१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

शुभकामना दसैंको

दसैंको उल्लासले सबैतिर छोएको छ । त्यसैले त आफन्तजनलाई भेट्न भनी सबैजना आआफ्नो थातथलोमा जम्मा हुन होस् वा परिवारका सबै सदस्य एक ठाउँमा भेला हुने सुरसारमा नै किन नहोस्, सबैले आफ्नो गन्तव्य निर्धारण गरिसकेका छन् । यस हिसाबले दसैंसबैलाई जोड्ने माध्यमका रूपमा विकसित हुँदो छ । बाटोमा भेटिने जुनसुकै रङ, वर्ग, सम्प्रदाय वा जातविशेषको भए पनि दसैंको शुभकामना आदानप्रदान हुने परम्पराले यसलाई पुष्टि गर्छ।

त्यतिमात्र हैन, हरेकले आफ्नो चाडबाडका बेला अर्को समुदाय अर्थात् अन्य धर्मावलम्बीलाई समेत निम्त्याउने, अनि निम्तालु पनि सहजतवरले उपस्थिति भई उसका रीतिरिवाजमा संलग्ने हुने जस्ता क्रियाकलाप सनातनदेखि चल्दै आएका छन् । वास्तवमा यो नेपाली समाजको संस्कार र संस्कृतिको अभिन्न अंग भइसकेको छ । त्यसैले पनि दसैंको महत्व भिन्न किसिमको छ।

जसरी र जुनरूपमा अथ्र्याए पनि  दसैं मनाउनुको मूल कारण भनेको असत्यमाथि सत्यको विजय नै हो । यस्तो महत्वपर्ण अर्थ बोकेको पर्वमा सबै सामेल हुनु र त्यसलाई आत्मसात् गर्नु भनेको ‘म पनि असत्य मन पराउन्न’ भन्ने आत्मस्वीकृति हो । यसरी हेर्दा सम्पूर्ण नेपाली सत्यका पक्षधर छन् र त दसैं हर्षोल्लासका साथ मनाइँदै आइएको छ । खानपिन, नयाँ कपडा, पिङ, टीका–जमरा, आशीर्वचनजस्ता दसैंसँग जोडिएका थुप्रै सवालका पनि आफ्नैखाले महत्व छँदैछ तर पनि मूल चुरोचाहिँ राक्षसी प्रवृत्तिमाथि सत्यको जित नै हो।

वास्तवमा दसैं मनाउनुको अर्थ त्यतिबेला सार्थक हुन्छ, जतिबेला हामी आफैंबीचका वैमनश्य हरण गर्न सक्छौं, आपसी भाइचारा कायम गर्दै विकासको अग्रपथमा सरिक हुन सक्छौं, आफू, आफ्नो परिवार हुँदै सिंगो जनताको भलाइका लागि सोच्नमात्र हैन, योगदान दिनसमेत तम्तयार हुन सक्छौं । तर यसका लागि विजयादशमीको सन्दर्भमा आत्मा साक्षी राखेर कसम खान आवश्यक छ । भलो गर्न नसके पनि कुभलो नगर्ने प्रतिबद्धता व्यक्त गर्न जरुरी छ ।

यसै परिप्रेक्ष्यमा यतिबेला हामी नेपाली पनि थुप्रै असत्यविरुद्ध लडिरहेका छौं । धेरै विकृति र विसंगति तथा चुनौतीलाई पाखा लगाउनु उत्तिकै अपरिहार्य छ । हामीले धेरै विकृतिमाथि विजय पनि हासिल गरिसकेका छौं । खासगरी संविधान निर्माण हुन सक्नु तथा संघीयता, गणतन्त्र आदिस्थापना हाम्रो विजयका प्रमाण हुन् । यति हुँदाहुँदै पनि हामीसँग अब जित्नका लागि बाँकी केही छैन भन्ने हैन । एकातिर यी उपलब्धिको रक्षा गर्नु छ भने अर्कोतर्फ दिनप्रतिदिन बढ्दै गरेको हाम्रो गरिबीलाई चिर्दै त्यसबाट सर्वसाधारणलाई गर्नु पनि उत्तिकै चुनौतीको विषय छ । त्यसो त अहिले हामी लडिरहेका चुनौती पार लगाउन सबै नेपालीबीच एकता आवश्यक छ।

आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार प्राप्तिले मात्र मानवको चौतर्फी विकास सम्भव तुल्याउँछ । हामी नेपाली पनि यसमा अपवाद छैनौं । तर माथि भनिएझैं यी अधिकार प्राप्तिको एकमात्र उपाय भनेको हामी नेपालीबीचको अपूर्व मिलन हो । यस सत्यलाई आत्मसात् गर्न सकेमात्र दशमीलाई ‘विजया’ विशेषण जोडेर उच्चारण गर्नुको अर्थ रहन्छ । आफूचाहिँ सत्यका पक्षमा लाग्न हिच्किचाउने तर दसैंलाई भने विजयसँग जोडेर अर्तीउपदेश दिँदै हिँड्नुले हामीलाई कहीं पनि पुर्याउँदैन । त्यसैले दसैंको मर्म बुझेर यसलाई व्यावहारिकरूपमै आत्मसात् गर्न सकेमात्र दसैं मनाउनुको अर्थ रहन्छ।

वास्तवमा दसैं मनाउनुको अर्थ त्यतिबेला सार्थक हुन्छ जतिबेला हामी आफैंबीचका वैमनश्य हरण गर्न सक्छौं, आपसी भाइचारा कायम गर्दै विकासको अग्रपथमा सरिक हुन सक्छौं, आफू, आफ्नो परिवार हुँदै सिंगो जनताको भलाइका लागि सोच्नमात्र हैन, योगदान दिनसमेत तम्तयार हुन सक्छौं । तर यसका लागि विजयादशमीका सन्दर्भमा आत्मासाक्षी राखेर कसम खान आवश्यक छ । भलो गर्न नसके पनि कुभलो नगर्ने प्रतिबद्धता व्यक्त गर्न जरुरी छ । अनि सबैसँग मिलेर, चाहे त्यो राजनीतिकरूपमा होस् वा आर्थिक पक्षमा, विकासका पक्षमा होस् वा समृद्धि हासिल गर्ने दिशामा, अघि बढ्ने इच्छाशक्ति प्रदर्शन हुन आवश्यकमात्र हैन, अत्यावश्यक छ । नवदुर्गा भवानीले सबैलाई यसतर्फ उन्मुख गराउन सकून् । सबैलाई शुभ विजयादशमीको उपलक्ष्यमा शुभकामना।
 

प्रकाशित: ३० आश्विन २०७५ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App