१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भुटानी छाप्रोमा छिरेन दसैं

फोटो क्याप्सनः भुटानी शिविर भित्रको बजार। शरणार्थीको संख्या घट्दै गएपछि बजारको चहलपहल पनि कम भएको छ। तस्बिरः युवराज/नागरिक

दमक - भुटानमा जन्मेका ७० वर्षीय हर्कजंग सुब्बा अहिले झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा बसिरहेका छन्। उनी २७ वर्षदेखि यहाँ छन्। बिरामी ज्यान, औषधिको सहारामा बाँचिरहेका छन्। श्रीमतीबाहेक परिवारका सबै सदस्य तेस्रो मुलुक पुनर्वास भइसकेका छन्। तर उनी र उनकी श्रीमतीलाई अमेरिका जान मन लागेन । उनीहरू अझै आफ्नै देश भुटान फर्कने सपना बोकेर शिविरमा बसिरहेका छन्। अमेरिकामा रहेका परिवारका सदस्यले बेला–बेला औषधि खर्च पठाउँछन्। हरेक वर्ष झैं यसपटक पनि दसैं मान्ने खर्च पठाएका छन्। तर त्यो रकमले हर्कजंगको मनमा कुनै हर्ष ल्याउन सकेको छैन । उनको छाप्रोमा दसैं छिर्न सकेको छैन।

‘परिवारका सबै सदस्य बाहिरै छन्, जेनतेन हामी दुई यहाँ बसेका छौं,’ उनले सम्झिए, ‘८० जनाको परिवार दसैंमा एक ठाउँमा भेला हुँदा कम रमाइलो हुन्थेन।’ हरेक दसैंमा अमेरिकाबाटै भए पनि परिवारका कोही न कोही उनलाई भेट्न नेपाल आउँथे। ‘तर यसपटक अहिलेसम्म कोही आएका छैनन्,’ उनले निराशा व्यक्त गरे, ‘खै ! कुनै सन्तान कहाँ, कोही कहाँ, जिन्दगी शिविरभित्रै बित्ने भो।’

८० जनाको परिवार दसैंमा एक ठाउँमा भेला हुँदा कम रमाइलो हुन्थेन। हरेक दसैंमा अमेरिकाबाटै भए पनि परिवारका कोही न कोही नेपाल आउँथे । तर यसपटक कोही आएका छैनन्।

पूर्णबहादुर सुब्बा ८५ वर्ष लागे । बुढ्यौलीले उनका आँखा धमिला भएका छन्। एक वर्षअघि तीनवटीमध्ये कान्छी श्रीमती पनि बितिन् । लामो समय थला परेकी उनलाई पूर्णबहादुरको आर्थिक क्षमताले बचाउन सकेन। ‘एक्लै बस्छु, आफै पकाउँछु,’ उनले भने, ‘सबै सदस्य भुटानमा छन्, नेपालसम्म आउन सहज छैन।’ केही महिनाअघि कान्छी छोरीकी छोरी उनलाई भेट्न शिविर आएकी थिइन् । त्यसबेला उनी कम्ता खुसी भएका थिएनन्। अझै उनलाई भुटानै फर्कने ठूलो आशा छ । ‘परिवारसँग पुनर्मिलन हुन्छ, चाडमा रमाइलो हुन्छ,’ उनले आफ्नो कल्पना सुनाए।

भुटानबाट लखेटिएका सात हजार शरणार्थी अहिले यो शिविरमा छन्। ‘अब स्वदेश फर्कन चाहने मात्रै शिविरमा छन्, पूर्णबहादुरले भने, ‘अरू त भविष्य बनाउन तेस्रो मुलुक पुनर्वास भए।’ शरणार्थी शिविरबाट एक लाख भुटानी अमेरिका गइसकेका छन्।

बेलडाँगी शरणार्थी शिविरका पूर्वसचिव डिबी सुब्बासँग श्रीमती र कान्छी छोरी मात्र छन्। ‘अरू सबै अमेरिकामा छन्, दसैं आउँछ नरमाइलो त लाग्छ नै,’ उनले भने, ‘हामी भने भुटानै फर्कने भनेर बसेका छौं।’ उनीहरूकै अडानका कारण कान्छी छोरी पनि शिविरमै बसेकी हुन्। नेपालमै राख्ने कुरामा आफूहरू सहमत हुन नसक्ने पूर्वसचिव सुब्बा बताउँछन्।

‘हामी हाम्रो देश भुटानै फर्कन चहान्छौं। त्यसका लागि नेपाल, भारत र भुटानबची त्रिपक्षीय वार्ता हुनु जरुरी छ,’ उनले भने। शिविरमा अहिले वृद्धवृद्धा र भुटानै जान चहाने मात्रै छन्। तेस्रो मुलुक पुनर्वास कार्यक्रम सकिएको छ । ‘अब शरणार्थी समस्या समाधानका लागि सबैले सोच्ने बेला आएको छ,’ बेलडाँगी शरणार्थी शिविरका सचिव टीकाराम रसाइलीले भने, ‘अब बाँकी शरणार्थीलाई स्वदेश नै फर्कन दिइनु पर्छ।’ २७ वर्षसम्म शरण दिएको नेपालले अब स्वदेश फिर्तीका लागि पहल गरिदिनुपर्ने उनको भनाइ छ।

भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक सन्तवीर घले स्वदेश फर्कने दिन कहिले आउला भन्ने आशामा छन्। ‘नेपाल सरकारले अब स्वदेश फिर्तीका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘भारतले सहजीकरण गरेर भुटान फर्कने वातावरण बनाउनु पर्छ।’ शरणार्थीको संख्या घट्दै गएपछि दातृ निकायले पनि रासन कटौती गरेका छन्। शिविरभित्र अहिले आधारभूत तहसम्म मात्रै पढाइ हुन्छ।

प्रकाशित: २९ आश्विन २०७५ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App