१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई

चितवन–भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन हुने व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ।

महानगरपालिका र सघबीच यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो। दुई संस्थाको बीचमा भएको सम्झौतामा सघले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ। सघले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने संझौता गरेको छ। 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार ४ वर्षका लागि उद्योग वाणिज्य सघसँग यो सम्झौता गरिएको हो। यसबाट महानगरमा व्यावसायिक कर बढ्ने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा महानगरले व्यावसायिक कर बापत ५ करोड रुपैयाँ सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यवसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम सघले गर्ने बताए। करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायिक हित र व्यवसायीलाई करको दायरामा ल्याउन खर्च गरिने सघले जनाएको छ।

महानगरपालिकामा दश हजार हाराहारी व्यवसाय छन्। तीमध्ये आधा मात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ। यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य सघंलाई उठेको करको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो। तर २०६७ साल यता सम्झौता नवीकरण हुन सकेको थिएन।

जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो। महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यवसाय करसहित आन्तरिक आम्दानी ५५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ। गतवर्ष ३० करोड रुपैयाँ सङ्कलन गरेको थियो।रासस

 

प्रकाशित: २८ आश्विन २०७५ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App