१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चङ्गा चैट

अहिले नेपालीहरुको महान् चाडपर्वले छपक्कै छोपिसकेको छ ।  स्कुले केटाकेटीहरु छुट्टीको समयमा घरको छतमा होस् या खाली चौरमा चङ्गा उडाएर चङ्गा चेट पार्ने होडबाजी गर्न थाली सकेका छन् । केटाकेटी मात्रै होइनन् युवायुवतीहरु पनि धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका भेटिन थालेका छन् । तर पहिलाको भन्दा चङ्गा उडाउनेको संख्यामा कमी आएको भने पक्कै देखिन्छ।

काठमाडाैंमा यसरी चङ्गा उडाउने धेरै खाली ठाउँ त छैन । तर खाली भएको ठाउँमा केटाकेटीहरु भेला भएर चङ्गा उडाइरहेका हुन्छ्न । उनीहरु चङ्गा उडाएर घण्टौंसम्म रमाइरहेका छन् । घरको वरपर खाली चौर नभएका ठाउँमा भने केटाकेटीहरु  घरको छतबाट पनि चङ्गा उडाएर रमाइलो गरिरहेको देखिन थालेको छ  । उनीहरु चङ्गा चेट पार्ने प्रतिस्पर्धा नै गर्न निकै उत्साहका साथ लागिपरेका देखिन्छन् । यसले गर्दा चाडपर्वको रौनक सुरु भएको आम मान्छेमा पर्न थालेको छ।

काठमाडौंको असन बजारमा अनिल श्रेष्ठले चङ्गा बेच्न थालेको अहिले ठ्याक्कै २२ वर्ष भइसकेको छ । उनले आजभन्दा ३,४ वर्ष अगाडिसम्म दैनिक २० हजारभन्दा माथिको चङ्गा व्यापार गर्थे तर अहिले ३,४ हजारको व्यापार गर्न पनि मुस्किल पर्न थालेको बताउँछन् । अहिले चङ्गामा व्यापार नभएको र चङ्गा व्यापारमा संकट आइपरेको उनी बताउँछन्।

उनले चङ्गा व्यापार गर्दा पहिला पसलमा २,३ जना काम गर्ने हुन्थे तर अहिले आफैँ बेरोजगार जस्तै भइसकेको उनको भनाइ छ । उनले भने, ‘मेरो यो पसल वरपर ३,४ वटा चङ्गाको पसल थियो अहिले त ती सबै हटाएर कपडा पसल खोलेका छन् । आफू भने यत्रो चङ्गाको साहु छोडिहाल्न पनि सकिएन।

काठमाडाैंको मैतिदेवी मन्दिरअगाडि २० वर्ष पहिलेदेखि कान्छीमाया खड्गीले पनि पसल चलाउँदै आइरहेकी छन् । उनको भनाइ पनि अनिलको जस्तै छ । पोहोरसम्म चङ्गाको व्यापार ठिकै थियो तर यसपाला चाडपर्वमा पनि पसल सुनसान भएको छ । पोहोरको तुलनामा अहिले चङ्गाको  बिक्रीवितरण ठप्प छ । ‘चङ्गाको व्यापार बाह्रैमास हुँदैन।

वर्षमा ३ महिना पसल खोल्नुपर्छ । अरु ९ महिना पसल बन्द नै हुन्छ,’ कान्छीमायाले भनिन् । अरु बेला चङ्गा उडाउने मौसम पनि होइन । तर चाडपर्वमा निकै चङ्गा बिक्नुपर्ने तर अहिले खै के कारणले हो चङ्गा बिक्न छोडेको छ । ३ महिना व्यापार गरेको पैसाले वर्ष दिनको पसलभाडा तिर्न पुग्थ्यो तर अहिले खोजेर १ वर्षको सटर भाडा बुझाउनुपरेको छ । पसल छोडिहाल्न भने गाह्रो छ । ‘२० वर्षदेखि गर्दै आएको काम कसरी छोड्नु,’ उनले भावुक मुद्रामा भनिन् । सुरुमा यही पसलले आम्दानी हुन्थ्यो । यसैले छोराछोरी, घर खर्च सबै पुग्थ्यो तर पोहोर सालबाट चङ्गा किन्न आउनेको संख्या न्यून रहेको छ।

नेपालमा पहिला–पहिला चङ्गा बनाउँथे । अहिले यो पसलभरिको चङ्गा भारतबाट ल्याउनुपरेको छ । १ वटा चङ्गाको हेरि हेरि फरक–फरक ५ देखि १० रुपैयाँ पर्ने गरेको छ ।  चङ्गा नेपालमा बन्न छोडेको र  आफूले भारतबाट ल्याउने गरेको बताइन् । नेपालमा बनेको भए एउटा चङ्गाको मूल्य २०, ३० रुपैयाँ पर्न सक्थ्यो तर भारतबाट ल्याउँदा सस्तो पर्ने गरेको उनको भनाइ छ । तर यति थोरै मूल्यमा बेच्दा पनि व्यापार हुन छोडेको उनको गुनासो छ।

उनले भनिन्, ‘३ बर्ष अगाडिसम्म मेरो पसलमा चङ्गा किन्ने मान्छेको भीड हुन्थ्यो । पछिल्लो समय सुनसान छ । यसो हुनुको मुख्य कारण इन्टरनेटको सुविधा भएको हो कि भन्ने उनको अनुमान छ । सबैजना मोबाइलमा गेम खेल्ने, फेसबुक चलाउनेजस्ता आधुनिकताले अहिलेका मान्छेलाई बाँधेको छ । चङ्गा खेलाउनुभन्दा सुतेर मोबाइल चलाउन थालेपछि सायद चङ्गातिर उनीहरुको मन नमोडिएको होला उनले भनिन् । व्यापार छोडांै भने चङ्गा मालिकको साहुँले यत्रो पसल किन छोडेको होला भनेर मान्छेहरुले कुरा काट्लान् भनेर नछोडेकी हुँ नत्र पोहोरै छोडिसक्थेँ । के गर्नु यसैमा बानी बसिहाल्यो । छोड्न नि सकिएको छैन उनले सुस्केरा हाल्दै भनिन् । पहिला चङ्गा मात्रै बेच्दै आएकी खड्गीले पछिल्लो समय धागो लट्टाइ पनि बेच्न थालेको बताइन्।

यसको प्रभाव  नेपाललगायतका विभिन्न देशमा पनि  परेको देखिन्छ । नेपालमा केटाकेटीदेखि युवायुवतीमा  चङ्गा उठाउने प्रतिस्पर्धा नै  हुने गरेकोमा अहिले खासै रौनक देखिन छोडेको छ ।  नेपालमा बनेका चङ्गा नेपाल बाहिर पनि उत्तिकै मात्रामा बिक्री हुने गरेका थिए । तर अहिले यसको बिक्री कम हुने गरेको पाइन्छ । चङ्गाको रौनक विशेष गरेर चाडपर्वमा  बढेको देखिन्छ । राजधानीमा भने चङ्गा उडाउने ठाउँ भनेको घरको छत नै हो । घरैघर भएका कारण कुनै चौरमा गएर चङ्गा उडाउने ठाउँ नभएकोले घरको  छतबाट उडाउने र चङ्गा चेट पार्ने चलन बनेको छ। 

चङ्गाको उत्पत्ति   
विभिन्न देशमा पाइने चङ्गाहरू नेपालमा पाइनेभन्दा अलि फरक शैलीका हुने गर्छन् । हाम्रा चङ्गाहरूको बनोट प्रक्रिया अलि फरक छ । हामीकहाँ डाइमन्ड सेपु अर्थात् चतुर्भुज आकारका चङ्गाहरू नै बढी चलनचल्तीमा रहेको छ । नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्ने गरेको पाइन्छ  । यसले गर्दा नेपालमा हुने चङ्गा चेट प्रतियोगिताहरूमा विशेषगरी डेल्टा काइट उडाउने प्रचलन बढी रहेको पाइन्छ।

नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ । जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ । नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो छैन।

चङ्गाले चाडपर्वको संकेत
चङ्गा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र हो भनेर सोच्नु गलत कुरा हो । विश्वभरिमा धार्मिक, सामाजिक तथा वैज्ञानिक कारणहरूबाट चङ्गा उडाउने चलन अद्यपि कायमै छ । चङ्गा उडाउनुलाई शुभसगुनका रूपमा पनि लिइन्छ । लोककथा र किंवदन्तीअनुसार, वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास छ।

चङ्गाको इतिहास
चङ्गाको इतिहास खोज्ने हो भने पाँच सय वर्ष पहिले नै चीनको हान वंशबाट सुरुवात भएको भन्ने इतिहास भएको पाइन्छ । सन् ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु (वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ । उक्त पुस्तकअनुसार गोङ्ग सुवानको वास्तविक नाम लु वानु थियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध सन् ४४४० मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश ६१८–९०७० सम्म कायम रह्यो।

प्रकाशित: १ कार्तिक २०७५ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App