१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै परिवारका ४ जनामा हात्तीपाइले, छाक टार्न मुस्किल

डडेल्धुरा – डडेल्धुराका गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्।

घरका ४ जनामा हात्तीपाइले रोगको संक्रमण भएपछि उनीहरूले राम्रो उपचार पाउन सकेका छैनन्। धनबहादुर सहित उनका परिवारमा एक छोरी, दुई छोरामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ। उनले नजिकै रहेको अस्पतालमा सानो तिनो खर्चमा उपचार गरेपनि राम्रो उपचार नभएको गुनासो गरे। भारतका विभिन्न अस्पतालमा पटक पटक उपचार गराएपनि ठिक नभएको महताले बताए। करिब १८ वर्षको उमेरमै हात्तीपाइले रोग बाट संक्रमित भएका महताका दुवै छोरा र एक छोरीलाई पनि १२ देखी १६ वर्षको उमेरमा हात्तीपाइले रोग देखा परेको थियो।

नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडामै रहेको जर्मना गाउँका बनबहादुरको परिवारका ४ जनालाई हात्तीपाइले रोगले संक्रमण गरेको भएपनि  श्रीमति र बुहारीमा भने रोगले संक्रमण गरेको छैन्। बनबहादुरका बुवा  र एक जना भाइलाई पनि हात्तीपाइले रोगको संक्रमण देखिएको थियो। रोगकै कारण भाइले आत्महत्या गरेका थिए। आर्थिक अभावले थलिएको यस परिवारले अब उपचारमा सम्भव नभएपछि परिवार पाल्नका लागि सहयोगको आग्रह गरेको छ।  

उपचार सम्भव छैन महताले भने, साँझ बिहान हात मुख जोर्नका लागि पनि समस्या भएको छ। रोग बल्झिएको समयमा दुई महिनासम्म ओछ्यानमै बस्नुपर्ने हुन्छ, जसका कारण घरको कामकाज हुन नसक्दा साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको उनले बताए। जेठो छोरा घरमै भएपनि कान्छो छोरा घर बाहिर बस्ने गरेको उनी बताउँछन्। हालसम्म स्थानीय सरकारले पनि आफूहरूको समस्याका बारेमा कुनै चासो नदिएको उनले दुःखेसो पोखे। गाउँ भरी सबैमा महान चाड दसैं तिहारको रौनक छ। सबै रमाइ रहेका छन्। आफूहरूलाई भने एक छाक टार्न धौ–धौ छ। यस्तो समयमा कहाँ को सँग गएर के भन्ने आफ्नो दुःख आफैसँग छ।  

खेतबारीको काम गर्न सकिदैन, बनबहादुरका छोरा प्रकाश महताले भने, घरमा आमा र श्रीमतीले मेलोपात गरेर मात्रै आफूहरूलाई एक छाक खानका लागि सम्भव छ। नत्र भोक भोकै बस्नु पर्दथ्यो कि अहिलेसम्म मरी सकिन्थ्यो। उनले भने, “देश बाट हात्तीपाइले नियन्त्रण भएको सरकारले घोषणा गरेपनि एकै परिवारका ४ जना  सदस्यहरू हात्तीपाइलेबाट थला पर्दा समेत कुनै निकायले उपचारका लागि सहयोग गरेको छैन्।” दैनिक रोग थप बल्झिने गरेका कारण बाच्न न मर्नु पर्ने अवस्था आइरहेको उनले बताए।

प्रकाशित: २९ आश्विन २०७५ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App