१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

१७ हजार भेडाच्यांग्रा निकासी

बेनी – दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेडाच्यांग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेडाच्यांग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।

दसैंलाई लक्षित गरी यो वर्ष १६ हजार सात सय भेडाच्यांग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिए । उनका अनुसार च्यांग्रा १३ हजार नौ सय ८५ वटा र भेंडा दुई हजार सात सय १५ वटा निकासी भएका हुन्।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेडाच्यांग्रा खरिद गरेका छन् । खाद्य संस्थानले समेत नौ २५ वटा भेडाच्यांग्रा खरिद गरी लगेको पशु चिकित्सक भुसालले बताए।

उनका अनुसार, सबै भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भेडाच्यांग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेडाच्यांग्रा निकासीबाट करिब ३५ करोड भित्रिएको छ।

जोमसोममा च्यांग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरिद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेडाच्यांग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेडाच्यांग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताए।

हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेडाच्यांग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दसैंमा लेकाली भेडाच्यांग्राको माग अत्यधिक हुने गरेको छ।  (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App