१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दसैंमा गुरु भेट

तस्बिरः अर्जुन ओली

राणा परिवारमा दसैंको रमझम त्यसै पनि बेग्लै खालको हुन्छ । विगतझैं यसवर्ष पनि नेपालगञ्जका राणा परिवार दसैंलाई हर्षोल्लासका साथ मनाउने सोचमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाको दसैंलाई नगरवासीले चासोका साथ हेरेका छन् । दसैंलाई पछिल्लो समयमा ‘देखासिकी’ रुपमा मनाउने प्रवृत्ति बढिरहेका बेला राणा परिवारका नगर प्रमुख धवलको दसैं कस्तो होला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो। 

तर, नगर प्रमुख राणा विगतकै प्रचलनअनुसार दसैं मनाउने सोचमा रहेको बताउँछन् । ‘दसैंका लागि त्यति ठूलो कार्यक्रम हुने छैन,’ उनी भन्छन्, ‘विगतका वर्षमा जस्तो हिसाबले मनाइन्थ्यो, त्यसरी नै मनाउने त होला नि !’ नेपालगञ्जमा आफन्तहरु असित शमशेर, सुमेर शमशेरलगायत परिवारका सदस्य तथा आफन्तहरु छन् । हरेक वर्ष परिवारका सदस्य तथा आफन्त सँगै बसेर दसैं मनाउँछन् । यसवर्ष पनि परिवार र आफन्तकहाँ गएर दसैं मनाउने नगर प्रमुख धवल शमशेरको सोच छ। 

फरक यति हो, विगतका दसैंमा धवलशमशेर, उनकी पत्नी प्रतिमा र छोरी शिवाङ्गिनी सँगै हुन्थे तर यस वर्षको दसैंमा उनकी छोरी शिवाङ्गिनी अनुपस्थित हुनेछिन् । ‘विगतको दसैंमा म, मेरी श्रीमती र छोरीसँगै हुन्थ्यौँ, यसवर्ष छोरीसँगै हुने छैनिन्,’ उनी भन्छन्, ‘छोरीको अनुपस्थितिमा मनाएको दसैं अलि खल्लो पनि होला ।’ सन्तानको रुपमा धवलशमशेरको एक मात्र छोरी हुन्, शिवाङ्गिनी । उनी अध्ययनको सिलसिलामा स्पेनमा छिन् । वर्षमा एकपटक आउने पर्वलाई हर्ष र उल्लासका साथ मनाउन उनको सुझाव छ। 

स्थानीय सरकार प्रमुख भएको नाताले कोही टीका थाप्न आइहाले भने टीका र आशीर्वाद दिने मेयर धवलशमशेरको योजना छ । ‘तर पसल थापेजस्तै गरेर दिनभर टीका लगाइदिने पक्षमा म छैन, कसैले इच्छा राखेर टीका थाप्न आउँछ भने लगाइदिने ठूलो कुरा भएन,’ उनले भने । आफूले पनि आफूभन्दा मान्यजनको हातबाट टीका थापेर आशीर्वाद लिने धवलशमशेरको सोच छ । आफ्नो आर्थिक अवस्थालाई ख्याल गरेर दसैं मनाउनुपर्ने राणा सुझाव दिन्छन् । उनी भन्छन्, ‘ठूलै धनराशि खर्च गरेर दसैं मनाउनुपर्छ भन्ने कुरा छैन, आफ्नो क्षमताले जति सकिन्छ, त्यति खर्च गरेर मनाउँदा पनि हुन्छ।’

गुरुलाई भेट्ने योजना
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएयता उनको व्यस्तता ह्वात्तै बढेको छ । उनी यति व्यस्त हुन्छन् कि समयमा खाना खान र समयमा सुत्न पनि पाउँदैनन् । व्यस्तताका कारण परिवार, आफन्त, इष्टमित्र र शुभेच्छुकलाई समेत त्यति समय दिन पाएका छैनन् । दसैंमा केही दिनसम्म उपमहानगरपालिकाको कामकाज बन्द हुने हुँदा त्यही मौका छोपेर आफन्त तथा शुभेच्छुकलाई भेटघाट गर्ने सोचमा छन्, धवलशमशेर।

यसका लागि उनी आफूलाई पढाएको गुरुलाई भेट्ने योजनामा छन् । ‘दसैंको छुट्टीमा मलाई पढाएको गुरुलाई भेट्न जाने ठूलो इच्छा छ,’ उनी भन्छन्, ‘जसरी भए पनि उहाँहरुलाई भेट्न जानेछु, समयले पनि कत्तिको साथ दिन्छ हेरौं न ।’ उनलाई पढाएका गुरु भारतको देहरादुन र मसुरीमा बस्छन् । ‘आफूलाई पढाएको गुरुको सम्झना स्वाभाविक रुपले आउँछ, यसपटक उहाँहरुलाई भेट्न पाइयो भने दसैंमा मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ।’ 

राजनीति शास्त्रमा विद्या वारिधि गरेका राणा २०५४ मा पनि तत्कालीन नेपालगञ्ज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । मेयर हुँदा उनले गरेका राम्रा कामको प्रशंसा अहिले पनि हुन्छ । नेपालगञ्ज नगर क्षेत्रमा तत्कालीन समयमा भएका विकास निर्माणका कामको श्रेय धवलशमशेरलाई नै जान्छ । राप्रपाको महामन्त्रीसमेत रहेका उनी नेपालगञ्ज उपमहानगरपालिकाको विकास गर्ने संकल्प गरेर २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा पुनरागमन भएका हुन्। 

प्रकाशित: २ कार्तिक २०७५ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App