन छाडे तर पूजाआजा गर्ने, दसैंलाई उत्सवका रूपमा मनाउने चलन अझै छ ।’ महाअस्टमीको राति वा नवमीको बिहान पशु बलि दिने, दशमीको दिन टीका लगाउने चलन राई समुदायका केही परिवारमा अहिले पनि छ । समाज, परिवेशअनुसार आफ्नो खुसीका लागि रातो टीका लगाएर दसैं मनाउने चलन पनि राई समुदायबाट हटिनसकेको उनले सुनाए।

राई समुदायको बिहे संस्कार पनि दसैंसँग जोडिएको छ । बिहे गर्दा नवदुलाहा–दुलहीले ढोगौली (माइती–ससुराली पक्षका आफन्तलाई दाम राखेर ढोग्दै चिनजान) गर्नुपर्छ । यसको सांस्कृतिक संकेत हो–आउँदो दसैंमा नवदुलाहा–दुलही चिनजान भएका घर–घरमा टीका लगाउन जाने निश्चित छ । जोसँग उनीहरूले चिनजान गरेका थिए, आउँदो दसैंमा तिनैका घरबाहेक अन्यमा नवदुलाहा–दुलही टीका लगाउन जाँदैनन् । बिहेमा दाम राखेर नढोगेको घरमा टीका लगाउन गए ‘बिहेमा अपमान गरेर पनि दसैंमा आएको’ भनेर परिवारले बुझ्नेखालको संस्कार राई समुदायमा छ । ‘यसरी हेर्दा पनि राई समुदायमा दसैं परापूर्वकालदेखि नै मान्न थालिएको रहेछ भन्ने थाहा हुन्छ,’ राई भन्छन्, ‘अहिले, यो चलन कम भएको मात्रै हो, सकिएको छैन।’ 

राई लामो समयसम्म किरात राई समुदायको संस्कृति जगेर्नामा लागे । अहिले उनको भनाइमा चाडबाड कसैको पेवा हुँदैन । ‘म वर्षाैंसम्म किरात समुदायको संस्कृति बचाउने अभियानमा लागेँ तर यो चाड मनाउनू, त्यो नमनाउनू भनेर हिँडिनँ,’ उनले भने, ‘आफूलाई जसरी सहज हुन्छ, त्यसरी सबैले दसैं–तिहारजस्ता पर्वहरू मनाउने हो । समाज र सभ्यतासँग मिलेर अघि बढ्नुपर्छ ।’ उनले समय, आधुनिकता, राजनीतिक चेतना, शिक्षालगायतले चाडबाड मनाउने तरिकामा परिवर्तन ल्याएको जनाए। 

दसैंलाई कुनै जातजाति वा समुदायको मात्रै पर्वका रूपमा लिइँदैन । जसरी तिहार, माघे संक्रान्ति, साउने संक्रान्ति, तीज, जनैपूिर्णमा, रोपाइँजात्रालगायतलाई यहाँका सबै समुदायले साझा मानेका छन्, दसैं पनि सबैको साझा राष्ट्रिय पर्व भएको इतिहासकार बताउँछन् । इतिहासकार मोहनसिंह थेबे दसैं किरात, हिन्दूलगायत सबै नेपालीको साझा पर्व भएको बताउँछन् । ‘मान्ने तरिका अलग होला तर बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङलगायत सबैको साझा चाड हो दसैं,’ महेन्द्ररत्न बहुमुखी क्याम्पसका उपप्राध्यापक थेबे भन्छन्, ‘समय–समयमा उत्कर्षमा पुग्ने जातीय र राजनीतिक आन्दोलनले गलत हल्ला फैलाएर जातीय, धार्मिक फाटो ल्याउने दुष्प्रयास गरेका छन्।’  

लिम्बू समुदायमा दसैंमा जमरा राख्ने, टीका लगाउने, बलि दिने, आफन्तकहाँ आउ–जाउ गर्दै मिठोमसिनो खाने चलन रहे पनि अहिले त्यो क्रम घटेको उनले बताए । ‘समयक्रममा राजा–महाराजाहरूले दसैंलाई अलि पेचिलो बनाए तर किरात समुदायमा दसैं मनाउने चलन त्यसरी जबर्जस्ती लादिएको होइन,’ उनले भने, ‘पृथ्वीनारायण शाह र त्यसपछिका राजाले कसैको परम्परा–संस्कृतिमाथि धावा बोलेको प्रमाण भेटिँदैन । राजनीतिक स्वार्थ र जातीय अतिवाद रुचाउने केहीले सत्यभन्दा धेरै भ्रम छरेका छन् ।’ सुभांगीको चलन नचलुञ्जेल किरात समुदायमा दसैं भव्य रूपले मनाइने गरे पनि बहुदलीय व्यवस्थापछि दसैं मनाउने चलन यो समुदायमा घटेको उनले जनाए। 

लिम्बू समुदायमा महाअस्टमी र नवमीको दिन सबैभन्दा भव्य रूपले दसैं मान्ने चलन हुन्छ । आफन्त–नातागोता अष्टमीकै दिन पाहुना जाने र नवमीको दिन मौलो पूजा गरेर दसैं मनाउने गर्छन् । मौलो पूजा गर्दा मार हानेको पशुको रगतमा हात डुबाएर घरको पूर्वपट्टि रहेको मूलढोकामा छाप लगाउँछन् । त्यसपछि बुढापाकाले सबैलाई टीका लगाइदिन्छन् । नगरा, झ्याम्टा बजाएर मालश्री गाउँदै रमाइलो गर्छन्, खानपिन गर्छन् । दशमीको दिनदेखि टीका लगाइन्छ र आएका पाहुनालाई बिदा दिइन्छ।

लिम्बू समुदायका युवाले बिहे गरेपछि पहिलो दसैंमा नयाँ ज्वाइँका रूपमा ससुराली पुग्नैपर्छ । ससुराली जाँदा ज्वाइँले अरू युवाको समेत सहयोग लिएर एक जोर सुँगुरलाई उत्तानो खुट्टा पारेर ढाकरमा बोकेर लैजानुपर्छ । साथमा माइतीको संख्याअनुसार रक्सी पनि लैजानुपर्छ । नाता चिनजान गर्न नाताअनुसार सबैलाई मासु र रक्सी भाग लगाइदिनुपर्छ । पूर्णिमाको दिनभन्दा पछि ससुराली आउने ज्वाइँलाई ससुराली पक्षले आफूहरूको अवहेलना गरेको सम्झिँदै भुस, घाँस दिएर पशुलाईझैं सांकेतिक व्यवहार गर्छन् । त्यसपछि ज्वाइँले माफी मागेपछि मात्रै पुनः ज्वाइँकै रूपमा सम्मान गर्ने चलन छ। 

तर, पहिलो दसैंमा नयाँ ज्वाइँबाट आफूले जति लिइएको हो, ३ वर्षको दसैंपछि ससुराली पक्षले दोब्बर ‘बागदत्त’ फर्काउनुपर्छ । मैतालु पु¥याउन आएका बेला ज्वाइँलाई ‘पानीमा नसडिने, नमक्किने, माटोमा नगल्ने, हावाले नउडाउने’ चिजका रूपमा काँस वा तामाको भाँडाकुँडा दिनु (साइमुन्द्री छिराउनु) पर्छ । ‘लिम्बूभित्रको यो संस्कृति अहिले हराउँदै छ तर दसैं लिम्बूको पनि चाड रहेछ भन्ने तर्कलाई यसले पुष्टि गर्छ,’ थेबे भन्छन्, ‘किरात समुदायमा दसैंसँग जोडिएका यस्ता धेरै संस्कृति छन्, जसले दसैं लिम्बूको पनि चाड हो भन्ने प्रमाण दिएका छन् ।’ छोरीचेलीको ‘रीतभात’ खानुहुँदैन भनेर यो चलन १८३६ सालतिरै चलेको उनी बताउँछन्। 

समाजको संस्कृति परिवर्तनमा राजनीतिक आन्दोलन र अप्रमाणित प्रचार–प्रसारले बढी प्रभाव पारेको थेबेको भनाइ छ । दसैंलाई ‘हिन्दू मात्रको महान् चाड’ भन्दै आमसञ्चारका माध्यमले गलत प्रचार गर्दा किरात समुदायमा भ्रमको मलजल पुगिरहेको उनी बताउँछन् । ‘दसैं हाम्रो संस्कृति हो कि होइन भन्ने वास्तविकता खोज्नुभन्दा हल्लाको पछि दगुरेर दसैं मान्ने चलन हराउँदै गएको हो,’ उनले भने, ‘पुर्खाले मानिआएको संस्कृति र संस्कार जोगाउनुपर्छ भन्ने चेतनाको साटो आयातित संस्कृति अनुसरण गर्ने प्रवृत्तिले डेरा जमाएको छ अचेल ।’ 

रातो र सेतो टीका

किरात समुदाय दसैं र शुभकार्यमा सेतो अक्षताको टीका लगाउँछन् । किरात मुन्धुममा सेतो रङलाई पवित्र र किरातहरूको राष्ट्रिय रङ मानिएको छ । नेपाल एकीकरणताका विजयको रातो टीका घर–घरमा लगाउन अह्राएकाले लिम्बू र राई समुदायले पनि दसैं मान्न थालेको तर आफूहरूको संस्कृति हराउनेखालेका विजयको रातो टीका बहिस्कार गरेको किरात समुदायका नागरिक बताउँछन्। 

भारत सिक्किमको ठेगाना लेखेर २०४८ सालमा एउटा पम्प्लेट पूर्वी पहाडी जिल्लाका सडकमा छरियो । त्यसमा लेखिएको थियो– मधुकैटव, महिसासुर, दानवहरू किरातका वंशज हुन्, हिन्दूले छलकपट गरेर उनीहरूलाई मारे अनि हाम्रै पूर्खाको रगतमाथि विजय प्राप्त गरेर हामीलाई रगतको रातो टीका लगाउन बाध्य पारे। 

इतिहासकार थेबे त्यस्ता भ्रमपूर्ण पम्प्लेटले किरात समुदायमा आफ्नो संस्कृतिप्रति गलत छाप छाड्न बल पु¥याएको बताउँछन् । वास्तविकता खोज्न छाडेर त्यसैलाई आधार बनाउँदै कतिपयले राजनीतिक अभीष्टसमेत पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ।

‘सेतो रङ किरातको संस्कृति हो तर कुनै पनि इस्तिहारमा पृथ्वीनारायण शाह र राजाहरूले रातो टीका लगाउन उर्दी गरेको उल्लेख छैन,’ उनले भने, ‘१८३१ सालमा पृथ्वीनारायण साहले दिएको लालमोहोरमा त तिमीहरूले मानेको कुलधर्म हाम्रो भयो, हामीले मानेको कुलधर्म पनि तिमीहरूको भयो भन्दै दुवै पक्षलाई समान मानिएको छ । विभेद गरिएको छैन ।’ तर, त्यसैलाई झुटो प्रचार गरिएको उनले जनाए। 

१८२९ सालतिर विशाल नेपालमा माझकिरात गाभिएपछि १८३१ सालमा अरुण नदीपूर्वको भूभागका बासिन्दासँग पृथ्वीनारायण साहको सम्झौता भएको हो । थेबेका अनुसार दसैं त्यतिबेलै पनि किरात समुदायले भव्यरूपमा मानेका थिए । नयाँ लुगा लगाएर, मीठो खाएर, रमाइलो गर्दै दसैं मनाउने चलन त्यतिबेलै पनि भएको उनी बताउँछन् । ‘राज्य विजय गर्दा रातो टीका लगाउनै पर्छ र दसैं मान्नैपर्छ भनेर निर्देशन दिएको प्रमाण कतै भेटिएको छैन,’ उनले भने, ‘तर, अहिले पृथ्वीनारायण शाहलाई नै मुख्य दोषी देखाएर प्रचार गरिँदैछ।’

किरात समुदायलाई आफूलाई प्रकृतिपूजक मान्छन् । रङको सृष्टि नै नभएका बेला सेतो रङ मात्रै रहेको र किरातको संस्कृति पनि सेतो रङसँगै मिल्ने भएकाले दसैं र शुभकार्यमा उनीहरू सेतो टीका लगाउँछन् । तत्कालीन राजाहरूले नेपाल एकीकरण गर्दा पनि किरात समुदायलाई चाहिँ सेतो टीका वा रंगबाट विमुख नगरेको किरात समुदायको बुझाइ छ । तर, किरात संस्कृतिका अध्येता माबोहाङ लिम्बू समुदायमा रातो वा सेतो कुनै पनि टीका लगाउने चलन नै नभएको बताउँछन् । ‘लिम्बूमा त टीका लगाएर दक्षिणा दिने चलन नै अन्य समुदायको प्रभावले मात्रै आएको हो, बरु बूढीआंैलामा ढोग्ने चलन हाम्रो थियो,’ उनले भने, ‘राष्ट्रिय पर्व मानिने दसैं र अन्य चाडमा भने टीका लगाउने चलन यो समुदायको मौलिकझैं भइसकेको छ।’ 

सेतो टीकालाई शान्तिको प्रतीक मान्दै किरातले सेतो टीका र वस्त्र (लुगा) लगाउने गरेका छन् । माबोहाङ चाहिँ लिम्बू र किरात एकै नभएको तर्क गर्छन् । पृथ्वीनारायणले पनि पूर्वका बासिन्दालाई सम्बोधन गर्दा ‘लिम्बू–किरात’ भन्ने गरेको उनको भनाइ छ । तर, लिम्बू समुदायको संस्कृति संरक्षणकर्ता किरात याक्थुङ चुम्लुङले लिम्बूहरूको धर्म किरात नै भएको भन्दै जनगणनामा लिम्बूको धर्म ‘किरात’ लेख्ने निर्णय गरिसकेको छ । राई र लिम्बू समुदायमा पनि शिवको पूजा गर्ने, फाल्गुनन्दको अनुसरण गर्नेको संख्या धेरै छ । उनीहरू सेतो लुगा र टीकालाई आफ्नो संस्कृति मान्छन् । यो बाटोमा लागेको किरात समुदायमा माछामासु र जाँड–रक्सी बर्जित छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad