१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगर जुट मिल्स सञ्चालनमा, सुतली निकासीको तयारी

विराटनगर- लामो खिचातानी र विवादवीच व्यवसायिक उत्पादन थालेको विराटनगर जुट मिल्सले सुतली निकासीका तयारी गरेको छ। एक महिना पहिलेदेखि  परीक्षण उत्पादन थालेको मिल्सले उत्पादन गरेको सुतली भारत निर्यात गर्ने तयारी भइरहेको जानाएको छ।

 १५ दिन पहिलेदेखि व्यवसायिक उत्पादन गरिरहेको जुट मिल्सले हाल तयार भएको २४ टन सुतली भारत निकासीको तयारी गरेको जुट मिल्स सञ्चालन समितिका अध्यक्ष वसन्त वनले जानकारी दिए। वनका अनुसार विभिन्न समस्या झेल्दै सञ्चालनमा आएको मिल्सले हाल दैनिक डेढ टन सुतली उत्पादन गरिरहेको छ। हाल ९० इन्च र ७० इन्चवाला सुतली मिल्सले उत्पादन गरीरहेको छ। ९० इन्चवाल सुतली भारत निकासी हुने र ७० इन्चवाला नेपालमा पनि बिक्रि हुने वनले जानकारी दिए। उनले भने ‘पहिलो चरणमा उत्पादन भएको सुतली भारत निकासीको लागि तयार पारिंदैछ।’ मिल्सले उत्पादन गरेको सुतली प्याकिङ गर्ने, लेभल लगाउनेलगायतका काम हाल भइरहेको छ। जुट उत्पादन सुरू भएसँगै मिल्सले ६५ जना मजदुरलाई रोजगारीसमेत दिन थालेको छ। हाल मिल्समा १ सय जना मजदुर कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्। विराटनगर जुट मिल्सको दैनिक उत्पादन क्षमता ४० टन भए पनि मिल्सले क्षमताको न्यूनमात्रै सामाग्री उत्पादन गरिरहेको छ। मिल्सले दोस्रो चरण अन्तर्गत दशैं पछि देखि चकटी र बोराको उत्पादन गर्ने योजना बनाएको वनले जानकारी दिए। उनका अनुसार बजारबाट अर्डर आए अनुसार सामान उत्पादन बढाउँदै लैजाने जुटमिल्सको योजना छ। जुटका सामानको ठूलो बजार रहेका कारण सुतली, बोरा, चकटीलगायतका सामानको माग पनि ज्यादा छ। कम लागतमा थोरै जनशक्ती प्रयोग गरेर सामान उत्पादन गरिरहेको वनले बताए। उनले भने ‘जुट मिल्सलाई निरन्तर सञ्चालनका लागि आवश्यक वातावरण तयार पारिएकाले नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न मिल्स सक्षम छ।’ मिल्समा जेनेरेटरको सुबिधा नहुँदा उत्पादनमा केहि समस्या देखिएको मिल्सका मेकानिक सुधिर सिंहले बताए। तर, क्रमशः लोडसेडीङ घट्दै गएका कारण मिल्स सञ्चालनमा देखिएको समस्या समाधान हुने उनको धारणा छ। सिंहले भने ‘जेनेरेटर नहुँदा केही असजिलो भए पनि क्रमशः लोडसेडीङ घट्दै गएका कारण चाँडै समस्या समाधान हुने अपेक्षा छ।’  प्रयाप्त मात्रामा कच्चा पदार्थ आपूर्ति ,पाट पूर्जाको उपलब्धता  र केहि प्राविधिक जनशक्ती थप भए  मिल्सले दैनिक १५ देखि २० टन उत्पादन सजिलै गर्न सक्ने सिंहले बताए। नेपालकै पहिलो उद्योग विराटनगर जुटमिल्स १० वर्ष पहिले बन्द भएको थियो। बन्द हुनु भन्दा पहिले जुट मिल्समा दैनिक ६ हजार मजदुर, कर्मचारीले रोजगारी पाएका थिए। बेला बेला लिजमा लिएर नीजि क्षेत्रले सञ्चालनमा ल्याए पनि लामोसमय सञ्चालन हुन सकेको थिएन। हाल जुट मिल्स व्यवस्थापनले नै  सञ्चालन गरी व्यवसायिक उत्पादन थालेको हो।

प्रकाशित: २८ आश्विन २०७५ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App