१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चाइना ट्रेडको सेयर पुँजी १४५ लाख

काठमाडौं – चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक वर्षको अवधिमा सेयर पुँजी करिब एक करोड वृद्धि गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा संस्थाको सेयर पुँजी आठ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो पुँजी ७ करोड ५६ लाख रुपैयाँ थियो । गत आवमा संस्थाको जगेडा कोष पनि २१ प्रतिशत बढेर एक करोड ९१ लाख रुपैयाँ पुगेको छ । संस्थाले आर्थिक रूपमा सबल बन्न जगेडा कोष वृद्धि गर्न विशेष ध्यान दिँदै आएको जनाएको छ। संस्थाको कुल सम्पत्ति ४१ करोड रुपैयाँ पुगेको छ । संस्थाको शनिबार काठमाडौंमा सम्पन्न ११औं वार्षिक साधारणसभामा यो जानकारी दिइएको हो।

गत आवमा संस्थाको निक्षेप पनि बढेको छ । असारसम्म संस्थाको निक्षेप २४ करोड ६८ लाख ७७ हजार पुगेको छ । यो निक्षेप अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी हो । अघिल्लो वर्ष निक्षेप २१ करोड २९ लाख ९१ हजार रुपैयाँ थियो। संस्थाले हाल विभिन्न नौ प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । यसमा नियमित, सामान्य, विशेष चाइना ट्रेड, नारी, बाल, सरप्लस, जम्को र कोसेली बचत खाता छन् । यसले पनि निक्षेप बढाउन सहयोग पुगेको संस्थाको भनाइ छ।

गत आवमा संस्थाले ३२ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा एक ९६ जना सेयर सदस्यले कर्जा लगेका छन् । यसले व्यावसायिक, घरजग्गा, सवारीसाधन, सेयर, कर्मचारी र अन्य कर्जा प्रदान गर्दै आएको छ । गत आवमा संस्थाले एक करोड ५१ लाख ७५ हजार सञ्चालन मुनाफा गरेको छ । यसबाट राज्यलाई २८ लाख ८० हजार रुपैयाँ कर तिरेको छ।

संस्थाले मोबाइल बैंकिङ, एसएमएस बैकिङ, फेसबुक पेज, वेबसाइट, ग्रुप एसएमएस प्रणालीलगायत आधुनिक प्रविधि प्रयोगमा ल्याएको जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App